यादबको योजना

x

इन्टरनेटको दुनियाँ चहार्ने क्रममा एक दिन यादव भट्टराईले विश्वव्यापी नेपाली विद्यार्थी संगठन (डब्लुएनएसओ) को वेबसाइट फेला पारे। नवलपरासीका यी युवाले फेला पारेको उक्त संस्था विद्यार्थीहरूप्रति नै लक्षित थियो। उक्त वेबसाइटको विद्यार्थी चौतारी फोरममा पढाइ, जागिर, छात्रवृत्ति, शैक्षिक अवसरहरू, अध्यागमनको नियम, विभिन्न देशको भिसा प्रक्रिया एवं जीवनशैली समेटिएको थियो।

यादवको रुचिकै विषय ठ्याक्कै मिल्न गयो। उनले उक्त संस्थामा एक वर्षसम्म स्वयंसेवा गरे। काम गर्दै गएपछि उनलाई कार्य समिति सदस्य बन्ने प्रस्ताव आयो। दुई वर्ष अनुभव बटुलेपछि त उनी त्यसको उपाध्यक्षसमेत भए। संसारका २० वटा देशमा सञ्जाल विस्तार भएको विश्वव्यापी नेपाली विद्यार्थी संगठन (डब्लुएनएसओ) संसारभर छरिएर रहेका विद्यार्थीहरूको छाता संगठन हो, जसले संसारभर अध्ययनरत नेपाली विद्यार्थीहरूलाई गोलबद्ध गरेको छ। यो संस्था विदेशमा अध्ययन गर्न चाहनेहरूलाई सही, भरपर्दो, यथार्थपरक सूचना दिने, स्वदेश तथा विदेशमा शैक्षिक अवसरहरू प्रदान गर्ने, विदेश पुगिसकेकाहरूको समस्या समाधान गर्ने काममा अग्रसर छ। अहिले यादवले त्यही संस्थाको अध्यक्ष पद सम्हालिरहेका छन्।

Read More – यादव पेसाले सिभिल इन्जिनियर हुन्। राजधानीकै एक इन्जिनियरिङ कम्पनीमा उनी परामर्श दिने काम गर्छन्। उनी मनले रोजेको कर्ममा रमाइरहेका छन्। त्यसैले होला, संस्थाकै लागि उनी दिनरात खटिरहेका हुन्छन्। ‘संसारका हरेक कुनामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू नठगिउन्।’ हालैको चिसो बिहानी नयाँ बानेश्वरको एक क्याफेमा कफी सुरुप्प पार्दै उनले मुख खोले, ‘बाहिर जान खोज्नेहरूलाई सही सूचना दिनु र गैसकेकाहरूको समस्या सुल्झाउनु हाम्रो कर्तव्य पनि हो।’

अध्ययनका लागि विभिन्न देशमा पुगेका नेपाली विद्यार्थीहरूको पहलमा १३ वर्षअघि बेलायतमा खोलिएको विश्वव्यापी नेपाली विद्यार्थी संगठन (डब्लुएनएसओ) मा आबद्ध भएपछि यादवले धेरै कुराको अनुभव बटुलेका छन्। अनलाइन टुल्सहरू फेसबुक, टि्वटर, काउच सफिर्ङ, स्काइप, आइडियालिस्ट आदिको उपयोग गरेर उनले पर्याप्त फाइदा लिएका छन्। प्रविधिको प्रयोगले उनलाई विभिन्न मुलुक पुर्‍याएको छ। इन्टरनेटकै माध्यमबाट चिनजान भएका इटालियन विद्यार्थी निकोलो बजेवडाको सहयोगले उनी सन् २००८ मा दक्षिण अफ्रिकाको केपटाउन पुगे। उक्त कार्यक्रम स्टुडेन्ट प्लेटर्फम फर इन्जिनियरिङ एजुकेसन डेभलप्मेन्ट -स्पिड) नामक विद्यार्थी संस्थाले आयोजना गरेको थियो। त्यो कार्यक्रमका लागि केपटाउन पुग्दा उनको धारणा नै परिवर्तन भयो। ‘दक्षिण अफ्रिकामा हामीले सोचेजस्तो गरिबी, अशान्ति एवं पछौटेपन देखिएन,’ उनले भने- ‘युरोपेली मुलुकजस्तै भौतिक पूर्वाधार सम्पन्न रहेछ। पर्यटकहरूको कमी देखिएन।’

केपटाउन घुमेको अर्को वर्ष यादव हंगेरी पुगे। दस देशका युवाहरूको अनलाइन मिटिङपछि हंगेरीमा कार्यक्रम आयोजना गरिएको थियो। संसारभर इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूबीच सम्पर्क बढाउन उक्त कार्यक्रम गरिएको थियो। केही देश घुमघाम गरेपछि उनलाई अन्यत्रबाट पनि निम्तो आउन थाल्यो। सन् २०१० मा जर्मनीको फ्र्यांकर्फटमा आयोजित अन्तर्राष्ट्रिय विद्यार्थी सम्मेलनमा उनलाई नेपालको शिक्षा प्रणालीका बारेमा कार्यपत्र प्रस्तुत गर्न बोलाइयो। ‘त्यहाँ विकासको चरम रूप देख्दा हाम्रो देश यस्तो कहिले बन्ने होला भन्ने लाग्छ,’ त्यो क्षण सम्भि“mदै उनले भने।

यादव हरेक पटक विदेश पुग्दा दौरा, सुरुवाल र साथमा ढाका टोपी लगाउन भुल्दैनन्। सन् २०११ मा नर्वे पुग्दा उनले लगाएको दौरा, सुरुवालको खुब प्रशंसा भएको सम्झन्छन्। ‘गर्व महसुस भयो।’ अनुहारमा चमक ल्याउँदै भट्टराईले सुनाए- ‘हाम्रो पहिरन सबैभन्दा फरक देखिँदो रहेछ।’ उनको सबैभन्दा बढी स्मरणीय घुमघाम पनि नर्वेकै रह्यो। द इन्टरनेसनल स्टुडेन्ट फेस्टिबल इन् ट्रोन्डेहिम कार्यक्रममा नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका यादवलाई बेग्लै अनुभूति भयो। विद्यार्थीमैत्री सहर भनेर चिनिने ट्रोन्डेहिममा विद्यार्थीहरूलाई होस्टलमा नराखिने रहेछ। स्थानिय नर्वेजियनहरूको घरमा राखेर त्यहाँको कला, संस्कृति, इतिहास, पर्यटन, राजनैतिक व्यवस्थाका बारेमा सिकाइने चलन रहेछ। घरमा बस्ने पाहुनाको देशका बारेमा पनि नर्वेजियनहरू त्यसरी नै जान्न खोज्दा रहेछन्। ‘उनीहरू एकदमै सहयोगी र मानवीय लागे।’ यादवले त्यहाँ बस्दाको अनुभव सुनाए- ‘एकदमै अमिट छाप बस्यो। त्यही बसिरहूँ लाग्न थाल्यो।’

विदेश घुमघामले त्यहाँको विकास, सम्पन्नता, धर्म, संस्कृति, शिक्षालगायत धेरै कुरा सिकाउनुका साथै आफूलाई निखार्न मद्दत गर्छ भन्नेमा यादव विश्वस्त छन्। फुर्सदमा उनी घुम्न नै मन पराउँछन्, कि त नयाँ-नयाँ पुस्तक पढेर, चलचित्र हेरेर  समयको सदुपयोग गर्छन्। बिहान चिया वा कफीपछि पत्रपत्रिका पढ्ने बानी छ। होन्डाको मोटरसाइकल उनको साथी भएको छ। त्यसमै हुइँकिदै घर, अफिस र काम परेको ठाउँमा पुग्छन्। विशेष गरी उनलाई टिसर्ट र पाइन्ट मनपर्छ। पार्टीहरूमा सुट-बुट कहिल्यै छुट्दैन। रेस्टुराँमा मेनु हेरेर जेसुकै अर्डर गरे पनि दाल, भात, तरकारीको जस्तो स्वाद उनी अरू परिकारमा भेट्टाउँदैनन्।

Be the first to comment on "यादबको योजना"

Leave a comment

Your email address will not be published.


*