“पहिलेको प्रेम सयपत्री, अहिलेको मेरिगोल्ड” – प्रकट पगेनी शिव

शृंगारिक गजलमा प्रकट पँगेनी शिवको छुट्टै पहिचान छ। प्रेमबारे लेखिएका उनका गीत, गजल, कविता र मुक्तक खुबै रुचाइन्छन्। ‘प्रणयवेदका ऋचाहरू’ (गजल संग्रह) ‘जूनको चिठी जुना’ लाई (गीत संग्रह), ‘यो मन कतै अल्झेको छ’ (कविता संग्रह) प्रकाशित छन्। नरेन्द्र राैलेले गरेकाे कुराकानी :

12716436_1651192328482828_7031984390471975928_oभ्यालेन्टाइन आउँदा फेरि जवान बन्न मन लाग्दैन ?
उमेरले म ५८ वर्ष पुगे पनि एकपटक फेरि जवानीका दिनहरू फिरे हुन्थ्योजस्तो लाग्छ। त्यो उमेर टक्क त्यहींनेर रोकियोस् जस्तो लाग्छ। तर रोकिंदैन। सृष्टिको यो नियम रोक्नै सकिंदैन।

अरूका प्रेम जोडीहरू कतै देख्दा कस्तो महसुस हुन्छ ?

जब बाटोमा, पार्कमा प्रेम जोडीहरू देखिन्छन्। म भित्रभित्रै मुस्कुराउँछु। पुराना दिनहरू बेस्सरी सम्झिन्छु। मन परेको मानिससँग हुँदा घाम नअस्ताइदिए हुन्थ्यो लाग्थ्यो। अहिले पनि त्यो कुराले एकदमै छुन्छ। म एक्लै भए पनि महेन्द्र गुफा, लभ्ली हिल, लेकसाइडतिर जान्थें। र, अहिले पनि जान्छु। अरू भ्यालेन्टाइन डे मात्र रमाउछन् होला। म ३ सय ६४ दिनमा पनि रमाएकै हुन्छु।

तपाईंको बुझाइमा प्रेम के हो ?

प्रेमको परिभाषा हुँदैन। यो अपरिभाषित कुरा हो। प्रेम अनुभूति र भावनाको कुरा हो। हरेकको नजरमा प्रेम बेग्लाबेग्लै हुन्छ। जसरी जिन्दगी परिभाषित हँदैन। त्यसरी नै प्रेम पनि परिभाषित गर्न सकिँदैन। प्रेम र यौनलाई कसरी परिभाषित गर्नुहुन्छ ? प्रेमसँगसँगै यौन हुन्छ। मात्रा घटबढको कुरा मात्र हो। तर दुवै कुरा जोडिएर आउँछन्। प्रेमी र प्रेमिकाबीचको प्रेममा यो कुरा लागू हुन्छ।

पहिला र अहिलेको पुस्ताको प्रेममा के फरक पाउनुहुन्छ ?

हाम्रो पालामा अहिलेको जस्तो मोबाइल, फेसबुक, ट्विटर थिएनन्। प्रेम पत्र लेख्थ्यौं। दिनमै चारवटा प्रेमपत्र पनि लेखियो। ती अक्षरमा भावनाको रंग गाढा हुन्थ्यो। पहिला र अहिलेको समय, प्रविधि फरक छ। प्रेम व्यक्त गर्ने तरिका पनि फरक छ। इन्टरनेट मार्फत व्यक्त गरिने शब्दमा संवेदना कमै हुन्छ। पहिलाको प्रेम सयपत्रीजस्तै हो। जसमा सुगन्ध हुन्थ्यो। तिहारमा माला लगाउन पाइन्थ्यो। अहिलेको प्रेम मेरी गोल्डजस्तै हो, जसमा सुगन्ध भेटिंदैन। माला लगाउन पनि पाइँदैन। के मानिस प्रेममा परेर बिग्रन्छ? प्रेम गरेर मानिस बिगँ्रदैन। स्पर्श नगरी पनि कसैलाई प्रेम गरिन्छ। तर यौनले भने मानिसलाई बिगार्न सक्छ। अहिले पनि तपाईंलाई प्रेमको प्रस्ताव आउँछन्? प्रेमकै प्रस्ताव त राख्दैनन्।

यतिबेला के लेख्दै हुनुहुन्छ?

प्रेमलाई कथावस्तु बनाइएको एउटा उपन्यास लेखिसकें। अहिले त्यसैको पुनर्लेखन गरिरहेको छु। आउने वैशाखसम्म निकाल्ने सोचमा छु। त्यस्तै गीत, कविता र गजल गरेर अरू तीनवटा पाण्डुलिपि पनि तयारी अवस्थामा छन्।

तपाईका सिर्जनाहरू पाठकले निकै रुचाएका छन्। तर बजारमा पुस्तक भने देखिंदैनन् नि। किन?
लेखनमा म ढाँट्दिनँ। व्यवहारमा ढाँटें पनि। जब कसैले मनैदेखि केही कुरा पस्किन्छ तब अवश्य मन पर्छ। लेख्न बस्दा एउटा कुरा समात्यो भने पूरै लहरो समाउँछु। हो, बजारमा मेरा पुस्तकहरू अहिले देखिंदैनन्। मैले एक हजार प्रतिभन्दा बढी पुस्तकहरू छापिनँ। पुन: प्रकाशन गर्ने मेरो क्षमता हुँदैन। पुरानो पुस्तक छाप्नुभन्दा नयाँ पुस्तक छाप्न उपयुक्त लाग्छ। त्यसैले बजारमा मेरा पुस्तकहरू देखिंदैनन्।

किन प्रेमकै बारेमा बढी लेख्नुहुन्छ?
प्रेम मेरो रहर हो। म यसमै रमाउँछु। अब त यो मेरो शैली नै बनिसक्यो। मलाई प्रेमकै विषयमा लेख्न मन पर्छ। हरेक मानिस प्रेम र यौनमा आबद्ध हुन्छ। प्रेमका विषयमा लेखिएका कुराले मानिसको मन छिट्टै छुन्छ।

तपाईंले लेखनमा र गजलवाचन अन्ना भन्ने पात्रको नाम खुब लिनुहुन्छ। के रहस्य छ ?

अन्ना एउटा काल्पनिक पात्रको नाम हो। हरेकचोटि लेख्न बस्दा म यो पात्रलाई सम्झिन्छु, कल्पना गर्छु। र, केही लेख्न बस्छु। यो पात्रले मलाई गजल दियो, गीत, दियो, उपन्यास दियो। अब यसलाई पूजा गर्नुपर्छ भन्ने लाग्यो। यसबारे बजारमा अनेकथरी टीकाटिप्पणि भए। शंका गर्नुपर्ने त्यस्तो केही छैन।

Be the first to comment on "“पहिलेको प्रेम सयपत्री, अहिलेको मेरिगोल्ड” – प्रकट पगेनी शिव"

Leave a comment

Your email address will not be published.


*