बौलाउनु र आत्महत्या रोज्नुभन्दा लेख्नु उचित – शिव प्रकाश

shiva prakash kurakani

नेपाली डायस्पोरामा रहेर साहित्य सिर्जनामा व्यस्त लेखक हुन्, शिव प्रकाश । हालै सांग्रिला बुक्सले ‘घागी‘ प्रकाशन गरेपछि उनी चर्चामा छन् । यसअघि उनले ‘जैमली‘ कथा–संग्रह प्रकाशनमा ल्याएका थिए । शिव लेखन कर्मसँगै सामाजिक सेवामा पनि सक्रिय छन् । अमेरिकाको बोस्टनमा बस्ने शिव पुस्तक विमोचन गर्न नेपाल आइपुगेका बेला नरेन्द्र रौलेले गरेको कुराकानी :

‘घागी’ कस्तो पुस्तक हो ?
यो पुस्तकमा समेटिएका २२ वटा कथामध्ये ‘मेरो देशको कथा’ र ‘ढिस्को’ बाहेक सबै कथामा नारी पात्र जोडिएका छन् । नारी पात्र जोडिएपछि यौनको कुरा पनि ठोक्किँदो रहेछ । तिनमा हाम्रा जीवनका भोगाइहरू पनि ठोक्किन पुग्दा रहेछन् । कथामा मानव जीवनका यौनिक उथलपुथलहरू उतारिएका छन् अर्थात् यी कथा यौन मनोविज्ञानमा आधारित छन् । यसले नेपाली र अमेरिकी समाज, नेपाली नारी, यौन मनोविज्ञान र पश्चिमेली नारी तथा यौन मनोविज्ञानलाई जोडेको छ ।
‘घागी’ शीर्षक कसरी छान्नुभयो ?
मैले एउटा कथा लेखें, जुन कथा शतप्रतिशत वास्तविकतामा आधारित छ । त्यसको पात्र हो, इर्मा । ईर्मालाई अर्को कुनै नयाँ नाम दिउँ जस्तो लाग्यो । त्यो पात्र पुरुष होस् वा महिला होस्, नामचाहिँ नयाँ हुनुपर्छ भन्ने लाग्यो । सोच्दा–सोच्दा मनमा ‘घागी’ भन्ने शब्द आयो । निकै गमेपछि यही शब्द उपयुक्त लाग्यो ।
‘घागी’ को अर्थ के हो ?
त्यसको अर्थ पत्ता लगाउन भने पुस्तक पढ्नैपर्छ ।

shiva prakash kurakaniपुस्तक लेखेर सिध्याउन कति समय लाग्यो ?
यी साढे दुई वर्षभित्र लेखिएका कथा हुन् । धेरै पटक पुनर्लेखन पनि गरियो । पुनर्लेखन नगरी राम्रो पुस्तक नै बन्दैन ।

तपाईको प्रिय विधा कुन हो ? 

कथा नै हो । आफैंले कथा लेख्ने भएर यो विधा मन पर्छ । कथामा आफ्नो कुरा मजाले व्यक्त गर्न सकिन्छ । कथामा दोहोरो अभिव्यक्ति दिन सकिन्छ । आफ्ना कुरा विभिन्न पात्रका माध्यममा लेख्न सकिन्छ । दोस्रोमा उपन्यास मन पर्छ । म काल्पनिकभन्दा यथार्थमा आधारित पुस्तक बढी पढ्छु । कविता, निबन्ध लेख्न जान्दिनँ जस्तो लाग्छ । पाठकले कुनै सिर्जना पढ्दा सत्यताको केही अंश पाउन् भन्ने मान्यता राख्छु ।
कुनै पढ्नैपर्ने पुस्तक ?
हामी आफू सुध्रिनुपर्ने खाँचो छ । आफूलाई सुधार्ने हो भने उपनिषद् तथा गीता अमूल्य निधि नै हुन् । भगवान् मान्न, धर्म पालना गर्नका लागि होइन, आफूलाई सुधार्न पढ्नैपर्ने पुस्तक हुन् यी ।

 

राम्रो लेखन भनेको के हो ? केले राम्रो लेखक बनाउँछ ?
म राम्रोभन्दा पनि के लेखें भन्ने कुरामा बढी ध्यान दिन्छु । राम्रो–नराम्रो त अरूले भन्ने हो । एउटा लेखकभित्र दुईवटा मानिस हुन्छ । लेखक आफ्नो पहिलो पाठक पनि हो । लेख्नुपर्ने कुरा लेखें भने म सन्तुष्ट हुन्छु । मेहनत र पुनर्लेखनले राम्रो लेखक बनाउँछ ।

 

किन लेख्नुहुन्छ ?
फ्रान्सेली लेखक मोलियर लेखनलाई वेश्यावृत्तिसँग दाँज्छन् । ‘लेखन एक प्रकारको वेश्यावृत्ति हो । जो सबैभन्दा पहिले प्रेमका लागि लेखिन्छ । त्यसपछि केही नजिकका साथीका लागि र अन्त्यमा पैसाका लागि ।’ म भने प्रेम र घृणा दुवैका लागि लेख्छु ।

अहिलेसम्म जति लेखें त्यति पनि लेख्न नसकेको भए म कि बौलाउँथें, कि आत्महत्या रोज्थें । बौलाउनु र आत्महत्या रोज्नुभन्दा लेखेर संकट मोल्नु उचित मानें । तपाईंको अखबारी लेखन र साहित्यमा राजनीति, साहित्य, समाज, धर्म, अध्यात्म सबै विषय भेटिन्छ । एकै पटक सबै

विषय कसरी लेख्न सक्नुहुन्छ ?
म लेख्न चाहेको विषयमा म अध्ययन गर्छु । लेखेर मात्र भएन, त्यसलाई प्रमाणित गर्ने उदाहरण पनि दिनुपर्छ । लेख्न लागेको विषयमा खोज, अनुसन्धान एवं अध्ययनपछि मात्र लेख्छु । जे पायो त्यही लेख्दिनँ । यसले गर्दा राम्रा पाठकहरू कमाएको छु ।

 

लेख्नका लागि समय कसरी मिलाउनुहुन्छ ?
लेखनमै बढी केन्द्रित हुँदा घरमा झगडा त हुन्छ, तर लेख्नका लागि समय मिलाउन सकिन्छ ।
नयाँ लेखकहरूलाई कस्तो सुझाव दिनुहुन्छ ?
कतिपयमा लेख छापिएन भने गाली गर्ने, चिन्तित हुने स्वभाव हुन्छ । एक ठाउँमा छापिएन भने अर्को ठाउँमा छापिन्छ तर लेख्न भने छाड्नु हुँदैन । लेख्नेबित्तिकै छापिहाल्नुपर्छ भन्ने पनि छैन । लेखक हुन धैर्यता समेत चाहिन्छ ।