साहित्य लेखनमा प्रेम

साहित्य लेखनमा प्रेमको कुन स्थान हुन्छ ? प्रेम सहायक भएर आउछ कि मुख्य विषयवस्तु ? पोखरामा चलेको साहित्य महोत्सबमा मैले केही लेखकहरुसँग गरेको कुराकानीमा आधारित सामग्री :

 

सुविन भट्टराई
म प्रेम लेखेरै चिनिएँ । समर लभ र सायामा प्रेमकै घटना छ । तिनमा मेरा भावना छन्, भोगाइ र घटना भने साथीहरूको । मेरो लेखनमा प्रेम प्रमुख विषयवस्तु रहन्छ । प्रेममा लेखिएका पुस्तकहरू तुलनात्मक रूपमा बढी चल्छन्, किनभने सबैले जीवनमा एकपटक प्रेम गरेकै हुन्छन्, त्यसैले त्यस्तो पुस्तकमा पाठकले आफूलाई पनि फेला पार्छन् । भ्यालेन्टाइन डेमा Epaperमेरो पुस्तक कैयौंले उपहार दिए । सबैलाई प्रेम गर्न, भोग्न मन लाग्छ ।

मानिस प्रेम र यौनसम्म पुग्छ । हजारौं वर्षअघि पनि प्रेम थियो । लाखौं वर्षपछिसम्म पनि प्रेम रहिरहनेछ । मानिसको शरीरमा हार्मोन हुन्छ, त्यो परिवर्तन हुनेबित्तिकै प्रेम उत्पन्न हुन्छ । प्रेम सार्वकालिक छ । कस्तो खालको प्रेम हो, त्यस अनुसार प्रेमका पुस्तक लेखिन्छन् । सबै वियोगान्त कृति राम्रा हुँदैनन् । सबै संयोगान्त कृति नराम्रा पनि हुँदैनन् । मानिसको जीवनमा वियोग नै बढी हुन्छ । त्यसैले वियोगान्त कृतिले बढी छुन्छन् ।

मेरो पहिलो पुस्तक समर लभ दोस्रोभन्दा बढी नै चर्चित भयो । समर लभ लेख्दा कसैको दबाब थिएन । दोस्रो पुस्तक साया लेख्दा पाठकको दबाब थियो । कथा बगाउन मसँग फराकिलो दायरा थिएन । म प्रेम मात्र लेख्छु भन्ने होइन, पाएँ भने अरू विषयमा पनि लेख्छु ।

 

अमर न्यौपाने
मेरो पुस्तकमा प्रेम सहायक विषय भएर आउँछ । प्रेमबिनाका आख्यान भने कमै हुन्छन् । हामी मरुभूमिको देशमा छैनौं । प्रेम हरियाली हो । यसमा वासना हुन्छ । मेरो पुस्तकमा पनि प्रेम छ । जीवनमा प्रेम हुन्छ । जीवन लेख्दा प्रेम आफैं आउँछ । व्यापारी, शिक्षक, किसान, राजनीतिज्ञ सबैले प्रेम गरेका हुन्छन् । विद्यार्थी, मजदुर, फुटपाथमा व्यापार गर्नेहरूले पनि प्रेम गरेकै हुन्छन् ।

सबैको जीवनमा प्रेम र यौन हुन्छ । यौन नभएको भए प्रेम हुँदैनथ्यो । फूलको वासना हो, प्रेम । त्यसको रस भनेको यौन हो । वासना आएकैले प्रेम हुन्छ । त्यसैले त आँखा, ओठ आदिको बयान गरिन्छ । आँखा र ओठ मनसम्म पुग्ने बाटो हो । ढोका ढकढक गरेपछि कसैले खोलिदिन सक्छ । कसैले ढोकैबाट बिदा दिन पनि सक्छ । कसैले डेरा दिन सक्छ, कसैले घरै दिन पनि सक्छ ।

जीवनमा प्रेम कहिल्यै छुट्दैन । लेखनमा पनि प्रेम छुट्दैन । आख्यानमा कुनै न कुनै रूपमा प्रेम घुसेकै हुन्छ । पुस्तक पठनीय बन्न पनि प्रेम हुनुपर्छ । विषयवस्तु, लेखनशैली हेरेर पुस्तकको चर्चा हुन्छ ।

प्रेम लेखेरै मात्र चर्चा हुने हो । लेखन आफैंमा पनि प्रेम हो । यदि प्रेम छैन भने त्यो लेखनमा सुन्दरता हुँदैन । त्यो लेखन शुष्क हुन्छ ।

 

नयनराज पाण्डे
मेरो लेखनमा प्रेम मुख्य विषय भएर आउँछ कि सहायक भएर रु यसमा दुईवटा कुरा छन् । मेरो उपन्यास लुमा ललवा र द्रौपदीबीच प्रेम छ, घामकीरीमा इलैया र नुसरतबीच प्रेम छ । मैले प्रेमलाई उपन्यासमार्फत व्यक्त गरेको छु । सुख–दुस्खका कुरा गर्दा, समर्पणका कुरा गर्दा प्रेम आई नै हाल्छ ।

मेरो लेखनमा प्रेम सहायक भएर आउँछ । जब समाज, राजनीति, सीमा अतिक्रमणका विषयमा लेख्न थाल्छु, तब प्रेम सहायक भएर आइदिन्छ । प्रेम भनेको जीवन, सिर्जना, मस्तिष्क र शरीरका लागि आवश्यक कुरा हो ।

कतिपय पुस्तकमा किशोरी–किशोरी पाठकहरूले प्रेमलाई खुराकका रूपमा लिन्छन् । लेखनमा प्रेम आउनु स्वभाविक पनि हो । यो कुनै वर्जित विषय पनि होइन । साहित्यमा प्रेम मात्र सम्भव हुँदैन, तर प्रेम अनिवार्य विषयचाहिँ हो । यो लेखनमा प्रकट भएकै हुन्छ ।

मैले त्यस्तो आख्यान अहिलेसम्म पढेको छैन, जसमा प्रेम नभएको होस् । प्रेम पनि सम्बन्ध र वर्गअनुसार फरक–फरक हुन्छ । कुन वर्गको कुरा हो, त्यो महत्वपूर्ण कुरा हो । प्रेम दुस्ख–सुखसँग जोडिएन भने त्यो प्रेम निरर्थक हुन्छ । लेखनमा बोझिल ढंगले प्रस्तुत गरिएका कुरा पढ्न मन लाग्दैन ।

 

बुद्धिसागर

मेरा पुस्तकमा प्रेम सहायक विषय भएर आउँछ, मुख्य विषय त अरू नै हुन्छ, तर प्रेम त आइ नै हाल्छ । लेखकको लेखनसँगै प्रेम हुन्छ । प्रेम छाड्न भने सकिँदैन, तर कसरी त्यसलाई लेख्ने, आफूले प्रस्तुत गर्ने, प्रेमको कति गहिराइमा गएर लेखिन्छ, त्यो आफूले उठाएको विषयमा भर पर्छ । लेखनसँग प्रेम बसेपछि मात्र लेखन सुरु हुने हो । मेरो पहिलो पुस्तक कर्नाली ब्लुजको पात्र बुबासँगै प्रेम बस्यो । त्यसमा बुबाकै कुरा बढी लेखियो ।

त्यस्तै दोस्रो उपन्यास फिरफिरेमा जेठी आमा पात्रसँग आत्मीयता र प्रेम गाँसियो । मैले चिनिराखेकै व्यक्ति हुन्, तिनको दुस्खले मलाई छुन्छ । जुन लेखक पात्रसँग प्रेममा पर्दैन, त्यसले पात्रलाई न्याय गर्न सक्दैन । लेखक पात्रहरूसँग प्रेममा पर्नुपर्छ भन्ने लाग्छ, परेको राम्रो हो । द गुड अर्थ मैले जीवनमा पढेको मध्ये उत्कृष्ट उपन्यास हो । त्यसमा मानिसको संघर्ष, गरिबी, अभाव, संघर्ष गरेर नथाक्ने व्यक्तिको कथा छ । त्यो पात्रले घरमा काम गर्ने सुसारेसँग प्रेम विवाह गर्छ । ओल्डम्यान एन्ड सीको स्यान्टियागो नामक पात्रसँग पनि मेरो प्रेम बस्यो ।

त्यस्तै द गुड अर्थको वाङलुङसँग पनि प्रेम बस्यो । मार्खेजको लभ इन द टाइम अफ कोलेरा चोखो प्रेममाथि लेखिएको उत्कृष्ट पुस्तक हो । फिफ्टी सेड् अफ ग्रेमा प्रेमभन्दा यौनलाई बढी महत्व दिइएको छ । सबैको कसै न कसैसँग प्रेम परिरहेकै हुन्छ । लेखनमा कसलाई महत्त्व दिने भन्ने कुराले विशेष अर्थ राख्छ ।

Be the first to comment on "साहित्य लेखनमा प्रेम"

Leave a comment

Your email address will not be published.


*