राहत कुरिरहेका गाउ

नरेन्द्र रौले
रसुवा जिल्लाका विकट गाउहरु मध्येमा पर्छन्, यार्सा, सराङखोली, डाँडागाउ, गोल्दुङ, र हाकु । बैशाख १२ गतेको महाभुकम्पले यि गाउका ९५ प्रतिशत घरहरु ध्वस्त भएको बताउछन्, धैबुङ, कटुञ्जे, रसुवाका रमेशकुमार । ‘अझै बढी घरहरु क्षतिग्रस्त भएका छन् ।’ उनले भने । ठूलो मानविय क्षति हुनबाट जोगिएपनि बास बस्ने घर क्षतिग्रस्त भएपछि यि गाउहरुमा धेरैको बिचल्ली भएको छ । घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएपछि अन्नपात पुरिएको छ । लत्ता, कपडा र खाद्यान्न कतिले निकाल्नै पाएनन् ।
vECodxkhरसुवा जिल्लाका यि विकट गाउहरुमा थोरै मात्रामा राहत पुगेपनि पर्याप्त भने भएन । पिडितहरुले पाएको चाउचाउ, बिस्कुट, चामल केही दिनमै सकियो । थप राहतको पखाईमा छन् यहाका स्थानियबासिहरु । खाद्यान्नसँगै अहिले यस क्षेत्रमा झूलको ठूलो आबश्यकता रहेको बताउछन् रमेशकुमार ।

‘सर्प, लामखुट्टे, किराफट्याङ्ग्राहरुबाट जोगिनलाई तत्काल झूलको आबश्यकता छ ।’ उनले भने भने, ‘पालको बसाई छ । वालवालिका, महिलाहरुमा एकदमै त्रास देखिएको छ ।’ रसुवाका यि बिकट गाउहरु पुग्न रसुवाको सदरमुकाम सम्म गाडीमा र त्यहाबाट एक दिन हिंड्नुपर्छ । गाउ सम्म पुग्ने मोटरबाटो नभएकाल राहत पर्‍ुयाउन कठिन भईरहेको छ ।
जम्मा ४३ हजार जनसंख्या रहेको रसुवा जिल्लामा भुकम्पले गर्दा अहिले सम्म ५ सय ६९ जनाले ज्यान गुमाईसकेका छन् । २ सय ३४ जना अझैपनि बेपत्ता छन् । जिल्लाभरी रहेका ९ हजार ७ सय ७८ घरधुरी मध्ये ७ हजार ४० पूर्ण रुपमा ध्वस्त भईसकेका छन् । त्यस्तै २ हजार ४ सय १० घरहरु आंशिक रुपमा क्षतिग्रस्त छन् ।
महाभुकम्पले सबैभन्दा बढी मानबिय क्षति सिन्धुपाल्चोकमा भयो । गाउहरु सखाप भए । जिल्लामा कम्तिमा ६३ हजार घरहरु ध्वस्त भएपछि कैयौं मानिसहरु बिस्थापित हुन पुगे । सडकमार्गसँग जोडिएका गाउहरुमा राहत पुगेपनि उत्तरी क्षेत्रहरुमा अहिले पनि राहत पुग्न सकेको छैन । हेलिकप्टरबाट राहत पुर्‍याउन असहज भईरहेको बताउँछन्, सिन्धुपाल्चोकका जगन्नाथ दुलाल । बरुवा, हेलम्बु लगायत उत्तरी गाउहरु अहिले पनि राहतको पखाईमा छन् ।

A village of Rasuwa district.

A village of Rasuwa district.

त्यस्तै धुस्कुन, लामोसाँघु क्षेत्रहरुमा पनि राहतको आबश्यकता छ । पहिरोको जोखिमले गर्दा जिल्लाका उत्तरी भेगका बस्तीहरु धमाधम रित्तिदैँ गईरहेका छन् । सबैजसो विकास संरचनाहरु पूर्ण रुपमा ध्वस्त छन् । सदरमुकामका प्रायजसो कार्यालयहरु भत्केपछि सरकारी सेवा राम्रोस्रग सुचारु हुन सकेको छैन । ५ सय ५७ विद्यालयका सबै भवनहरु ध्वस्त भएका छन् ।
नुवाकोटको सिउँडेनि, कुइरिनी मदनपुर, खोलेगाउ, विदुर, भैंसे लगायतका क्षेत्रहरु पनि राहतको पखाईमा छन् । २२ सय जनसंख्या रहेको सिउँडेनीमा जम्मा एक दर्जन जति घरहरु मात्र बस्न लायक छन् । क्षतिग्रस्त घरका जस्तापाता झिकेर नयाँ टहरा बनाउन गाउलेहरु ब्यस्त छन् । अस्थायि घरहरु बनाउन जस्तापाता, बाँसहरुको आबश्यकता बताउँछन्, ओखरपौवा, नुवाकोटका श्रीकृष्ण घिमिरे ।  ‘एकदमै दुखजिलो गरेर जीवन चलिरहेको छ ।’ उनले दुखेसो पोखे, ‘अझै पर्याप्त राहत पनि पुगेको छैन ।’

सिउँडेनिमा झण्डै ३५ भन्दा बढी गाइबस्तु मरे । ठूलो संख्यामा मानबिय क्षति भने भएन । भूँइचालो गएको १७ औँ दिनमा सरकारले प्रति परिवार ७ हजार रुपैंयाँका दरले सहयोग गरेको थियो । तर यतिले मात्र पर्याप्त नभएको स्थानियबासीहरु दुखेसो पोख्छन् ।
धादिङ जिल्लाका भुकम्प पिडितहरुको अबस्था पनि दर्दनाक छ । जब आकाशमा हेलिकोप्टर देखिन थाल्छ यस जिल्लाका विकट गाउका भूकम्प पीडितहरु रातो झण्डा हल्लाउन थाल्छन् । गत शनिबार लापा गाउँ विकास समितिको तीरगाउँमा शनिबार राहत लिएर जाँदै गरेको हेलिकोप्टरलाई गाउँलेले झण्डा हल्लाएरै आफ्नो ठाउँमा बसाएका थिए । अहिले पनि गाउँमा अलिअलि हिड्न सक्ने र भाग्न सक्ने क्षमता भएका सिरान (डाँडा) मा जम्मा भएर बसेका छन् । त्यस्तै लापा र रि गाबिसमा पनि राहतको टड्कारो आबश्यकता छ ।
धादिङ जिल्लाका भूकम्प प्रभाबित क्षेत्रहरुमा अधिकांस घरहरु लडेका छन् । फेरी यसैबेला चारैतिर पहिरो खसेर अर्का समस्या आईपरेको छ । सबैलाई ज्यान जोगाउने पीर छ । केही घरहरु बचेका छन् । तर घरभित्र बस्नै नसकिने अबस्था छ । घरभित्र पुरिएका खाद्य सामग्री, भाँडाकुँडा, लत्ताकपडाहरु पनि झिक्न सक्ने अवस्था छैन । ओढ्ने ओछ्याउने समेत निकाल्न नसकेका कारण वालबालिकाहरु, सुत्केरी तथा गर्भवती र वृद्धबृद्धाहरुमा रुघाखोकी, ज्वरो र झाडापखालाको समस्या देखिन थालिसकेको छ । पटकपटक आईरहने भूकम्पको धक्काले घरहरु भत्किने, लड्ने क्रम अझै पनि जारी छ । स्थानियबासिहरु पहिरो नगएको र जमिन नभासिएको सुरक्षित ठाउँ पुगेर आश्रय दिईरहेका छन् ।
राहतका अभाबमा धादिङ जिल्लाका अधिकांस दुर्गम भेगहरु छट्पटाईरहेका छन् । सडक सञ्जालहरुले समेत नछोएका अधिकांश गाउ बस्तीहरु सम्म हिंडेरै पुग्न अलि कठिन छ । त्यस क्षेत्रका भूकम्प पीडितहरु अझैपनि आकाशमा हेलिकोप्टरबाट आउछ कि भनेर राहत कुरिरहेका छन् । गाउँहरु सबै ध्वस्त भएकाले नक्साङ्कन पत्ता लगाउँनै अझ कठिन बनेको छ । त्यस क्षेत्रका डाँडा, भिरपाखा सबैतिर पहिरो गएपछि अर्कै दृश्य देखिन थालेको छ ।

गाउँहरुको स्वरुप पूरै परिवर्तन भएको छ । केही बिकट गाउका मानिसहरु अत्यन्तै जोखिमका साथ बाँचिरहेका छन् । उनीहरु पहिरो छलेर भाग्न सक्ने अवस्थामा पनि छैनन् । जिल्लाका स्थानीय गैर–सरकारी संस्था हिम्स नेपालले यूएमएनबाट पठाइएको राहत हेलिकोप्टरमार्फत ढुवानी गरेर गाउ बस्तीमा पुर्‍याउने प्रयास गरिरहेको छ । तर यतिले मात्र पर्याप्त नहुने स्थानियबासिहरुको चिन्ता छ ।
कोही पनि घरभित्र बस्न सक्ने अवस्था छैनन् । राहत बाँड्न पुगेको सरकारी टोलीले भत्केको घरवाला र मृतक परिवारलाई नगद हस्तान्तरण भने गरेको छ । तर गाउँमा खानेकुराको अभाब भएकोले पैसा पाएर पनि स्थानिय बासिन्दाहरुले राहतको महसुस गर्न नसकेको तिप्लिङका शेरबहादुर तामाङ दुखेसो पोख्छन् । जिल्लाको उत्तरी विकट क्षेत्रहरुमा सडक यातायातमार्फत राहत लैजान नसकिने भएकाले थप जटिल समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘सानो हेलिकोप्टर सबै ठाउँमा पुग्छ, सामान धेरै बोक्न सक्दैन , ठूलो हेलिकोप्टर सबै बस्तीमा पुगेर सामान झार्न सक्दैन ।

त्यसैले थोरैथोरै गरेर पनि हामीले हेलिकोप्टरमार्फत खाद्यान्न सामग्री उत्तरी धादिङका बस्ती–बस्तीमा पठाईरहेका छौ ।’ उनले टेलिफोनमा सुनाए । घर भत्किएर बिचल्लीमा परेकाहरुका लागि भनेर दु:खका साथ जुटाएको सामान यातायातको असुबिधाले सम्बिन्धित क्षेत्रहरुसम्म ढुवानी गर्न नसकिएकोमा थुप्रै ब्यक्ति तथा सँस्थाहरु चिन्तित छन् ।
मकवानपुर जिल्लाका केही ठाउहरु पनि भूँइचालोबाट प्रभाबित भए । टिस्टुङ गाबिसका प्रभाबित क्षेत्रहरुमा अहिले पनि राहत पुग्न सकेको छैन । मानडाँडा, आलमपुर, घलेगाउ, दोभानडाँडा गाउहरुमा अहिले पनि पर्याप्त राहत पुगेको छैन । घरहरु पूरै भत्किएपछि अहिले पनि खुला आकाशमुनि स्थानियबासिहरु रात गुजार्न बिबस छन् ।

राहत स्वरुप पाएको केही पालहरु हावाहुरी र बर्षापछि च्यातिईसकेका छन् । एउटा पाल सम्म नभएपछि पिडितहरु झन् पिडामा छन् । ‘हाम्रा सबै गाइबस्तुहरु मरे ।’ दोभानडाँडाका विष्णु बहादुर स्याङ्तानले भने, ‘सबै घरहरु ध्वस्त छन् ।’ स्याङ्तानको ८ जनाको परिवार छ । ओत लाग्ने समेत ठाउ छैन । पानी पर्दा झनै समस्या हुन्छ । राहत स्वरुप केही सँस्थाले एक केजी चामल, ३ पाथी चिउरा, बिस्कुट र भुजिया बितरण गरेको थियो । मुस्किलले एक छाक टार्न मात्र पुग्यो । नगन्य मात्रामा बितरण गरेको राहतले कुनै परिबर्तन नभएको स्याङ्तानले गुनासो पोखे ।
स्याङ्तानको जस्तै समस्या छ, झाप्रे ७ मकवानपुरका बीरबहादुर गोले, ५३ को । उनले जसोतसो त्रिपाल त पाए । तर दोस्रो पटकको भुँईचालोपछि आएको हावाहुरीले त्यो पनि उडायो । ‘हावा, हुरीले पाल उडाएपछि खुला आकाशमुनि छौं ।’ उनले भने, ‘घरभित्र बचेको खानेकुरा निकाल्यौं । त्यो पनि अब सकिन लागिसक्यो । छोराछोरी र जहा कसरी पाल्ने ?’ झाप्रेकै माइते स्याङ्तान, ३६ को समस्या पनि उस्तै छ । ५ जनाको उनको परिवार खुला आकाशमुनि रात बिताउन विवस छ । ‘म घरभित्र छिर्न सकेको छैन । पुरै घर चर्किएको छ ।’ उनले चिन्तित मुद्रामा भने, ‘हामीलाई बस्ने ठाउ र पुग्ने गरी राहत चाहियो ।’
गोरखाको बुंकोट गाबिसको पोखरीडाँडाका ३५ घरहरु पूरै ध्वस्त भएपछि गाउलेहरु अहिले बिचल्लीमा छन् । वुंकोट गाविस प्रथम सहिद लखन थापा मगर को जन्मभुमि पनि हो । स्थानियबासी उज्वल खनालका अनुसार बुंकोटमा आफुले आफैलाई सम्हाल्न सक्ने स्थिति नै छैन । वालवालिका, महिला र बृद्धबृद्धाहरुको अझ बढी समस्यामा छन् । ‘कसले सम्हाल्ने उनीहरुलाई ?’ उज्वल भन्छन्, ‘हामीले के खाएर बाँच्ने ?’ उनले दिएको जानकारी अनुसार गाविसबाट प्रति परिवार ८ किलो चामल बितरण गरिएको थियो । तर त्यो खान योग्य नै थिएन । चामल सँडिसकेको रहेछ । जिविसमा आएको राहत दलिय भागवन्डामा वितरण भईरहेको स्थानियबासिले गुनासो गरेका छन् ।

पहुँच हुनेले एउटा घरमा १२ वोरा चामल समेत राखेको भेटिएको छ । २ सय ४६ जनसंख्या रहेको यस गाउका ५ जना पुरिएको अबस्थाबाट उद्धार गरिएको थियो । मानिसहरु जोगिए पनि बस्तुभाउहरु भने जोगिएन । ठूलो मात्रामा मरेका छन् । गोरखाका अन्य गाउहरु आरुअरबाङको जेल्बुङ लगायत भोगटेनि, अरबाङ क्षेत्रहरुमा पनि पर्याप्त मात्रामा राहत नपुगेको स्थानिबासीहरुले बताएका छन् ।
गोरखाकै मिरकोट गाबिसका, लामागाउ, कुमालगाउ, राम्चे मोहरिया लगायत गाउहरुमा लगभग ५ सय घरधुरीहरु छन् । ति मध्ये ५ प्रतिशत बाहेक सबै ध्वस्त छन् । स्थानियबासिहरु अहिले पनि पाखामा पाल टाँगेर आश्रय लिईरहेका छन् । पर्याप्त राहतको अभाबमा मिरकोटबासिहरु अभाबको जीन्दगी बाँचिरहेका छन् ।
त्यस्तै काभ्रेपलाञ्चोकका गैरिबिसौनि, नयागाउँ, देबपुर, साँखुपाटीचौर र दोलखाका सिंगटि, भिरकोट, झापे, नाम्दु, मालु, सुनाखानी गाउहरुमा पनि राहतको तत्काल आबश्यकता भएको स्थानियबासिहरुले माग गरेका छन् ।

Be the first to comment on "राहत कुरिरहेका गाउ"

Leave a comment

Your email address will not be published.


*