बिप्लवको बयान

नरेन्द्र रौले
म कि त जुस पिलाउँछु, कि त रक्सी ।’ बिहानी पखको भेटमा कवि विप्लव प्रतीकले सोधे, ‘के पिउने ?’ ‘जुस ।’ सुनेपछि उनी आफैं किचेनमा छिरेर जुस तयार पार्न थाले ।

 

बिप्लव बिहान साढे ६ देखि ७ बजेभित्र ब्युँझिसक्छन् । बिजुली हुँदा चिया वा कफी बनाउँछन् । उनको प्रिय खेल ब्याडमिन्टन हो । आफ्ना साथीहरूसँग ब्याडमिन्टन खेल्नकै लागि उनी हाँडीगाउँ पुग्छन् । ९ बजेतिर घट्टेकुलोस्थित निवासमा फर्किसक्छन् । कतै कार्यक्रममा जानु छ भने ८ बजे नै फर्कन्छन् । विगत १३ वर्षदेखि एक्लो जीवन बिताइरहेका बिप्लव आफैं खाना पकाउँछन् । उनको भान्छामा दाल, भात तथा तरकारी पाक्छ । उनलाई खाना बनाउन जाँगर चल्छ । ‘मीठो खाना पकाउनु मीठो कविता लेख्नुजस्तै हो ।’ उनले सुनाए । मुड चल्दा ठमेलको फुरुसातो, बिग ड्याडी तथा नयाँबानेश्वरको सनसेट होटल पुगेर विभिन्न परिकारको स्वाद चाख्छन् ।

 

कतै भेटघाट वा कार्यक्रममा नगएको दिन बिप्लव समय लेखपढ गरेरै बित्छ । हरेक दिन उनी लगभग डेढ घण्टा इन्टरनेट चलाउँछन् । फेसबुकले मानिसहरूको सिर्जनशीलता खाइदिएको महसुस हुन्छ उनलाई । ‘म त म्यासेज र नोटिफिकेसन मात्र हेर्छु ।’ बिप्लव भन्छन्, ‘हार्दिकता भेटिँदैन फेसबुकमा । त्यसैले कमै समय बिताउन मन लाग्छ ।’ चारवटा वृत्तचित्र र १५ वटा पुस्तकको सम्पादन गरिसकेका प्रतीकले एउटा उपन्यास तयार पारिसकेका छन् । सबै कुरा मिल्यो भने चाँडै बजारमा ल्याउने तयारीमा छन् ।

 

आजभन्दा ८५ वर्षअघिको समाजका बारेमा लेखिएको उक्त उपन्यास राणाकालमा जन्मिएको, पञ्चायतमा हुर्किएको तथा बहुदलमा मरेको पात्रमा केन्द्रित छ । बिप्लव लेख्न, पढ्न र यात्रा गर्न खुबै रुचाउँछन् । उनी मौका मिल्दा कहिले एक्लै, साथीभाइ मिले भने समूहमा काठमाडौं वरिपरि र उपत्यकाबाहिरका ठाउँहरू घुम्न निस्कन्छन् । उनको अनुभवले भन्छ, यात्राले धेरै कुरा सिकाउँछ ।

 

बिप्लवले जीवनमा चलचित्र निर्देशन पनि गरे, टेलिफिल्म बनाए । पत्रकारिता गरे । अनुवादकको काम गरे । गीत र कविताले नै उनलाई आमपाठक एवं श्रोताहरूमाझ चिनायो । उनले लेखेको गीत हर रात सपनीमा ऐंठन हुन्छ, कैयौं श्रोताको मनमा बसेको छ । कुनै बेला उनी पुल्चोकमा बस्थे । बेस्सरी हावा, हुरी चल्थ्यो । पानी बर्सिन्थ्यो । उनी गौशाला बस्ने बुबालाई खुब सम्झन्थे । विकट गाउँमा बस्ने कुनै युवाको पीडा सम्भँmदै उनले उक्त गीत कोरे जुन निकै चर्चित भयो । कुनै कुराले नछोईकन उनी लेख्नै सक्दैनन् ।

 

बिप्लवले जीवनमा दुस्खलाई दुस्खका रूपमा लिएनन् । पारिवारिक विखण्डनका कारण १६ वर्षदेखि घरबाहिर बसेका बिप्लव अहिले पनि एक्लै छन्, तर आफूलाई एक्लो महसुस गर्दैनन् । ‘यो त बानी हो ।’ उनले आफ्नो भोगाइ साटे, ‘बिरामी हुँदा नरमाइलो लाग्छ, अरू बेला ख्यालै हँुदैन ।’ ‘दोस्रो विवाह गर्ने सोच छैन रु’ प्रश्न खस्न नपाउँदै १४ वर्ष वैवाहिक जीवनमा सँगै बसेर छुट्टिएका बिप्लवले भने, ‘डर लाग्छ । नियतिले के गराउँछ थाहा भएन । त्यतातिर ध्यान नै गएको छैन ।’ उनी नियतिमा विश्वास राख्छन् । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि विचलित नभई अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छन् । उनको अनुभव छ, जीवनमा त्यही प्रेम सफल हुन्छ, जहाँ सर्त हुँदैन । हरेक मानिसभित्र गुण, अवगुण एवं त्रुटिहरू हुन्छन्, तिनलाई आत्मसात् गर्न सक्नुपर्छ भन्ने उनको मान्यता छ । उनी विवाहलाई संस्थाका रूपमा लिन्छन्, जसमा सर्त र नियमहरू लागू हुन्छन् । कुनै बेला उनलाई ‘मेरा पनि सन्तान भैदिए’ जस्तो लाग्छ, तर सधैँ त्यसकै अभावमा खिन्न भैरहने बानी छैन ।

 

आईफोन–६ प्लस बोक्ने बिप्लवलाई कि त ब्रान्डेड सामान चलाउन मन लाग्छ, कि त एकदम सामान्य । उनी नर्थ फेस तथा एन्टा ब्रान्डका पहिरन लगाउँछन् । जीवनलाई कसरी उत्सवका रूपमा मनाउने त्यो कुरा उनलाई महत्त्वपूर्ण लाग्छ । नाम, पहिचानतिर उनी खासै ध्यान दिँदैनन् । विप्लव भन्छन्, ‘कवि हुनुमा जस्तो सौभाग्य चर्चित हुनुमा छैन ।’ भवानी भिक्षु तथा बीपीका सबै कृति पढेका प्रतीकले सिद्धिचरण श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, गोपालप्रसाद रिमाल तथा लेखनाथ पौड्यालका कविता पनि पढ्न छुटाएका छैनन् । नयाँ पुस्तामा उनलाई बुद्धिसागर, उपेन्द्र सुब्बा तथा विमला तुम्खेवाका कविता मन पर्छन् । आफूले कविता लेखेपछि पत्रिकामा ‘छापिदेऊ न’ भन्ने उनको बानी छैन ।

 

बिप्लव राम्रा चलचित्र हेर्न हल धाउँदैनन् । बरु ल्यापटपमै हेर्छन् । उनलाई गजल सुन्न मन लाग्छ । उनी पाकिस्तानी गायिका आविदा परविनका गजल सुन्न रुचाउँछन् । अंग्रेजीमा ह्विट्नी हस्टनका गीतहरू सुन्दा आनन्द लाग्छ । नबुझे पनि उनी अफ्रिकी, टर्किस, फ्रेन्च, चाइनिज, श्रीलंकन सबै भाषाका गीत सुन्छन् । यति धेरै गीत सुनेपछि उनलाई लाग्यो, संसारका सबै देशका कलाकारको गुणस्तर उस्तै हुँदो रहेछ । बिप्लव थिएटरमा नाटक हेर्न पनि छुटाउँदैनन् । थिएटर उनको प्रिय थलो हो ।

 

बिप्लवमा टेलिभिजन हेर्ने खासै बानी छैन । बरु त्यो समय पुस्तक पढ्नु बढी प्रभावकारी मान्छन् । एफएम रेडियो पनि कमै सुन्छन् । पत्रपत्रिका नियमित हेर्ने बानी छैन । उनी राति १० देखि ११ बजेभित्र निदाइसक्छन् । जीवनको अधिकांश समय लेखपढ एवं घुमघाममै बिताएका प्रतीक निदाउनुअघि पनि पुस्तक नै पढ्छन् ।

Be the first to comment on "बिप्लवको बयान"

Leave a comment

Your email address will not be published.


*