टुवीटरमा रमाउँदै कुटनीतिज्ञ

नरेन्द्र रौले 

भर्खर चार महिना भयो, कुटनितीज्ञ एबं पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे ट्वीटरमा रमाउन थालेका छन् । फेसबुक चलाउन थालेको चार वर्ष पुगेपनि टुवीटर भने उनका लागि नयाँ नै छ । तैपनि यो छोटो अबधिमा भारत, पाकिस्तान, बेलायत, अमेरिकालगायत टाढाटाढा रहेका स्वदेशी तथा विदेशीहरु उनका राम्रै साथी बनिसके । विदेशी कुटनीतिज्ञ, राजनीतिक ब्यक्तित्वहरुको अपडेट लिन, युवाहरुसँग अन्र्तक्रिया गर्न, तिनका विचारहरु बुझ्न टुवीटरले उनलाई सघाएको छ ।

RameshnathPandeyअखबारमा प्रकाशित आफ्ना लेखहरु टुवीटरमा सेयर गरेको केही बेरमै प्रतिक्रिया पाएपछि पाण्डेलाई लेख्न अझ उर्जा मिल्छ । पाठकको चासो, विचार र धारणा बुझ्न प्रत्यक्ष भेटिरहनै पर्दैन । भर्चुअल भेटले त्यो इच्छा पूरा गरिदिएको छ । टुवीटरमा उनले पछ्याएका समाचार एजेन्सी र अन्य मिडियाको अपडेटले पढ्नमा र लेखहरु तयार पार्न उत्तिकै सहजता मिलेको छ । ‘नेपालको समसामयिक राजनीति र अन्र्तराष्ट्रिय राजनीतिका बारेमा जान्न चाहने थुप्रै स्वदेशी, विदेशीले ट्वीटरमा सोधिरहन्छन्’, पाण्डेले भने, ‘कतिपयले त ब्यक्तिगत कुरा जान्न खोज्छन्, भेट्ने इच्छा राख्छन् ।’ फरक पेशामा आबद्ध नेपालका नाम चलेका थुप्रै ब्यक्तिहरु केही समय टुवीटरमा झुल्किए तर एकदम छोटो अबधिमै हराएर गए । तर पाण्डेले भने यसको महत्व राम्ररी बुझे ।

र, यसमा भिज्दै गए । कतिसम्म भने हरेक राति १ बजे निदाउनु अघि उनले टुवीटरमा नजर लगाउँछन् । डिएम (डाइरेक्ट म्यासेज) मा आएका हरेक म्यासेजहरुको जवाफ दिन्छन् । मनपर्‍यो भने टाइमलाइनमा देखिएका कतिपय टुवीटहरुमा इन्टर्‍याक्सन गर्छन् । यही नै उनको दैनिकी बनेको छ ।

अबेर राति निदाएका पाण्डेका आँखाहरु खुल्दा विहानको सात बजेको हुन्छ । सुरुमै एक घण्टा जति उनको समय इन्टरनेटमै बित्छ । चियाको चुस्की लिदै भारतीय प्रमुख अखबार द हिन्दु, हिन्दुस्तान टाइम्स र टाइम्स अफ इन्डियालगायत केही अमेरिकन अखबारका वेवसाइट चहार्छन् । त्यसपछिको केही समय मर्निङ वाकमा जान्छ । पानी परेको दिन भने आधा घण्टा साइकलमै घुम्छन् । उनले हरेक दिन झण्डै ४० मिनेट योगको लागि छुट्याएका छन् । उनको मेनुमा सादा नेपाली खाना दाल, भात, तरकारी हुन्छ । माछा खान्छन्, मासु भने खाँदैनन् । दिनको ४ लिटर पानी पिउन कहिल्यै छुटाउँदैनन् ।

दिउँसोको समय उनले भेटघाटका लागि छुट्याएका छन् ।साथीभाई, पत्रकार, आफन्तहरुसँग उनको नियमितजसो भेटघाट भइरहन्छ । कहिलेकाही पार्टीहरुमा जान्छन् । फुर्सद मिल्दा अध्ययनमै उनको समय बित्छ । आइप्याडमा पुराना हिन्दी, नेपाली गीत, गजलहरु सुन्छन् । डेढवर्षअघि राजनीति भन्ने चलचित्र हेरेका उनले त्यसपछि अर्को कुनै फिल्म हेरेका छैनन् ।

पाण्डेको जीवनशैली आममानिसको भन्दा फरक रह्यो । ४ वर्षको उमेरमा उनको अक्षराम्भ भयो । १३ वर्षमा उनले एसएलसी पास गरे । १५ वर्षको कलिलो उमेरमा जनता दैनिकको सम्पादक बन्ने अवसर पाएका उनले १६ वर्षको उमेरमा नेहरुको अन्तर्वार्ता लिने मौका पाए । ०१७ पुष १ गते राजाको कदमको बिरोधमा लेखेबापत जेल पुर्‍याइँदा उनको उमेर जम्मा १८ वर्ष मात्र थियो । साढे ३ वर्ष जेल बस्दा उनको संगत उच्च राजनीतिक तहका ब्यक्तित्वसँग भयो । भद्रगोल जेलमा बस्दा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले अर्थशास्त्र पढाएको उनी अझै पनि सम्झिन्छन् ।

जेलमै रहँदा राजा महेन्द्र र बीपी कोइरालाको वार्ता गराउन सफल भएको क्षण सम्झिंदा अझैपनि उनी रोमाञ्चित हुन्छन् । बीपीको जेल जर्नल पुस्तकमा सुशील कोइराला बाहेक अन्य नेताहरुको नाम भेटिदैन्र । तर, पाण्डेको नाम झण्डै ३० ठाउँमा उल्लेख गरिएको छ । उनले जेलमै बस्दा स्नातक उत्तीर्ण गरे । नेहरुले आफूसँग भनेको वाक्य उनी हरेक पटक समझिरहन्छन्, ‘अध्ययन गरिरहनुपर्छ । यो कहिल्यै पूरा हुँदैन ।’

पाण्डेले विशेषगरी कुटनीति र समसामयिक राजनीतिका बारेमा पढ्न रुचाउँछन् । भर्खरै उनले लि क्वानका दुइवटा पुस्तक ‘वन म्यान्स भिउ अफ दि वल्र्ड’ ‘ग्रान्ड मास्टर्स इन् चाइना, युएस एण्ड वल्र्ड’ पढेर सकाए । सिंगापुरका पहिलो प्रधानमम्त्री लि उनका प्रिय लेखक रहेछन् । फ्रम थर्ड वल्र्ड टु फस्र्ट वल्र्ड उनलाई प्रभाब पारेको पुस्तक रहेछ । उपन्यास पढ्न उति नरुचाउने पाण्डे ज्याफ्रि आर्चरका पुस्तक भने खोजीखोजी पढ्छन् । एबिगेल बरनेट्टेको द बोस र लि क्वानको फ्रम थर्ड वल्र्ड टु फस्र्ट वल्र्ड उनले दोहोर्‍याएर पढेका पुस्तक हुन् । फरेन अफेयर्स म्योगेजिन उनको घरमै आइपुग्छ । चाइना डेली, टाइम, न्युयोर्क टाइम्स, स्टेट्सम्यान उनले इन्टरनेटमै पढ्छन् । उनले आफ्नो बारे लेखेको आत्मबृत्तान्त सम्पादन भइसकेको छ । प्रकाशकको भने अझै टुंगो लागेको छैन ।

पाण्डेले पत्रकारका रुपमा निम्तो पाएर २३ वर्षको उमेरमा अमेरिका पाइलो टेके । जीवनमा परराष्ट्रमन्त्रि, पर्यटनमन्त्री र सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका उनले विश्वका थुप्रै मुलुक चहारे । ति देशबाट फर्केर आउँदा उनलाई पीडाको महसुस हुन्छ । ‘हामीसँगै विकास भएका देश धेरै माथि पुगिसके ।

तर हामी जहाँको त्यही छौं ।’ उनले दुखेसो पोखे, ‘हामी पछाडी परेकोमा पीडा हुन्छ ।’ ल्हासामा काठमाडौं सिवाय अरु कुनै देशबाट हवाइजहाज चल्दैनन् । पर्यटनमन्त्री छँदा त्यसको सम्झौतामा हस्ताक्षर गर्ने पाण्डे नै थिए । नेपाल दुइ पटक संयुक्त राष्टसंघको सुरक्षा परिषदको सदस्य हुँदा उनले नै भाग लिएका थिए । यस्तै आफ्नो कार्यकालका केही महत्वपूर्ण घटनाहरु उनले सम्झिरहन्छन् ।

उमेरका खुड्किलाहरु बढ्दै गएपनि अध्ययन र सिर्जना कर्मप्रति पाण्डेको उत्साह कत्ति घटेको छैन । ‘उत्साहसित उमेरको कुनै सम्बन्ध हुँदैन’, उनी सुनाउँछन्, ‘उत्साहको सम्बन्ध मानिसको लक्ष्य, संस्कार र जीवनसँग हुन्छ ।’ रिटायर्ड जीवन उत्तिकै सक्रियताका साथ जिइरहेका छन् उनी । उनले इजरायली परराष्ट्रमन्त्री अब्बा इभानको उक्ति सधैं सम्झिरहन्छन्, ‘राजनीतिज्ञहरुको जीवन मृत्युपछि पनि कायम रहन्छ ।’

Be the first to comment on "टुवीटरमा रमाउँदै कुटनीतिज्ञ"

Leave a comment

Your email address will not be published.


*