चन्द्रागिरिबाट चियाउँदा

नरेन्द्र रौले

केबलकार चढ्न अब मनकामनासम्म धाइरहनु पर्दैन । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडले ३८ वटा केबलकार सञ्चालनमा ल्याएको छ । थानकोटबाट केबलकारमा केवल ९ मिनेट हिँडेपछि चन्द्रागिरि पुगिन्छ । राजधानीबाट केही घण्टाको दूरीमै अब यो सुविधा उपलब्ध छ ।
हालै चन्द्रागिरि डाँडामा केबलकार सञ्चालनमा आएपछि दिनको झन्डै ३ हजार मानिस केबलकारमा ओहोरदोहोर गरिरहेका छन् । छिनमा घाम, छिनमा कुहिरो तथा छिनमै झरी पर्ने चन्द्रागिरिको मौसम बडो मनमोहक हुन्छ । ‘हो, यहाँको मौसमको कुनै भर हुँदैन ।’ केही दिनअघि भेटिएकी चन्द्रागिरि हिल्स लिमिटेडकी गेस्ट रिलेसन अफिसर रूपा क्षेत्री भन्दै थिइन् ‘हरेक क्षण बदलिरहने मौसमले धेरैलाई लोभ्याउँछ ।’ सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पनि यो ठाउँ निकै चर्चित छ ।

 

साउन्ड पु्रफसहितको मल्टिपर्पोज हलको निर्माण सम्पन्न हुनै लागेको छ । अभिषेकविक्रम शाहका अनुसार यो हलमा चलचित्र हेर्न पाइनुका साथै सभा, सेमिनार तथा गोष्ठीहरूको आयोजना हुनेछ । यसमा १ सय २० देखि १ सय ५० जना अट्ने सिट हुनेछ । अहिलेदेखि नै बुकिङ सुरु हुन थालिसकेको रूपाले बताइन् । दुईवटा चिल्ड्ेरन पार्क तयार हुने क्रममा छन् । यहाँ २५ सय ५० मिटर अग्लो टावर पनि बन्दैछ । त्यहाँ हिमालयन जाभा कफी हाउसका साथै विभिन्न किसिमका पसल पनि खुल्ने भएका छन् ।

 

मन्दिरबाट एक किलोमिटरको दूरीमा रिसोर्ट बन्दैछ, जहाँ वर्ष दिनभित्र मानिसहरू बास बस्न सक्नेछन् । गेस्ट रिलेसन अफिसर क्षेत्रीका अनुसार यहाँ निकट भविष्यमै प्याराग्लाइडिङ, जिप फ्लायर र हर्स राइडिङको समेत सुविधा उपलब्ध गराउने तयारी भैरहेको छ । कुनै बेलाको यो जंगलले यसरी मुहार फेर्ला भन्ने कल्पनासम्म नगरिएको स्थानीय बासिन्दा रामप्रसाद  खनाल बताउँछन् ।

 

कसरी पुग्ने ?
थानकोट प्रहरी चौकीनजिक ओर्लनेबित्तिकै बायाँतिर मोडिने एउटा बाटो आउँछ । चन्द्रागिरि हाइकिङका लागि प्रचलित यो रुटमा अचेल मानिसहरूको बाक्लै भीड देखिन्छ । गत साउन २४ गतेदेखि चन्द्रागिरि हिल्सले केबलकार सञ्चालनमा ल्याएपछि त्यहाँ यस्तो भीड बढेको हो । केबलकारमा ओहोरदोहोर गर्न प्रतिव्यक्ति ७ सय रुपैयाँ खर्च लाग्छ । थानकोट, चखेल, चित्लाङ र चन्द्रागिरि नगरपालिकाका बासिन्दाहरूलाई टिकटमा २५ प्रतिशत छुट प्रदान गरिन्छ ।

 

शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था छ । यहाँ सार्क राष्ट्रका पर्यटकले १ हजार १ सय २० रुपैयाँ तथा अन्य देशका पर्यटकले २ हजार ३ सय ३२ रुपैयाँ तिर्नुपर्छ । ३ फिटभन्दा साना बालबालिकाले नि:शुल्क रूपमा केबलकारको यात्रा गर्न पाउँछन् भने ४ फिटभन्दा माथिका बालबालिकाका लागि पूरै शुल्क तिर्नुपर्छ । हाल यहाँ २ सय ५० गाडी तथा ३ सय बाइक पार्किङ गर्न सकिन्छ ।

 

Be the first to comment on "चन्द्रागिरिबाट चियाउँदा"

Leave a comment

Your email address will not be published.


*