पाठक र लेखक भेटिँदा…

नरेन्द्र रौले

उपन्यासकार नयनराज पाण्डे वरिपरि पाठकहरूमाझ घेरिएका थिए। भीडबाट एक युवाले सोधे, ‘दाइ, तपाईंको किताब त बचाउनै गारो।’ पाण्डेले कुरा बुझेनन्। ‘मैले तीनचोटि उलार किनें।’ प्रश्न सोध्ने कोसिस ओझाले उनीतिर फर्किंदै भनें, ‘तर, पढ्न लगेकाहरूले फिर्तै दिएनन्।’ नयनराज मुसुक्क हाँसे मात्र।

koseli raule‘मैले त ७ चोटि पल्पसा क्याफे किनें,’ छेउमा उभिएका अर्का एक युवाले पनि सुनाइहाले, ‘तलबभन्दा बढी पुस्तकमै खर्च हुन थाल्यो।’ किताब हराउनुको पीडा पोख्दै थिए, उनी। नयनराजले यसो दायाँबायाँ हेरे अनि ती युवातिर हेर्दै भने, ‘तपाईंलाई त नारायण वाग्लेसँग भेटाइदिनुपर्‍यो।’ च्याप्प पाखुरा समाते। अलि पर उभिएका उपन्यासकार वाग्लेसामु लिएर परिचय गराइदिए। ‘त्रुपक’ उपनामले परिचित लेखनाथ नगरपालिका १७ कास्कीका कृष्ण अधिकारीसामु वाग्ले मुसुक्क हाँसे। खुसी हुँदै उनलाई धाप मारे।

पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डको परिसरमा गत माघ १५ देखि १८ गतेसम्म चलेको नेपाल लिट्रेचर फेस्टिबल (साहित्य महोत्सव) मा लेखक र पाठकहरूको बाक्लो जम्काभेट भयो। करिब ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, कवि, पत्रकार, राजनीतिज्ञहरूको महोत्सवमा उपस्थिति थियो। त्यो भीडमा केही पोखरेली युवाहरू आफ्ना प्रिय लेखकहरूसँग भेटको पर्खाइमा थिए। तिनैमध्ये एक थिए, थुम्की ८ कास्कीका कोसिस ओझा। पृथ्वीनारायण (पीएन) क्याम्पसबाट भर्खर बीबीएस पूरा गरेका ओझा अमर न्यौपाने र बुद्धिसागरसँग भेट्न पाउँदा खुसी देखिन्थे। उनले अमर न्यौपाने र बुद्धिसागरका पुस्तक पढे पनि यसअघि लेखकलाई प्रत्यक्ष भेट्ने मौका जुरेको थिएन। ‘घामकिरीमा उल्लेख गरिएका कुराहरू सत्य हुन् कि हैनन् ?’ उनी पुस्तकका लेखक नयनराज पाण्डेलाई सोध्दै थिए। बुद्धिसागरसँग पनि उनले जिज्ञासा राखे, ‘तपाईं बाल्यकालका प्रसंग, त्यसमा पनि आफ्नै कुरा किन बढी लेख्नुहुन्छ ?’ दुवै लेखकबाट चित्तबुझ्दो जवाफ पाएको ओझाले सुनाए।

पीएन क्याम्पसबाटै बीएड पूरा गरेका अजय अनमोल, २२ आफूले किनेकामध्ये अहिलेसम्म ५० वटा किताबहरू फिर्ता नआएको सुनाउँदै थिए। ‘कर्नाली ब्लुज तीनचोटि हरायो। लू चैं चारचोटि।’ उनले भने। उनको प्रिय पुस्तक हो, ‘लू’। उनको मनमा यस पुस्तकका पात्रहरू जीवन्त भएर बसेका छन्। इलैया, टुटे पण्डित, रेडियोलालको चरित्रसँगै उनी पनि डुबिरहे। उनको मनमा प्रश्न उब्जिरह्यो। ‘के यो सबै घटना सत्य हो ?’ पोखरामा भएको प्रत्यक्ष भेटमा लेखकसँग उनले सोधे। र, जवाफ पनि पाए, केही सत्य, केही काल्पनिक। अजयको जिज्ञासा यत्तिमै सीमित थिएन। कुमार नगरकोटीलाई पनि सोधे, ‘विदेशी लेखकलाई नपढी तपाईंको लेखन बुझ्न गार्‍हो हुन्छ। किन ?’

डब्लुआरसी पोखराबाट भर्खरै ब्याचर इन् इन्जिनियरिङ सकेकि प्रतीक्षा पोखरेल सस्मित, २२ आफूलाई मन परेका लेखकहरूसँग भेट्न पाउँदा खुसी देखिन्थिन्। त्यो हूलमा उनी अमर न्यौपानेलाई खोजिरहेकी थिइन्। ‘उहाँसँग एकदमै बोल्न मन छ।’ उनले सुनाइन्, ‘अमर मेरा आदर्श लेखक हुन्।’ साहित्य मेलाको वाह गजल उ सेसनमा आफ्नो गजल सुनाएकी उनले साहित्यिक माहोलमा धेरैजनासँग अन्तक्र्रिया गर्दा आफू कुन स्थानमा छु भन्ने ठम्याइन्।

कृष्ण अधिकारी ‘त्रुपक’ लाई ‘पल्पसा क्याफे’ ले यति तान्यो कि उनलाई दोस्रो भाग पनि आउनुपर्छ भन्ने लाग्यो। उनलाई दृश्यको कविता, बाल मनोविज्ञानको चित्रण, छापामार युद्धमा सहभागी भएको पात्रले तान्यो। लेखक वाग्लेसामु ‘दोस्रो भाग आउँदैन ?’ भनेर सोधिरहेका थिए। ‘पल्पसा क्याफेमा मैले अब लेख्न बाँकी नै केही छैन।’ वाग्ले भनिरहेका थिए, ‘बाँकी भाग लेख्ने हो भने अब कुमार नगरकोटीको हातबाट मात्र सम्भव छ।’ त्रुपकले पनि किताब किन्न राम्रै खर्च गर्छन्।

बजारमा नयाँ किताब आयो भन्ने सुन्नेबित्तिकै उनी किन्न दौडिहाल्छन्। घरमा मिनी लाइब्रेरी नै बनिसक्यो। किताबहरू हराउन थालेपछि उनले पुस्तकको सुरुमै लेख्न थालेका छन्– कृपया किताब पढेपछि फिर्ता गर्ने बानी बसालौं। त्यसको मुनि आफ्नो नाम र नम्बर लेख्न उनी भुल्दैनन्। ‘तपाईंको नयाँ उपन्यास मनसुन कहिले आउँछ ?’ सुबिन भट्टराईलाई युवा पाठकहरू सोधिरहेका थिए। ‘असारभित्र ल्याउने तयारी छ।’ पाठकलाई उनी आश्वस्त पारिरहेका थिए ‘नत्र दसैंभित्र आउँछ होला।’ ‘पाठकहरूले मलाई दबाब दिए, मैलेचाहिँ जवाफ दिएँ,’ सुबिनले भने।

पोखरामा झन्डै तीन सय पाठकले बुद्धिसागरको हालै प्रकाशित उपन्यास ‘फिरफिरे’ मा हस्ताक्षर गराए। महोत्सवमा कति पाठकहरूले उनीसँग अन्तक्र्रिया पनि गरे। पाठकले लेखकसँग आफ्ना जिज्ञासा राख्ने मौका कमै पाउँछन्। अझै धेरै लेखकलाई एकै ठाउँमा पाउनु झन् राम्रो संयोग हो। आफूले नबुझेका कुरा, मनमा लागेका जिज्ञासा निर्धक्क सोध्न पाउँछन्। जसका लागि पुस्तक लेखिएको हो, तिनले आफ्ना सिर्जना पढेर भित्री कुराहरू सोधिदिंदा लेखक पनि खुसी हुन्छन्।

Be the first to comment on "पाठक र लेखक भेटिँदा…"

Leave a comment

Your email address will not be published.


*