मनोमानी ढंगले घर बनाउनुभएन

 

 प्रमोद न्यौपाने, इन्जिनियर

यो भुइँचालोले नेपाललाई धेरै पाठ सिकायो । घर बनाउँदा सर्वसाधारणदेखि सबैले ख्याल गर्नैपर्ने धेरै कुरा छन् । यो महाविपत्तिपछि हाम्रो मुलुकमा सडक संरचना, विद्युत्, टेलिफोन, एयरपोर्ट, इन्टरनेट सेवा सुचारु भएकाले काम गर्न सहज भयो । यीमध्ये कुनै एउटा मात्र बन्द हुन्थ्यो भने ठूलो अझ ठूलो विपत्ति आइलाग्थ्यो ।

Pramod Neupane

Pramod Neupane

मैले क्षतिग्रस्त काठमाडौंका उपत्यकाका ३ सय ५० घरहरूको परीक्षण गरें । मेरो घर बालाजु आसपासका क्षेत्रदेखि थेचो, सातदोबाटो, सुन्दरीजल, बौद्ध, गोंगबु, कपनलगायत अन्य धेरै ठाउँ पुगें । धेरै अग्ला–अग्ला घरहरू ढलेको पाइयो । सुरुमा नक्सा पास गर्दा दुईतले घर बनाइएको पछि त्यसैलाई सात तलासम्म बनाइएको पाइयो । सुरुमा आफू मात्र बस्न बनाइएको घर पछि त्यो ठाउँ व्यापारिक क्षेत्रमा परिणत भएपछि अग्ला महलमा परिणत गरिए । घरधनीहरूमा बढी पैसा कमाउने लोभ बढ्यो । यसरी मापदण्डविपरीत बनाइएका घर नै बढीजसो ढलेको देखियो । धेरैजसोले घर बनाउँदा कमसल डन्डी, रोडा, बालुवा र मिक्सिङ प्रयोग गरेको पाइयो । घरको जगमा पानी जान दिनु हुँदैनथ्यो । अग्ला र लडेका घरहरूमा अगाडिपट्टी ढल भेटियो । घर बनाउँदा इन्जिनियरहरूको सुझाव लिएको खासै भेटिएन । ठेकेदारहरूले जे–जे भने त्यहीअनुसार घरधनीहरूले घर बनाए । इन्जिनियरसँग सम्पर्क नै नगरी घर बनाउँदा अहिले ठूलो क्षति बेहोर्नुपर्‍यो । इन्जिनियरिङको भाषामा डिके (कुहिएर झर्ने क्रम) भएका घरहरूको आयु कम हुन्छ । घरमा प्रयोग भएका सरसामानहरू, उपकरणहरू समय बित्दै गएपछि कुहिँदै जान्छन् । त्यहाँ दुर्घटनाको सम्भावना बढी हुन्छ । गोंगबु क्षेत्रमा बढीजसो क्षति भएको पाइयो । त्यसको पनि कारण छ । त्यहाँ दुईतले घरहरूमाथि थप तला थपेको भेटियो । अन्यत्रभन्दा त्यस क्षेत्रको माटो पनि कमजोर छ, जसले गर्दा ठूलो क्षति भयो । नक्सा पास गरेका, भवन निर्माण निर्देशिकाले भनेका कुरा पालना गर्ने घरहरू भने सुरक्षित भएको पाइयो ।

आवासीय प्रयोजनका लागि भनेर स्वीकृति लिने तर व्यापारिक प्रयोजनका लागि घरहरू बनाइएको पनि पाइयो । ठेकेदार, घरधनीहरूले यसरी मनोमानी ढंगले भवनहरू बनाए । क्षति हुनमा त्यो पनि एक प्रमुख कारण हो । धेरै ठाउँमा गेट, पर्खालहरू समेत ढलेको पाइयो । तिनलाई बिनाआधार ठिङ्ग उभ्याइएकाले ढलेका हुन् । यिनलाई बाँध्ने कुरा पनि हुन आवश्यक छ, तर कतै त्यस्तो गरेको देखिएन । सहर यी र यस्तै कारणले पनि जोखिममा छ । हेर्दै जाँदा कतै घरको, कतै कार्यालयको पर्खाल भत्किएको भेटियो । भत्किएका त्यस्ता पर्खाल हटाएर बस्न खासै डराउनु पर्दैन, तर धेरै मानिस आतंकित भएको देखिन्छ ।

सनराइज टावरमा ८ सय परिवार र काठमाडौं रेसिडेन्सीमा २ सय परिवार बसिरहेका छन् । ती बस्न योग्य छैनन्, तर भवनहरू तत्काल भत्काइहाल्नु भने पर्दैन । मेरुदण्ड नै भाँचिएको हो कि औंला भाँचिएको हो त्यो कुरा बुझेर मात्र नयाँ भवन बनाउनतिर लाग्नुपर्छ । पद्मा कोलोनीको जस्तो अवस्था अन्यत्र कमै देखियो । यहाभित्र रहेका ९६ वटा घरमध्ये कुनै पनि बस्न योग्य रहेनन् । भिरालो जग्गामा अव्यवस्थित ढंगले बनाएकाले त्यस्तो क्षति हुन गयो । यहाँको माटो परीक्षण गरेर, जग हेरेर त्यही अनुसार घरको जग हाल्नुपर्ने थियो, तर ती कुनै कुरामा पनि ख्याल गरेको पाइएन ।

राजधानीका सपिङ मल, कम्प्लेक्सहरू चर्किएका छन् ।

रातारात तिनलाई टाल्ने काम भैरहेको छ, तर त्यो सही समाधान होइन । बाहिर टालेर मात्र हँुदैन । तिनले बढी भार थाम्न सक्दैनन् । त्यस्तोमा अझ दुर्घटनाको सम्भावना हुन्छ । अति सामान्य चर्किएका घरहरू छन् भने बस्न योग्य हुन्छन्, तर पूरै प्वाल परेको छ, हात नै छिर्ने खालका, इँटा फुटेका छन् भने बस्न योग्य मानिँदैन । तत्काल भत्काएर अर्को बनाउन हतारिनु पनि हुँदैन । राष्ट्रिय सम्पदाहरू बनाउन पनि त्यति हतारिनु आवश्यक छैन । विस्तृत अध्ययनपछि बिस्तारै बनाउँदा हुन्छ । स्मारकहरू खुला ठाउँमा बनाउनुपर्छ । तिनलाई व्यापारीकरण गरिनु हँुदैन ।

दुई तला नक्सा पास गरेर, त्यसमाथि तलाहरू थपेको, भवन निर्माण निर्देशिकाको नियमविपरीत गएको, दुई घरहरू जोडिएको छ भने त्यसलाई मापदण्डविपरित गएको मानिन्छ । घर निरीक्षण गर्दै जाने क्रममा हामीलाई पर्याप्त मात्रामा उपकरणहरूको कमी महसुस भयो । किन्ने हो भने एउटै उपकरणको २५–२६ लाख रुपैयाँसम्म पर्छ । ती मेसिन हामीसँग भैदिने हो भने वास्तविक कुरा पत्ता लगाउन ठूलो सहयोग मिल्छ । चर्किएका, भत्किन लागेका घरहरूमा ती मेसिन राखेर जाँच्ने हो भने अब कति क्षति हुने सम्भावना रहन्छ, त्यो कुरा ठ्याक्कै पत्ता लाग्छ । हामीसँग महँगा उपकरणहरू छैनन् । काम गर्न असहज भैरहेको छ ।

बेलायतको सेफिल्ड विश्वविद्यालयमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गर्दा मलाई पढाउने प्रोफेसरहरूसँग नियमित सम्पर्कमा छु । उहाँहरूले पनि निकै चासोपूर्वक नजिकबाट हाम्रो काम र नेपालको भूकम्पलाई हेरिरहनुभएको छ । हामीलाई आवश्यक सुझाव, सल्लाह निरन्तर दिइरहनुहुन्छ । थप काम गर्नमा यसले हामीमा अझ उत्साह र उर्जा मिलेको छ । मेरा अन्य साथीहरू जसले विदेशी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङबाट डिग्री लिएका छन्, सबैजना आ–आफ्नो प्रोफेसरहरूसँग नियमित सम्पर्कमा छन् । यस्तो बेला विज्ञको सुझाव, सल्लाह पनि धेरै नै उपयोगी भैदिन्छ ।

(स्टक्चरल इन्जिनियरन्यौपानेसँग नरेन्द्र रौलेले गरेको कुराकानीमा आधारित ।)

Be the first to comment on "मनोमानी ढंगले घर बनाउनुभएन"

Leave a comment

Your email address will not be published.


*