सद्भाब फैलाउँदै शान्ता

नरेन्द्र रौले
अचेल पुर्वसभासद शान्ता चौधरीको दौडधुप खुब बढिरहेको छ । उनले महिनामा आधा समय काठमाडौं र आधा समय दाङमा बिताउछिन् । मुलुकको यो विषम परिस्थीतिमा सद्भाब, शान्ति, भ्रातृत्वको सन्देश छर्न उनले बिभिन्न कार्यक्रम मार्फत योगदान पुर्‍याईरहेकी छिन् । उनकै अगुवाईमा शान्ति र्‍यालीहरु हुन थालेका छन् । मुलुकका कुनाकुना पुगेर फुटेर हैन, जुटेर बसौं भन्ने सन्देश बाँडिरहेकी छिन् ।

1233208_446642158785369_1656773910_oतीन महिनादेखी ट्वीटरमा सक्रिय शान्ताको लोकप्रियता पनि निकै बढिरहेको छ । उनले बाँडेका विचारहरु युवा पुस्ताले निकै रुचाएको पाईन्छ । सामाजिक सञ्जाल तथा बिभिन्न कार्यक्रमहरु मार्फत जात, जाती, धर्म, समुदाय भन्दा माथि उठेर नेपाली बन्न उनले जोड दिईरहेकी हुन्छिन् । त्यही सकारात्मक सोच, विचारका कारण उनले आमसञ्चार माध्यमहरुमा प्राथमिकता पाईरहेकी छिन् । शान्तालाई ट्वीटर चलाउन ९ कक्षा पढ्ने उनका छोरा अनिल चौधरीले सुझाएका थिए । ‘अरुले ट्वीटर, ट्वीटर भनेको सुुन्थें ।’ उनले भनिन्, ‘छोराले विचार आदान–प्रदान गर्न यो बढी महत्वपूर्ण छ भनेपछि चलाउन थालें ।’

सामसुङको ट्याबबाट फेसबुक, ट्वीटर चलाउने उनलाई अहिले समयमा सामाजिक सञ्जाल निकै महत्वपूर्ण लाग्छ । ‘अब त मिडिया भन्दा सामाजिक सञ्जाल बढी शक्तिशाली हँुदै गएको भान हुन्छ ।’ उनी भन्छिन्, ‘तुरुन्तै समाचार आउने, विचार पोख्न पाइन्छ । एकदमै सजिलो बनेको छ ।’ सकारात्मक बाटो हिंड्दाहिंड्दै उनको फेसबुक, ट्वीटर र मोबाइलमा कतिपयले धम्की दिदै म्यासेजहरु पठाईरहन्छन् । थारु बिरोधी भनेर आरोप लगाउँदा उनलाई नमज्जा लाग्छ । बरु कहाँनेर गल्ती भयो त्यो औंल्याईदिए हुन्थ्यो भन्ने लाग्छ ।

बिहान चार बजे आँखा खुलेपनि शान्तालाई ओछ्यान छोड्दा पाँच बज्छ । दाङमा हुँदा उनी बिहान गाउतिर मर्निङ वाकमा निस्किन्छिन् । राजधानी हुँदा भने त्यस्तो मौका जुर्दैन । विहानीपख डुल्दा शरीरमा स्फूर्ति जाग्छ । घर फर्किएर उनले चिया, कफि आफै बनाउँछिन् । फुर्सदको समय करेसाबारीमा फूल रोप्न, गोडमेल गर्न उनलाई एकदमै मनपर्छ । उनले कहिल्यै तरकारी किन्दिनन् । आफै फलाउँछिन् । दुइ सन्तानकि आमा शान्ता दाङको उच्च मावि डाँडागाउमा कक्षा ८ मा पढ्दैछिन् । राजधानीमा उनको एक छोरा ९ र छोरी भने कक्षा ७ मा पढ्दैछन् । शान्ता पहिलो दिन कक्षाकोठा पस्दा सबैजना विद्यार्थीहरु उठे । विद्यार्थीहरुतिर हेर्दै उनले भनिन्, ‘म त अबदेखी तिमीहरुसँगै पढ्ने, साथी हो ।’ सुनेर धेरैजना छक्क परे ।

नियमित रुपमा उनी स्कुल जान भने पाउँदिनन् । उनका जिम्मेवारीहरु धेरै छन्, राजनीतिकर्मी, अभियानकर्ता, आमा । घरी राजधानी, घरी दाङ र अन्य जिल्लाहरुतिर दौडिदा निरन्तर स्कुल जान नपाएपनि पढ्ने अठोट भने त्यागेकि छैनन् । सभासद बन्दा आफ्नो नाम लेख्न पनि उनलाई पाँच मिनेट लागेको थियो । राष्ट्रपतिको चुनाबमा त हस्ताक्षर गर्न पनि उनलाई अर्कैले सघाईदिएका थिए । कतिले टिप्पणि गर्थे– आंैठा छाप सभासदहरुले के संबिधान बनाउलान् र ? यस्तै पीडाले जसरी पनि पढाई पूरा गरेरै छाड्ने उनले प्रतिबद्धता गरिन् ।

सभासद छँदा प्राकृतिक स्रोत ब्यबस्थापन समितिको संयोजकको अनुभब बटुलेकी शान्ताले एकवर्ष लगाएर लेखेको पुस्तक कम्लहरीदेखी सभासदसम्म चर्चामा रह्यो । बीस हजार भन्दा धेरै बिकेको यस पुस्तकमा उनले १८ वर्ष कम्लहरी बस्दा भोगेका दुख, पीडा, संघर्ष, विवाह, राजनीतिक यात्रादेखी सभासदसम्मको यात्राका बारेमा लेखेकि छिन् । संघर्षका दिनहरु सुरुमा डायरी र पछि कम्प्युटरमा टाइप गर्दा कैयौं चोटी उनले आँशु बगाइन् । ‘जीवनमा सुखले कहिल्यै छोएन ।’ भाबुक मुद्रामा उनले मुख खोलिन्, ‘सानोमा पाएको दुख, अन्याय, अत्याचार भुल्नै नसकिने रहेछ ।’ ७ वटा घरमा कम्लहरी बसेकी उनले कम्ति दुख पाइनन् ।

बिहानै ४ बजे उठेर काम गर्नुपर्ने, भारी बोक्नुपर्ने, गल्ती गर्दा पिटाइ खानुपर्ने, पेटभरी खान, जिउ ढाक्न कपडा नपाइने, एक वर्षको ज्याला ७ सय रुपैयामा चित्त बुझाउनुपर्ने यस्ता अनेकौं कष्ट उनले भोगिन् । उनको बुझाइ छ, नदेखिने रुपमा ‘बेचिएकी चेली हो, कम्लहरी’ । शान्ताको जीवनमाथि पुस्तक लेख्छु, डकुमेन्ट्री बनाउँछु भन्नेहरु थुपै्रै आए । तर उनी आफै अघि सरिन् । दोस्रो पुस्तकको तयारीमा जुटेकी उनलाई लाग्छ, पढेरमात्र मात्र हुन्न भोगाई पनि चाहिदो रहेछ । कम्लहरीका पक्षमा थालेको उनको अभियानले बिस्तारै परिबर्तन ल्याईरहेको छ । सरकारले दुइ वर्षअघि कम्लहरी मुक्त घोषणा गरेपछि अहिले घरमा कम्लहरी राख्न डराउछन्, राखेपनि पढाउने, पारिश्रमिक दिने गर्छन् ।

शान्तालाई थारु समुदायको चर्चित परिकार सिन्की, चोखा (आलु पोलेको), चिचर (उसिनेको भात) मनपर्छ । थारु पहिरन लगाउन रुचाउने उनलाई कुर्ता, सुरुवाल लगाउँदा सजिलो लाग्छ । सारी पनि उनको मनपर्ने पहिरन हो । सिन्दुर, पोत, चुरा लगाउदा उनलाई काटुर्न जस्तो लाग्छ रे । कानमा गहना र हातमा औंठी, बाला भने छुट्दैन । कमैलाई थाह होला, उनी ब्युटिसियन पनि हुन् । उनले आफ्नै घरमा एक वर्षदेखी ब्युटिपार्लर सञ्चालन गरिरहेकी छिन् । कुनै तालिमबिना सुरु गरेको यो काममा अलिअलि अनुभब बटुली सकेकी छिन् । अहिले ब्युटिपार्लर र कस्मेटिक पसल ब्यबसायबाटै उनको गुजारा चलिरहेको छ । सबैसँग भेटघाटको थलो पनि त्यही बनेको छ ।

सभासद बनेपछि एकदर्जन मुलुकको यात्रा गरेकी शान्तालाई हवाइजहाज चढ्न भने एकदमै डर लाग्छ । अहिले पनि हवाइजहाज चढ्दा रुन्छिन्, चिच्याउछिन् । त्यही डरले धेरैचोटी पाएका निम्तोहरु उनले अस्वीकार गरिन् । साथी भयो भने जहाज चढ्ने अलि आँट आउछ, त्यही पनि डर भने कसैगरी भाग्दैन । ‘पहिला–पहिला एक हप्ताअघि देखी नै चिच्याउँथे ।’ उनी भन्छिन्, ‘म कहाँ छु, के गर्दैछु भन्ने होस नै हुँदैन ।’ एकपटक नामिबिया जानेबेला उनले रुदै खैरेको हात पटक–पटक समाइछन् । कुटौंला झैं गरेर झपारेको त्यो घटना उनले कहिल्यै भुल्दिनन् । विदेशमा यात्रा गर्दा उनलाई क्रिम, झोला किन्न मन लाग्दो रहेछ ।

शान्ता बेलुका आठ बजे टेलिभिजन वा बीबीसीको समाचार सुन्न छुटाउँदिनन् । सामान्यतया ११ बजेतिर सुतिसक्छिन् । निद्रा नलाग्दा इन्टरनेटमा समय बिताउने, पुस्तक पढ्ने र ट्वीट लेख्ने गर्छिन् ।

Be the first to comment on "सद्भाब फैलाउँदै शान्ता"

Leave a comment

Your email address will not be published.


*