‘विकट ठाउ अबसरको खानी हो’- मोहन मैनाली (डकुमेन्ट्रीमेकर)

s

नरेन्द्र रौले
उमेरले ५० वर्ष छुनै लागेपनि कामप्रति मोहन मैनालीको सक्रियता घटेको छैन । कपाल सेताम्य फूल्दै गएका मैनालीलाई बरु पुस्तक पढेर, डकुमेन्ट्री हेरेर नियमित पाईने प्रतिक्रियाले थप उर्जा दिन्छ । केही गरौं भन्ने उत्साहले डोर्याइरहन्छ । पत्रकार, लेखक र डकुमेन्ट्रीमेकरका रुपमा स्थापित मैनाली समयमिल्यो कि कतै घुम्न निस्किहाल्छन् । सकभर विकट, अरुको ध्यान नपुगेका र मिडियाले वेवास्ता गरेका विषय र पात्रहरु उनको रोजाईमा पर्छन् ।

यात्रामा निस्किदा मैनालीको साथमा ल्यापटप, क्यामेरा र डायरी कहिल्यै छुट्दैनन् । मुलुकका ६७ वटा जिल्ला घुम्न भ्याईसकेका उनी दैनिक गरिने रिर्पोटिङ भन्दा फरक विधाको काम गर्न रुचाउछन् । ‘डकुमेन्ट्री र पुस्तक लेखनले बलियो प्रभाब छोड्ने रहेछ ।’ हालैको एक मध्यान्ह उनले अनुभब साटे ‘यस प्रकारको कामले उचाई पनि बेग्लै बनाईदिन्छ ।’ दुई वटा पुस्तक र ६ वटा डकुमेन्ट्रीका निर्माता मैनालि किन यस्तो काममा चाख लिन्छन् भने अहिले गरेकोकाम पछि गएर इतिहास बनिदिन्छ । भोलीको पुस्ताले आजको समाज, घटना र समय बुझोस् भन्ने अभिप्रायले उनी यस्तो कामलाई निरन्तरता दिन चाहन्छन् । क्यामेरामा कैद गरिएका आवाज तथा तस्विर र डायरीमा नोट गरिएका तिनै शब्दलाई उनेर पुस्तक र डकुमेन्ट्रीको रुप दिनमा तल्लिन हुन्छन् ।

मैनाली आफूले पढेका, देखेका, अचम्म लागेका र असामान्य लागेका विषयमा डकुमेन्ट्री बनाउन रुचाउछन् । उपल्लो थलो खोज पत्रकारिता पुस्तकका यि लेखकको पहिलो डकुमेन्ट्री डेस्पाइट द अड्स सन् १९९९ मा जापानको अर्थ भिजन फिल्म फेस्टिवलमा प्रदर्शन भएको थियो । क्यामेराम्यान धु्रब बस्नेतसंग मिलेर बनाईएको उक्त डकुमेन्ट्री गोर्खाका मान्छेले पाएको दुखका बारेमा समेटिएको थियो । ०५९ मा सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा पुगेर उनले भोकमरीको मौसम नामक डकुमेन्ट्री बनाए । देशमा शसस्त्र द्वन्द्व चर्किएको बेला थियो । सरकार र बिद्रोही पक्षको केरकारले हिंडडुल गर्न एकदमै असहज थियो । मैनाली बाजुराको पाण्डुसेन पुगेका बेला सेनाद्वारा ८ जना गाउलेहरु झुक्किएर मारिए । आफन्तको बिलौनामा रोईकराइ गर्ने पाण्डुसेनबासीका क्रन्दनहरु क्यामेरामा कैद गरे । आघात परेका सर्बसाधारणसंग कुराकानी गरे ।

र, त्यसको १८ महिनापछि पाण्डुसेनको परिबर्तन हेर्न पुगे । त्यसै विषयमा अर्को मार्मिक डकुमेन्ट्री तयार भयो, सिक्स स्टोरिज । उनले बिर्सिएका छैनन्, डोटीको साजघाटदेखी साफेबगर सम्म ट्याक्टरमा र साफेबगरदेखी कोल्टी सम्म पैदल यात्रा गरेको त्यो कहाली लाग्दो क्षण । भौगोलिक बिकटताले दुख भोगेपनि बाजुराले उनलाई तानिरह्यो । सात वर्षपछि फेरी पाण्डुसेन पुगेर एक स्कुले विद्यार्थीमाथि आधारित अर्को डकुमेन्ट्री बनाए, पुनेको प्यान्ट । लगाउने कपडाको अभाबमा स्कुल जान नमान्ने विद्यार्थीको कथा छ यसमा । जोगिमाराका ज्युदाहरु, आउला कि, टिम्बर टु तिब्बत, बुढिगण्डकिको सेरोफेरो उनले बनाएका थप डकुमेन्ट्रीहरु हुन् ।

विकट गाउठाउ पुगेर घुम्न, लेख्न, सर्बसाधारणहरुसंग कुराकानी गर्न मैनालीलाई असाध्यै रहर लाग्छ । कसैले नउठाएका विषयवस्तु र वेवास्ता गरेका विषयको उठान उनको प्राथमिकतामा पर्छन् । ‘विकट ठाउ अबसरको खानी हो ।’ उनले भने ‘अझै गर्न सकिने ठाउहरु प्रशस्त छन् ।’ हिमाल पाक्षिकको सहायक सम्पादक र खोज पत्रकारिता केन्द्रको निर्देशक पद सम्हालिसकेका मैनालीले लेखेको द्वन्द्वकालका संस्मरण यतिबेला प्रकाशनका क्रममा छ । यतिबेला खोज पत्रकारिता केन्द्रको साधारण सदस्य उनी शहरका नखुलेका कैयौं पाटाहरु खोतलेर रिर्पोटिङ गर्न चाहन्छन् । जे काम गर्ने हो त्यसैमा दिलो ज्यान दिएर गर्न युवा पुस्तालाई उनले सल्लाह दिन्छन् । उनले एक लेखकको भनाई सम्झिए, ‘दिनमा ४ घण्टा लेख । तिम्रो भविष्यको जिम्मा सरस्वतिले लिन्छिन् ।’

४० वर्षको उमेरमा भीमा प्रसाइसंग विवाह गरेका मैनाली यतिबेला तीन कक्षा पढ्ने छोराका बाउ हुन् । चाहदा, चाहदै समयमै विवाह गर्न नसकेको उनले सुनाए । तरपनि कुनै पछुतो छैन । विवाहले ब्यक्तिगत जीवनको प्रगतिमा मद्दत पुर्याउने कुरामा उनी ढुक्क छन् । बाइक चलाउन सिकेपनि लाईसेन्स नलिएका मैनाली कतै निस्किनु पर्दा अहिले पनि श्रीमतिलाई स्कुटरमा पुर्याइदिन गुहार्छन् । उनी पार्टीहरुमा जान रुचाउदैनन् । नचाहिने हल्ला, कोलाहलबाट उनलाई परै बस्न मन लाग्छ । कानै खानेगरी ठूलो आवाजमा गीत बजाईएको सुन्दा उनलाई झनक्क रिस उठ्छ । बरु फुर्सद मिल्दा घुम्न, लेख्न फिल्म र डकुमेन्ट्री हेर्न मन पराउछन् । घुमेका मध्ये गोर्खा उनलाई सबैभन्दा मन परेको जिल्ला हो, कष्ट भोगेको चाही बाजुरा हो । गोर्खा र लमजुङको सिमानामा पर्ने लार्केपासमा हिंड्न नसकेर, मृत्यु रुगेको क्षण उनको जीवनको अबिस्मरणिय घटना हो ।

उनी भेजिटेरियन हुन् । दाल, भात, तरकारी उनको मनपर्ने खान्की हो । सर्ट, पाइन्ट लगाउन उनलाई सबैभन्दा सजिलो लाग्छ । जाडोको ५ महिना टोपि कहिल्यै छुट्दैन । एचपि र भायो ब्राण्डको ल्यापटपमा उनले लेख्ने गर्छन् । ट्वीटर चलाउन त्यति बानी नपरे पनि फेसबुकमा नियमित अपडेट भईरहन्छन् । फुर्सद मिल्दा दिनको तीन घण्टा इन्टरनेटमै समय बित्छ । पुस्तक र उनका लेखहरुको प्रचार गर्न सामाजिक सञ्जालले राम्रैसंग सघाउछन् । मैनालीको दिनचर्या सधै एकनासको हुदैन । काम पर्दा ६ बजे नै ब्युझिन्छन् । जरुरी नभएका बेला उठ्दा ७ बज्छ । रातीको समय प्राय ९ बजे उनको सुत्ने समय हो । त्यस्तै काम पर्दा १ बजे सम्म पनि बसिदिन्छन् ।

      अबिस्मरणिय क्षण : गोर्खाको लार्केपास यात्रा
      खुसीको क्षण : जोगिमाराका जिउदाहरुको प्रदर्शन
      सोखहरु : घुम्ने, फिल्म हेर्ने, डकुमेन्ट्री बनाउने
      परिकार : दाल, भात, तरकारी
      मनपर्ने पुस्तक : लक्ष्मी निबन्ध संग्रह, चारु चर्चा
      मनपर्ने लेखक : महाकवि देवकोटा, शंकर लामिछाने, खगेन्द्र संग्रौला
      मनपर्ने डकुमेन्ट्री :

स्कुल्स इन् दि क्रस फायर

      ज्याजेट्स : एचपिको ल्यापटप, नोकिया मोबाइल
      पहिरन : सर्ट, पाइन्ट
    घुमेका जिल्ला : ६७ वटा

 

Be the first to comment on "‘विकट ठाउ अबसरको खानी हो’- मोहन मैनाली (डकुमेन्ट्रीमेकर)"

Leave a comment

Your email address will not be published.


*