बंगलादेशमा नेपाली विद्यार्थीहरू

अध्ययनका लागि नेपाली विद्यार्थीहरूको छनौटमा प्राय:जसो युरोपेली मुलुक नै पर्छ । धेरै नेपाली विद्यार्थीले लाखौं खर्च गरेर विदेशी विश्वविद्यालयमा पढ्ने सपना पाल्छन् । तुलनात्मक रूपमा एसियाली मुलुकहरूमा पढ्न जानेहरूको त्यति चर्चा भएको पाइँदैन । नेपालबाट नजिकै रहेको बंगलादेशमा अहिले झन्डै ४ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

बर्सेनि कम्तीमा ५ सय विद्यार्थी अध्ययनका लागि बंगलादेश पुग्छन् । नेपालस्थित बंगलादेशी राजदूतावासका हेड अफ चान्सिरी एमडी बारिकुल इस्लामका अनुसार गत वर्ष मात्र १ हजार नेपाली विद्यार्थी अध्ययनका लागि बंगलादेश पुगे । मेडिकल अध्ययनका लागि नेपालीहरू चीन, फिलिपिन्स, भारत, पाकिस्तान र रूस जाने गरेका छन् । अहिले ती सबै देशभन्दा बंगलादेश जानेहरूको संख्या बढी छ । किनभने बंगलादेशको पढाइ अन्यत्रभन्दा सस्तो छ । शिक्षाको गुणस्तर पनि त्यहाँ अन्यत्रभन्दा राम्रै मानिन्छ । सहजै पुग्न सकिने र त्यहाँको रहनसहन नेपाली परिवेशअनुरूपकै भएकाले बंगलादेश नेपालीहरूको छनौटमा परेको हो ।

बंगलादेशको पढाइ

राकेश शाह पहिलो पटक सन् २००६ मा सार्क कोटाको छात्रवृत्तिमा एमबीबीएस पढ्न बंगलादेश गएका थिए । अहिले बंगलादेशमा हरेक वर्ष १२ जना नेपालीले सार्क कोटाको छात्रवृत्ति पाउँछन् । यो छात्रवृत्ति मेडिकल विषयमा मात्र पाइन्छ । सिल्हेट एमएजी उस्मानी मेडिकल कलेजमा अध्ययन गरेका राकेशले सन् २०१२ मा आफ्नो अध्ययन पूरा गरे । बंगलादेशमा सरकारी कलेजमा पढ्न पाउनु ठूलो कुरा हो । राकेश भन्छन्, ‘प्राइभेट कलेजमा कुनै न कुनै कुराको कमी हुन्छ ।’ बीएसएमएमयुमा एमएस (मास्टर्स इन् सर्जरी) मा अध्ययनरत डा. राकेशको अनुभवमा २–३ महिनासम्म कहाँ आए, किन आए भनेर पछुतो पनि हुन्छ ।

भाषा, खानपिन, पढाइको तरिका तथा रहनसहनको समस्या हुन्छ । पछि बानी पर्छ, गारो हुँदैन । नेपालीहरूबीच भेटघाट हुन्छ, कार्यक्रम, अन्तरक्रिया भैरहन्छ, रमाइलो हुन्छ । स्थानीय साउथ एसियन म्युजिक इन्सिट्च्युटले बेलाबेलामा कार्यक्रमहरू आयोजित गरिरहन्छ । त्यस्ता कार्यक्रममा नेपाली गीत–संगीत पनि बजाइन्छ, जसले नेपाली विद्यार्थीहरूलाई ठूलो राहत दिन्छ ।
बंगलादेशका सरकारी अस्पतालमा जुनसुकै बिरामीको औषधि–उपचार नि:शुल्क हुन्छ । पैसा लिए पनि कमै लिन्छन् । त्यहाँ २३ वटा सरकारी मेडिकल कलेज छन् । त्यहाँबाट उत्तीर्ण हुन पढ्नैपर्छ, नपढी सुखै छैन । अरूले सोचे जस्तो सजिलो भने छैन, लगभग दिनहँुजसो परीक्षा हुन्छ, क्लास टेस्ट भैरहन्छ । आज पढाएको पाठ सकेपछि, भोलिपल्ट परीक्षा हुन्छ । त्यसैले नियमित तयारी नगरी सुखै छैन ।

बंगलादेशमा शुक्रबार बिदा हुन्छ । विद्यार्थीहरू बिहीबार रमाउँछन् । किनभने त्यो दिन परीक्षा हुँदैन । ५ वर्षे मेडिकल कोर्समा १ वर्ष इन्टर्न गर्नुपर्ने व्यवस्था छ । त्यहाँको सरकारी विश्वविद्यालयमा ६ महिनाको ५ सय रुपैयाँ मात्र तिर्नुपर्छ । होस्टेल, कलेज, लाइब्रेरी, ल्याब सबै शुल्क यसैभित्र पर्छ तर प्राइभेट विश्वविद्यालयमा पैसा तिरेर पढ्ने हो भने ३० देखि ४० लाख रुपैयाँसम्म लाग्न सक्छ । पहिले छात्रवृत्तिको १२ सिटमा नेपालको स्वास्थ्य मन्त्रालयले ६ वटा तथा बंगलादेशको दूतावासले ६ वटा सिट पठाउँथ्यो । अहिले १२ वटै सिट दूतावासले पठाउने गरेको छ ।

जनकपुरकी मनीषा कुमारीले ढाका विश्वविद्यालयबाट द्वन्द्व तथा शान्ति विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरिन् । बंगाली भाषा हिन्दी र नेपालीसँग मिल्ने भएकाले उनलाई भाषाको कठिनाइ भएन । संस्कृति पनि धेरैजसो मिल्छ । मुस्लिम देश भए पनि त्यहाँ हिन्दु र बौद्धहरू पनि ठूलो संख्यामा छन् । दसैं, तिहार, छठ, इद जस्ता चाडहरू त्यहाँ पनि मनाइन्छ । ‘समुद्रको किनारमा त्यसै रमाइलो हुन्छ ।’ मनीषा भन्छिन्, ‘त्यहाँको बिरयानी र चिकेन ग्रिल एकदमै मीठो लाग्छ ।’ बंगलादेशको पढाइप्रति उनी सन्तुष्ट छिन् ।

मनीषालाई बिजनेस स्टडिजभन्दा द्वन्द्व तथा शान्ति विषय राम्रो लाग्यो । पिस बिल्डिङ, पिस किपिङ, अन्तर्राष्ट्रिय संघसंस्थाहरू, ह्युम्यानिटेरियन ल आदिका सम्बन्धमा उनले विस्तृत ज्ञान पाइन् । उनलाई एनजीओमा जागिर खाने रहर छ । मनीषालाई आफूले पढेको विषयले त्यसमा सहयोग पुग्ला जस्तो लाग्छ । यो विषय पढिरहेका उनका साथीहरू सरकारी तहमा काम गर्न गैसकेका छन् ।

मनीषाले एकवर्षे कोर्सका लागि ७० हजार रुपैंयाँ खर्चिएकी थिइन् । ‘कोर्स सकिनचाहिँ डेढ वर्ष नै लाग्यो ।’ उनले भनिन्, ‘होस्टेल खर्च मासिक ५ सय टाका (६ सय नेपाली रुपैयाँ) तिर्नुपर्छ । मासिक २२ सय रुपैयाँ खाना खर्च लाग्छ । उनले जनकपुरको रारा बहुमुखी क्याम्पसबाट बीबीएस पूरा गरेपछि ढाकाको युनिभर्सिटी अफ एसिया प्यासिफिक, ढाकाबाट एमबिएको अध्ययन पूरा गरेकि थिईन् । पैसा तिरेरै अध्ययन गरेकी मनिषाले २ वर्षभन्दा बढी बंगलादेशको रेडियोमा काम गरिन् । त्यहाँ उनी हिन्दी भाषामा कार्यक्रम चलाउँथिन् । त्यसबापत प्रतिकार्यक्रम सुरुमा ३ सय र पछि ४ सय टाका पारिश्रमिक पाउँथिन् ।

बंगलादेशमा मेडिकलबाहेक इन्जिनियरिङ एवं आमसञ्चार तथा पत्रकारिताका लागी पनि राम्रो शैक्षिक वातावरण छ । यद्यपि आम विद्यार्थीहरूसम्म त्यससम्बन्धी सूचना पुग्न सकेको छैन । राजदूतावासले सिधै सूचना निकाल्दैन । अरु विषयका बारेमा त्यति जानकारी नभएपछि विद्यार्थीहरू जाने आधार नै बन्दैन ।

बंगलादेशको बंगलादेश युनिभर्सिटी अफ इन्जिनिरिङ एण्ड टेक्नोलोजीमा अध्ययनरत इन्जियिनरिङका विद्यार्थी बिपिन गुप्ता पनि त्यहाँको बसाइप्रति सन्तुष्ट छन् । हावापानी नेपालको तराईसँग मिल्दोजुल्दो छ । संस्कृति तथा चाडबाड आदि पनि मिल्छन् । ‘नेपालमा बसे जस्तै हुन्छ ।’ बिपिन भन्छन्– बंगलादेशको सबैभन्दा ठूलो चाड इद हो । बंगलादेशमा मुस्लिमहरूको बाहुल्यता भए पनि हिन्दु, बौद्धहरू उल्लेख्य संख्यामा छन् ।

त्यहाँ नेपालीहरूले बंगलादेशी र बंगलादेशीहरूले नेपालीसँग घरजम गरेका छन् । दाल, भात, तरकारी तथा अचारका लागि बंगाली र नेपाली भाषामा एउटै शब्द प्रयोग हुन्छ । नेपालीहरू बंगलादेशमा आफ्नै खर्चमा पनि पढ्न सक्छन् । बंगलादेशको पढाइ नेपालको भन्दा सस्तो मानिन्छ । बंगलादेशमा किस्तामा पैसा तिर्न पाईने ब्यबस्था पनि छ । बंगलादेशमा कोठाको समस्या हुँदैन । प्राय: कलेजहरूले नै सस्तो होस्टलको व्यवस्था गरिदिन्छन् ।
भिसा

पहिलोपटक बंगलादेश जाने जो कोहीलाई फ्री भिसा दिइन्छ । विद्यार्थीहरूको हकमा भने फरक नियम छ । १५ डलर तिरेपछि ६ महिनाका लागि भिसा दिइन्छ । हरेक वर्ष १५ डलर तिरेर भिसा रिन्यु गराउनुपर्छ । ५ वर्षको फी एकैपटक तिरेर पनि भिसा लिन सकिन्छ । सन् २०१३ मा बंगलादेशले नेपालीहरूलाई भिसा रिन्यु गरेको १ सय डलर लिएको थियो । विश्वव्यापी नेपाली विद्यार्थी संगठन, (डब्लूएनएसो) बंगलादेशले त्यसको बिरोध गर्‍यो । त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको हस्ताक्षर संकलन गरेर नेपालस्थित राजदूतावासमा बुझाएपछि भिसा शुल्क फेरि १५ डलर नै बनाइयो ।

बंगलादेशमा नेपाली संघसंस्था

बंगलादेशमा विश्वव्यापी नेपाली विद्यार्थी संगठन (डब्लूएनएसो) सक्रिय छ । हरेक वर्ष नेपाली विद्यार्थीहरू भेला भएर डिजे पार्टी, सांस्कृतिक कार्यक्रम, फुटबल प्रतियोगिता आदि आयोजित गरिन्छ । समस्यामा परेका नेपालीहरूलाई सुझाव, सल्लाह, सहयोग गर्नुका

साथै छात्रवृत्तिका सम्बन्धमा जानकारी गराउने, त्यसको प्रक्रियामा सहयोग गर्ने काम पनि संगठनले नै गर्छ । नेपाल स्कलरसिप फाउन्डेसनले पनि यो विषयमा सूचना प्रदान गर्दै आएको छ ।

सही सूचनाको अभाबमा बर्सेनि नेपाली विद्यार्थीहरू एजेन्ट र कन्सल्ट्यान्सीबाट ठगिएका छन् । यहाँ एउटा कलेज भनेर लिने उता गएपछि अर्कै कलेजमा भर्ना गरिदिने घटनाहरू दोहोरिएका छन् । ढाका भनेर लग्ने उता पुगेपछि अन्यत्रका कलेजमा भर्ना गरिदिने पाइएको छ । विश्वब्यापि नेपाली विद्यार्थी संगठन (डब्लूएनएसो) का अध्यक्ष यादब भट्टराई भन्छन्– सही सूचना लिएर बंगलादेश जानु राम्रो हुन्छ । नेपालबाट हवाईमार्ग हुँदै सीधै बंगलादेश पुग्न सकिन्छ । लगभग ३० हजार रुपैयाँमा आउन जान सकिन्छ । सडकमार्गबाट पनि बंगलादेश जान सकिन्छ । काँकडभिट्टाबाट सिलीगुढी हुँदै बंगलादेश पुग्न सकिन्छ । सडक मार्गबाट बढीमा ५ हजार रुपैयाँ लाग्छ ।


बंगलादेशमा घुम्नलायक ठाउँहरू

संसारकै सबैभन्दा लामो समुद्री किनार कक्स बजार बंगलादेशमै छ । भारतका सिलेट पहाड, सिलोङ, चेरापुञ्जी पनि बंगलादेशबाट नजिकै छ । त्यहाँको सुन्दरवन डेल्टा पाटेबाघका लागि विश्वप्रसिद्ध छ । सोही ठाउँका कारण पाटेबाघलाई अंग्रेजीमा रोयल बंगाल टाइगर भनिएको हो ।

गत २ वर्षमा कति नेपाली विद्यार्थी बंगलादेश पुगे ?

२०१३/२०१४ सेसन

सरकारी मेडिकल कलेज    २१

बीएसएमएमयु    ३७

प्राइभेट मेडिकल कलेज    १७४

अन्य विषयमा    ५४

जम्मा    २८६

२०१४/२०१५सेसन

सरकारी मेडिकल कलेज    २३

बीएसएमएमयु    ३०

प्राइभेट मेडिकल कलेज    ३३५

अन्य विषयमा    ८४

जम्मा    ४७२

Be the first to comment on "बंगलादेशमा नेपाली विद्यार्थीहरू"

Leave a comment

Your email address will not be published.


*