छोरीलाई के खुवाउने नारायण दाई ?

oldeditors

-मिलन बगाले
नागरिक दैनिकका संस्थापक सम्पादक नारायण वाग्लेले जागीर छोड्नु भएको खबर आयो । खुशी लाग्यो । जागीरले आफूलाई खाईहाल्ने उमेर आएको थिएन, त्योभन्दा अलिकति अगाडी छोडेर ठीक गर्नुभयो । उमेर र जागर रहे जागीर जाबा कति कति । सम्पादककै पदमात्र खाईराख्न जरुरी छैन,अरु पदमा पनि काम गर्न सक्छु भनेर  विदाई भाषणमा घतलाग्दो र प्रेरणादायक कुरो गर्नुभो, मन प¥यो ।

फुर्सदमा लेखपढ अर्छु भन्नुभो । मिठो सुनियो । समाचारको पुच्छर निमोठदा निमोठदा कति गतिला किताब पढ्न नपाएर तेस्सै चिप्लिए होलान् है । फुर्सद मिले गिरिजाशंकर भगवानजी (गिजुभाई) को किताब ‘दिवास्वप्न’ पनि पढनुहुन अनुरोध गर्छु । यो किताबले काचो माटोजस्तै रहेका छोरीहरुलाई भोली कस्तो शिक्षादिक्षा दिने भन्ने  मार्गनिर्देश तपाईलाई गर्नेछ । बडो जान्ने पल्टेर किताब सुझाईरहेछु, पढिसक्नुभएको भए माफ पाउँ ।

हप्ता दशदिन त छोरी बासग खेल्न पाएर मख्खै पर्लिन । हेडलाईन,डेडलाईन र बाईनलाईनको पछि लागेर जिन्दगीको लाईन नै भुल्न आटेका श्रीमान बिहानभर सुतेको देखेर भाउजु पनि अलि दिन मख्ख पर्नुहोला । अनि त्यसपछि ? छिनछिनमा बज्ने मोवाईल दिनभर बज्नै छोडेपछि ? पत्रिकातिर छापिएको नाम र आफ्नो काम देखिन छोडेपछि ? खल्तीमा पैसाले बस्न नमानेपछि ? हातको घडीले बजाएको समयको कुनै मुल्य नभएपछि ? कस्तो बा रैछ, खेलेर मात्रै बस्छ, खेलौना ल्याईदिन्न भनेर छोरीले गनगन गरेपछि ?किताबै पढेर र लेखेरमात्र सिंगो दिन नढलेपछि ?  त्यसको अलिपछि हामीले दाईलाई पक्कै कुनै पत्रिकामा भेटन पाउनेछौ । अलि जिस्काएको जस्तो भयो कि ? त्यसो भो भने माफ गर्नुहोला है।

‘वरिष्ठ पत्रकार’  र ‘लेखक’ भन्दै विमोचन, प्रवचन र भाषणमा बाक्लै बोलाउनेछन अब तपाईलाई । फुर्सदिलो देखेपछि किन नबोलाउने ? अनि कतिसग तर्किनु, हत्ते गरेर, माया गरेर बोलाएकासग भाग्दै हिडेर पनि भएन । तर, त्यसले तपाईको सृजनात्मक समयलाई नराम्रोसग भुत्ल्याउनेछ । बरु दिनको एक घण्टा पत्रकारिताका विद्यार्थीसग बिताउने मेसोमेलो मिलाउनुभए कस्तो जाती हुन्थ्यो । तिनले सिक्न पाउथे, तपाईले बाड्न पाउनुहुन्थ्यो । ज्ञान बाड्ने महायज्ञमा कही कतै असल नियतका कर्ताले चरु होम्न बोलाए भने पाउकष्ट गरिदिन अनुरोध छ । तपाईजस्ताले चरु होमिदिए नागरिकमा मात्र होईन, अन्त पनि उत्कृष्ट न्यूजरुम तयार हुन्छ नी । देशैभरी गतिला न्यूजरुम तैयार भैदिए पत्रकारिता गतिलो हुन्छ, मर्यादित हुन्छ , तपाई अग्रजहरुलाई नी सन्तोक मिल्ला । तपाईहरु बनिसक्नुभो । डुलुवा रिर्पोटरदखि सम्पादक सबै । अरुलाई बनाउनमा फुर्सर्दिलो समय अलिकति कोट्याईदिए खास्सा । अर्को एउटा काम पनि गर्ने कि दाई फुर्सदमा ? पत्रकारिता गर्दा नचाहिने काम के—के गरिएछ ? जानेर नजानेर के—के गल्ती गरिएछ ?आफ्नो स्यानो गल्तीले को—कोलाई बिगारिएछ,स्यानो आत्मसमिक्षा डायरीमा टिपे नया पाईला अझै सुन्दर हुनेछन । म नराम्रो टिप्न सुझाईरहेछु । भ¥याङ चढेर माथी पुगेको मान्छेलाई भीडले मुर्ख बनाउछ । राम्रा कुरा तपाईले टिप्नै पर्दैन । मरेको मान्छे र छोडेको मान्छेको राम्रो कुरो मात्रै बटुल्ने चलन छ नी हाम्रामा । त्यसैले नराम्रा कुरा आफै टिप्नु न । हुन्न ? छाप्नलाई टिप्नु भन्या हैन । लेख्या कुरो नछापिए के काम भन्ने लाग्न पनि सक्छ है दाई ।

दाई, तपाईले २० बर्ष जागीर खाएर अस्थायी बिराम लिएपछि जागीर खाने भनेकै २० बर्ष हो जस्तो लाग्यो । सरकारले तेसै २० बर्षमा पिन्सिन पाक्ने नियम बनाको हैन रैछ । २० बर्षपछि कामले मान्छे आफै पिल्सिदो रैछ क्यार । न सन्चय कोष, न पेन्सन, न उपचार खर्च, बैशाख र जेठको आधा महिनाको तलबमात्रै लिएर बाहिरिनुभो होला । द हिमालयन टाईम्सका पूर्व प्रधान सम्पादक राम एन प्रधानलाई उपचार खर्च जुटाउन चन्दा उठाउनु परेको थियो, अलिमहिना अघि । यतिविघ्न असुरक्षित पेशामा होमिएर पनि तपाईहरु सबैले जे जति गर्नुभएको छ, पाठकका नाताले आभार प्रकट गर्दछु ।

तपाई र अमीत ढकाल त छोरीसग समय बिताउनलाई बडेमानको ‘हट सिट’ छोडेर कुना पस्नुभो । छोरा, छोरीको कुरै छोडम, नातिनी, नाती, पनाती पनातिनी भईसकेका धेरै बाजे — बराजुहरुले चाहि अझै युवापुस्तालाई तालसाचो बुझाएका छैनन । यो रोग राजनितिमा निकै चर्को छ, अरु पेशामा पनि छ । तपाईको बर्हिगमन अलिकति उल्टो प¥यो । युवा मान्छेले आफूभन्दा धेरै बुढो मान्छेलाई विरासत छोडेर हिडनप¥यो । छोराले बाउलाई घरब्यवहार छोडेर आफू बन पसेजस्तो पो देखियो । खैर, यो गफजस्तो भो । तपाईले किशोर नेपाललाई सम्पादक बनाएर हिडनुभा पनि हैन नी  मिल्ने भा भए पराग या लिसरालाई सुम्पेर हिडनुहुन्थयो होला ।

छोरीहरुलाई राम्ररी हेर्नुहोला । राती उदाएको चन्द्रमालाई पनि हेर्नुहोला । पिलपिल गर्ने तारालाई  हेर्नुहोला । निलो आकाश र सेतो बादललाई पनि हेर्नुहोला । विहानको उदाउदो घाम र साझको अस्ताउदो धूपलाई  हेर्नुहोला । कम्पाउण्डभित्र घासपात रोपिएको भए पानी हाल्नुहोला । ओहो, जागीरभन्दा बाहिरको जिन्दगी कति सुन्दर पो छ । त्यै एउटा जाबो ‘पैसो’ नआउने त हो नी । कठै । समाजको विभिन्न क्षेत्रमा तालसाचो बोकेर बसेका बाजे बज्यैहरुले घरका नातिनातिना र तपाईहरु सम्झेर बाहिरका उर्जाशील युवापुस्तालाई हटसीट छोडिदिउन, त्यसैमा सबैको कल्याण छ । तिनका बुढा हड्डीको पनि पक्कै कल्याण हुनेछ । सबैको जय होस् ।

(यो लेख मिलन बगालेको ब्लग http://sabdachittra.blogspot.com/ बाट साभार गरिएको हो )

Be the first to comment on "छोरीलाई के खुवाउने नारायण दाई ?"

Leave a comment

Your email address will not be published.


*