डाँडापारी आमा

Naren Raule -नरेन्द्र रौले
‘हेलो नरेन्द्र ।’ मोबाइल उठाउने बित्तिकै बोली सुनियो । दाङको यात्रामा छु । उत्साहित मनमा दुईटा कुराले डेरा जमाएका छन्, रिर्पोटिङ र घुमफिर । एयरफोनमा मीठा गीतहरु गुन्जिरहेका छन् । काठमाडौंबाट रफ्तारमा गुडिरहेको गाडी नारायणघाट पुग्नै लागेको छ । एक्कासि अप्रिय खबर आयो, ‘भाउजु बित्नुभयो । तुरुन्त घर आउनु ।’ गोकुल अंकलले फोनमा सुनाए ।

 

आँखा अघि सुसाउदै बग्ने बुढीगंगा र निकै पर मालिका देखिने बाजुराको त्यो बसाली गाउँ सम्झिएँ । म जन्मिएको दुरदराजको गाउँ राजधानीबाट निकै टाढा छ । मुस्किलले वर्षमा एक पटक पाइला टेकिन्छ । त्यहीं अनेकौं दुख, कष्ट सहेर दिनरात संघर्षरत आमाको झलझली याद आयो । हुर्कदै गरेका साना भाई, बहिनी, बुबा, ठूलि बहिनि । अनि सानी बहिनी के गर्दै होली ? भाइ पृथ्बी कस्तो भयो होला ? सबै सम्झें । बढी त आमाकै याद आयो जसले मलाई जन्माउनु भो, हुर्काउनु भो र यहा सम्म पुर्‍याउनु भो । सुदुर अतितका आमासँगका सम्झनाहरु क्रमश एकपछि अर्को गर्दै प्रगाढ रुपमा मेरा अघि आईरहे ।

 

मलाई याद छ, सानोमा बिरामी पर्दा आमाले लामो बाटो हिंड्दै पिठ्युमा बोकेर मलाई उपचार गर्न लानुहुन्थ्यो । मामाघर आटिचौर जादा एक पटक डोकोमा बोकेको ती क्षण, जंगलको बाटोमा काफल, ऐंसेलु, डिम्बुर, गुँएलो र चुत्रो टिपेर खुवाएको । किशोरवयमा आमासँगै मावलीघर जाँदाका थुप्रै क्षणहरु सम्झनलायक छन् । वनैभरी ढकमक्क फुलेका गुराँस अनि कोइली बासेको यतिखेर सम्झिदा, ओहो † मन पनि कस्तो भएर आउछ । भगवानसँग मागेर पाउने भए साँच्चै म त्यही बालापन माग्थेँ । अलि ठूलो भएपछि आमा र मैले दुई दिन लगाएर अछामको साँफेबगरबाट नुन, चामल बोकेका थियौँ । मीठो मसिनो खानेकुरा हात पर्दा होस्, या नयाँ लुगा किन्नुपर्दा जहिले पनि उहाँले मलाई नै सम्झिनुुहुन्थ्यो । जेठो भएर होला, पाँच सन्तान मध्ये आमाका लागी सबैभन्दा प्यारो मै थिएँ, मेरा लागी आमा ।

 

०६० सालमा एसएलसि परीक्षा दिएर सरासर म काठमाडौं पसेँ । पास भएपछि पत्रकारिता पढ्ने ईच्छाले यतै बस्ने निधो गरें । वर्षमा एक चोटी घर पुगिन्थ्यो । घर पुग्दा मावलबाट ल्याएका ओखर खान म निकै हतारिन्थें र खुब हौसिन्थें । ओखलमा कुटेको चिउरा, त्यसैमा ओखर मिसाउँदा कम्ति मीठो लाग्दैनथ्यो । हरेक वर्ष आमाको हातबाट ओखर, चिउरा, रोटी, मह, घिउ, भटमास र गहुँका खाजा मैले बोकेर काठमाडौं सम्म ल्याउने गर्थें ।

 

गएको वर्ष दसैं मनाएर फर्किदा मलाई पुर्‍याउन आमा तल पिपलको रुख सम्म आउनुभयो । छुट्टिदा मैले ढोग गरें । हामी बिदा भयौं । म बाटो लागें । खोला पारीको डाँडो नकटुन्जेल आमाले सेतो कपडा परैबाट हल्लाईरहनुभयो । त्यो हावामा फर्फराइरहेको थियो । केही पाइला चाल्दै मैले फर्कीफर्की आमातिर हेर्थें । क्रमश आँखा अघि दृश्य बिलिन बन्दै गयो । डाँडाले छेक्यो । र यहि नै आमासँगको मेरो अन्तिम भेट हुन पुग्यो ।

 

‘को भाउजु ?’ अपत्यारिलो खबर सुनेपछि सोधें । ‘तिम्रो आमा ।’ म झस्किन्छु र फेरी सोध्छु , ‘हँ, के भनेको ? कसरी ? के भएछ ?’ जवाफ अधुरै रहे । बोल्दाबोल्दै फोन काटियो । मेरो आङ सिरीङ्ग भयो र जीउभरी काँडा फुले । गएको असार १६ (०६८) गते त्यो क्रुर खबर पत्याउनै गाह्रो भयो । एक्कासि मोबाइलमा जब आमाको निधनको खबर सुनें, त्यो सपना हो कि बिपना ? छुट्याउनै गाह्रो भयो । पीडाको पहाडले मलाई बेस्सरी थिच्यो । आँखाभरी अनेकौ सम्झनाहरु नाँचे । यादहरुको हुरी आयो । र आँशुको वर्षा भयो । यहि दिन नै मेरा लागी जीवनको सबैभन्दा कठोर रहेछ जस्तो लाग्यो ।
एकैछिन अघि सम्म मनमा मीठो कल्पना बुन्दै थिएँ । आशा, उमंग र खुसिका बीउहरु रोप्दै थिएँ । पट्यार लाग्दो शहरको दैनिकी त्यागेर टाढा पुगेको त्यो दिन मन चंगा थियो । बाहिर झरी बर्सिरहेथ्यो । मनमा आनन्द महशुष भईरहन्थ्यो । एक्कासि नचिताएको खबर सुन्नु पर्दा जिउ चिसो भयो । आँशुहरु थामिएनन् । आमाले संसार त्यागेको खबर सुन्दा यो संसार शुन्य, शुन्य लाग्यो । यात्रामा एक्लै हिंडेको त्यो दिन झनै एक्लो, एक्लो महशुस भयो ।
अब के गर्ने ? सोच्नै सकिन । ‘चाँडै फर्किन्छु’ भनेर काठमाडौंमा सानो भाईलाई एक्लै छोडेको छु । एउटा उद्देश्य बोकेर हिंडेको । अब यतै फर्किउँ वा घर जाउँ ? दोमन भयो । बाटामा गाडी बिग्रदा बुटवल सम्म जाने अर्को गाडी चढें । मन एकोहोरो भयो । आफुलाई सम्हाल्नै मुस्किल । ‘सबैलाई एकदिन यस्तो पर्छ । धैर्य गर्नुस् बाबु ।’ नजिकै बसेकि बुटवलतिरकै दिदीले भनिन्, ‘रोएर अब केही हुँदैन ।’ बुटवल पुग्दा पानी जोडजोडले बर्सियो । गाडीबाट ओर्लेर नजिकै चिया बेच्ने दिदीको ठेलागाढातिर म ओत लागें । मैले अब अर्को गाडी समातेर अत्तरिया, डँडेलधुरा, डोटी, अछाम हुँदै बाजुरा पुग्नु छ । काठमाडौँमा आफ्ना नजिकका साथीहरुलाई नमिठो त्यो खबर फोनमा सुनाउछु । दुई घण्टा भन्दा बढी कुरेपछि बल्ल धनगढी जाने गाडी भेटियो । भित्र बिराना यात्रीहरु छन् । आफु एक्लो छु । मनमनै सोच्छु, मनको बह पोख्ने कोही साथी भेटियोस् । सोचे जस्तो भएन ।

 

नया सपना, जोश, जाँगर बोकेर हिंडिरहदा जीवनको त्यही मोडबाट यात्रा अन्यत्रै मोडियो । टाढाको त्यो गाउँ पुग्न तीन दिन लाग्यो । बर्खायामको बाटोमा ५ वटा गाडी फेर्नुपर्‍यो । गुँइगाडी खोला पारी पुग्दा गाउँलेहरु रोड खन्दै थिए । पिपलको चौताराभरी मानिसहरु ओइरिएका थिए । मैले गहिरोसँग त्यो ठाउँ नियालें । यो त्यही ठाउँ थियो जहाँ अन्तिम पटक आमालाई ढोग दिएर म बिदा भएको थिए । बरर झरेका आँशुहरु मैले लुकाएँ । सानो भाई रोडमा काम गर्न आएको रहेछ । मेरो झोला बोकेर उ अघिअघि हिंड्यो । कपाल खौरेको सानो भाई कति माया लाग्दो देखिन्थ्यो । उकालो चढेर माथी पुग्दा अर्को ठूलो पीपल चौतारामा बस्यौं । यताउता फर्केर हेरें । आमाले खेती किसानी गरेका गह्राहरु वरपर देखिन्थे । आँशुहरु थामिएनन् । ठूलो डाँको छाडेर रुन मन लाग्यो । मैले आफुलाई सम्हालें । र, बाटो लागें ।
काठमाडौँबाट हिंडेको तेस्रो दिन बल्ल मैले घरको आँगनमा पाइलो टेकें । चर्को घामले बेस्सरी पोल्दैछ । सुनसान छ घर । म आँगनमै रोकिएको छु । बहिनी र अंकल घरको बरन्डामा छन् । घरभित्रबाट निस्केर आमाले मायालु स्वरमा बोलाउनुहुन्छ जस्तो लाग्यो । पछि सम्म यस्तै सोचिरहें । तर अहँ, मलाई ‘भित्र बस’ भन्ने पनि कोहि भएन । त्यहा आमाको नाम निसाना भेटिएन, बोली सुनिएन । मैले लास समेत देख्न पाईन । निरास भए, उदास, उदास भएँ । आफ्नै आँगन बिरानो लाग्यो ।
घरबाट अलि पर त्रिपाल टाँगिएको थियो । बुबा किरियापुत्री बस्नुभएको थियो । स्कुले केटाहरु पाल भित्र मस्त तास खेल्दै देखिन्थे । म र सानो भाई घर फर्कियौं । निष्पट , कालो रात दुख लिएर आयो । बिस्तारै थाह पाउदै गएँ, ज्वरो र छाती दुख्ने रोगले च्यापेछ । राम्रो उपचार पाईदिए ज्यान बच्ने रहेछ ।

 

मलाई पछुतो लाग्यो । यति लामो समय सम्म पनि मैले किन फोन समेत गरिन ? के का लागी यो दौडधुप ? यसपाली दुई हप्ता घरमा बस्दा मैले आमालाई खुब सम्झिएँ । नया घर बनाउन रातदिन कति काम गर्नुभएको थियो । उहाकै पसिना र मिहिनेतबाटै नया घर बनाउन सम्भब भयो । आखिर नारीले पारिवारिक जिम्मेवारी बहन गरेको हुने रहेछ मैले नजिकबाट नियालें । आमाले संसार त्यागेको दुई हप्तामै गाईबस्तु बेच्नुपर्‍यो । जग्गा जमिन अधिया दिनुपर्‍यो ।
आमाले संसार त्यागेको ५ वर्ष पुग्यो । विश्वासै लाग्दैन । आमासंग भेट हुन्छ कि जस्तो लाग्छ । एकान्तमा एक्लै हुदा ताता आँशुहरु झर्छन् । मन उदास उदास हुन्छ । यति ठूलो संसारमा मेरा अघि सबै चिज भएर पनि आमा नहुदा रित्तो लाग्छ । आमा गुमाउनुपर्दा एक्लो महशुष हुन्छ । जब जब मेरो अघि खुसिका क्षणहरु आउछन्, म आमालाई झलक्क सम्झिन्छु । कताकता लाग्छ, यो खुसि आमासंग साट्न पाए । अनि दुख पर्दा पनि आमालाई नै सम्झिन्छु । निकैबेर मन एकोहोरो हुन्छ ।

 

जुन बेला आमा हुनुहुन्थ्यो, आमाको महत्व बुझिन अब आमा हुनुहुन्न पलपल आमाकै यादले सताउछ । सानोमा मलाई हुर्काउन, पढाउन आमाले खुब दुख गर्नुभयो । बिस्तारै जागिर भेटाएँ । मेरा सुखका दिनहरु फिर्दै गए । हरेक खुसिमा आमालाई नै सम्झिन्थें । सोचेको थिएँ, यसपाली दसैमा घर जादा मैले केही किनेर लगिदिन्छु । तर जागिर पाएको त्यो खुसिको खबर फोनमा समेत सुनाउन पाइन । पछिल्ला ८ वर्षमा आमासंग लामो कुराकानी गर्ने मौका जुरेन । यस पटक धेरै कुरा उहाबाट सुन्ने मनसाय थियो । अब त्यो हराएर गयो ।
दसैमा फर्के यता किन मैले फोन सम्म गरिन ? सधैँको दौडधुप, हतारो । अनायासै ठक्कर लागेपछि पछुताईरहेछु । असारको पहिलो सातातिर हरेक दिन आमाको याद बढि नै आउने गथ्र्यो । हरेक दिन ब्युँझिदा, काममा हिंड्दा र निदाउन लाग्दा आमालाई नै सम्झिन्थें । रातदिन काम गर्दा पनि नथाक्ने आमाको बानी मलाई रामै्र संग थाह थियो । म झसंग हुन्थें, मैले त आमाबाट धेरै सिक्नु छ । प्रेरणा लिनु छ । आँखाभरी उहाकै छाया आउथ्यो । देख्नै नपाई सदाका लागी बिदा हुनुभयो । फेरी भेट हुने भए मनभरी उर्लेका बह पोख्ने थिएँ ।
naren.raule@gmail.com

Be the first to comment on "डाँडापारी आमा"

Leave a comment

Your email address will not be published.


*