‘भगवानले व्रत नबस पो भनेको हो कि ?’ – शर्मिला मल्ल (नायिका)

image

तीजले झपक्कै छोपिसकेको छ। महिनौंदेखी टेलिभिजन र एफएम रेडियोमा तीजका गीतहरू घन्किन थालिसकेका छन्। टोलटोलका तीज कायर् क्रमहरूमा झिलिमिली देखिन्छ। रातो पहिरन, हरिया चुरा र गरगहनामा सजिएका थुप्रै नारी दिल खोलेर नाचगानमा डुबेका छन्। नेपाली नारीहरूको महान् चाड तीज बडादसैंभन्दा ठूलो चाड मानिन्छ। विवाहित नारीहरू आफ्ना श्रीमान्को दीर्घायुका लागि र अविवाहितहरू राम्रो श्रीमान् पाऊँ भनेर व्रत लिन्छन्, तर यो भीडमा केही यस्ता नारी पनि छन् जोimageव्रत लिँदैनन्। मनमनै श्रीमान्को दीर्घायु, प्रगति एवं सुख-समृद्धिको कामना गर्छन्। झन्डै ६० वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका शर्मिला मल्ल व्रत नबस्ने महिलामध्ये एक हुन्। उनी भोकभोकै व्रत लिनु त्यति उचित नहुने धारणा राख्छिन्। कुनै काम गर्दा मन र आत्मैदेखि गर्नुपर्छ भन्ने सोच छ मल्लको। तीजको सेरोफेरोमा शर्मिला मल्लसँग साप्ताहिककानरेन्द्र रौलेको जम्काभेटः

तीजले कत्तिको छोएको छ ?

सबैलाई तीज लागिसक्यो, मलाई भने यसको छोएकै छैन। नातेदार तथा साथीभाइहरूले बोलाउन थालिसके, तर खै किन हो, तीज आएको महसुस नै भएको छैन। हुन त यो मेरो व्यक्तिगत कुरा हो।

भनेपछि तीज मनाउने त्यति जाँगर छैन ?

मनाउन त मनाउने। फुपू, मामाका छोरी एवं आफन्तहरूलाई घरमै बोलाउने, असोज १ गते दर खाँदै रमाइलो गर्ने सोच छ। तीजका केही कार्यक्रममा पनि जान्छु होला।

तीजमा व्रत लिनुहुन्न, किन होला ?

जब म व्रत बस्छु, एकदमै भोक लाग्छ। केही खाऊँखाऊँ लाग्छ। भगवानले व्रत नबस पो भनेको हो कि जस्तो लाग्छ। सुरुसुरुमा त तीजमा व्रत नबस्दा श्रीमान् रिसाउनु पो हुन्छ कि भन्ने लाग्थ्यो। मैले उहाँसँग सोधें, सकिएन भने नबस न त भन्नुभयो। त्यसपछि ढुक्क भएँ। मैले व्रत बस्न छाडेको दुई वर्ष भयो। फेरि ईश्वर मान्ने कि नमान्ने भन्ने कुरा आफ्नो आस्था र विश्वासको कुरा न हो। जुन कुरा आफ्नो आत्माबाटै महसुस हुँदैन, त्यो कुरा किन गर्ने ?

जीवनमा पहिले कसैका लागि व्रत बस्नुभयो ?

स्कुल, कलेजमा पढ्दा बसें, भाउजूको लहलहैमा लागेर। त्यो जानेर बुझेर गरिएको काम थिएन। अरू राम्रो पति पाऊँ भनेर व्रत लिन्थे, मचाहिँ देखासिकीमा बसेकी थिएँ। म १५ वर्षकै उमेरमा विवाह-बन्धनमा बाँधिएँ। राम्रो पति पाऊँ भन्ने कुरा मैले सोच्नै परेन।

महिलाहरू व्रत बस्दा पुरुषलाई फाइदा पुग्छ होला ?

विश्वासको कुरा न हो। भगवान छन् कि छैनन्, कसलाई थाहा ? सबैको आ-आफ्नो विचार होला। व्रत बस्ने कुरा फाइदा, बेफाइदाभन्दा पनि भावनाको कुरा हो। यसले पुरुषलाई भन्दा महिलालाई नै फाइदा पुग्छ जस्तो लाग्छ।

भड्किलो तीज मनाउनेहरूलाई के भन्नुहुन्छ ?

यो नकारात्मक प्रवृत्ति हो। चाड मन र आत्माले मनाउनुपर्ने हो तर यहाँ त भौतिक प्रतिस्पर्धा भैरहेको छ। अरूको लहलहैमा लाग्नु हुँदैन। महँगा गहना, पहिरन लगाउने यस्तो प्रतिस्पर्धा उचित होइन। कतिले अरूको मागेर फेसन गर्छन्। यो त केवल ढोंग हो, पाप हो। कसैको कुभलो नचिताउनु नै सच्चा व्रत हो।

Be the first to comment on "‘भगवानले व्रत नबस पो भनेको हो कि ?’ – शर्मिला मल्ल (नायिका)"

Leave a comment

Your email address will not be published.


*