क्यानाडामा बस्ने नेपालीको कथा

canada 1

नरेन्द्र रौले

 

canada 1

विश्वकै दोस्रो ठूलो देश हो, क्यानाडा । पूर्वी क्यानाडाको न्युफाउन्डल्यान्डदेखि ब्रिटिस कोलम्बियासम्म फैलिएको क्यानाडामा नेपालीहरू विभिन्न पेसा वा व्यवसायमा संलग्न छन् । ओन्टेरियो, अलबर्टा र ब्रिटिस कोलम्बियामा नेपालीहरूको बाक्लो बसोबास छ ।

 

त्यसबाहेक क्युबेकको मन्ट्रियल, सास्काचुवेन तथा मनिटवामा पनि नेपालीहरूको बसोबास छ । स्थायी बसोबासको अनुमति लिएर क्यानाडा पुग्ने नेपालीहरूको संख्या बढिरहेको छ । शैक्षिक योग्यता, दक्षता, अनुभव, अंग्रेजी भाषामाथिको पकड, वैवाहिक स्थिति तथा उमेरका आधारमा प्रदान गरिने अंकका आधारमा क्यानाडामा स्थायी बसोबासको अनुमति पत्र पाइन्छ ।

 

निश्चित समयपछि त्यहाँको नियमअनुसार नागरिकतासमेत प्रदान गरिन्छ । क्यानाडेली सरकारले सन् २०१५ मा ‘एक्सप्रेस इन्ट्री’ का रूपमा नयाँ आप्रवासीलाई छिट्टै आफ्नो देश भित्र्याउन नयाँ नियम लागू गरेको हो ।

 

c
पाँचखाल नगरपालिका, काभ्रेका माधव गजुरेललाई बस्नका लागि संसारकै सबैभन्दा सुन्दर देश क्यानाडा लाग्यो । एक अर्थमा सपनाको देश पुगेजस्तो, जहाँ उनले आफ्ना रहर र सपनाहरू पूरा गर्न सक्छन् । सन् २०१३ मा क्यानाडा पुगेका गजुरेललाई सुरुका वर्ष केही असहज लागे पनि बिस्तारै बानी पर्दै गयो । ‘मेरा लागि यहाँ सबै कुरा नयाँ थियो,’ उनले भने– ‘एक ठाउँबाट अर्को ठाउँ पुग्नै २४ घण्टा लाग्ने । यहाँको विकास, प्रविधि हेर्दा हामी त २ सय वर्षपछाडि परेजस्तो लाग्यो ।’ यतिबेला उनी क्यानाडाको समाजसँग भिजिसकेका छन् ।

 

गजुरेल त्यहाँको यातायात उद्योगमा रोजगारी गरिरहेका छन् । टोरन्टोको चमत्कारिक विकास, डिजिटल प्रणाली, कडा अनुशासन र सबैलाई दिइने समान अवसरले उनलाई छक्क पार्छन् । क्यानाडाको सुख एवं सम्पन्नतामा जीवनयापन गरिरहेका गजुरेल नेपाललाई मिस भने गरिरहन्छन् । राजनीतिक अस्थिरता, यहाँको फोहोर, धूलो–धूवाँबीच पनि नेपालको माया उत्तिकै लागिरहन्छ । परदेश पुगेपछि दोस्रो दर्जाको नागरिक भएकोमा कता–कता नमीठो पनि लाग्छ । बेलाबेला आफू को हुँ र आफ्नो पहिचान के हो भन्ने लागिरहन्छ । आफ्नो जन्मभूमिबाट टाढा हुँदा घरदेशको मायाले बिछट्टै सताउँछ ।

canada
विगत ५ वर्षदेखि क्यानाडाको टोरन्टोमा बसोबास गरिरहेका ओखलढुंगाका अशोक खड्काका अनुसार क्यानाडा झन्डै २०/२२ हजार नेपालीको कर्मथलो हो । तिनैमध्येका एक हुन्— हलवार–७, लामिदमार, दाङका एनबी टन्डन । उनी क्यानाडा बसेको ११ वर्ष भयो । क्यानाडाको ओन्टारियोमा बसोबास गरिरहेका एनबीले नेपालमा रहँदा १३ वर्ष काठमाडौंस्थित क्यानेडियन राजदूताबासमा काम गरे ।

 

यहाँ राजदूतावासमा रहँदा लामो अनुभव बटुलेपछि उनलाई क्यानाडा नै जान मन लाग्यो । सुरुवातका दिनमा त्यहाँ घुलमिल हुन कठिन भए पनि यतिबेला टण्डन अभ्यस्त भैसकेका छन् । ‘क्यानाडा अवसरको भूमि हो ।’ टन्डन भन्छन्— ‘यहाँ पढ्न, बस्न तथा काम गर्न सहज छ ।’ फ्रेन्च र अंग्रेजी भाषा कुनै एउटा भाषामा दक्षता छ भने काम प्राप्त गर्न अझ सजिलो हुन्छ ।

 
जुन सोच लिएर टन्डन क्यानाडा पुगे त्यसमा सफल भएकोमा उनलाई गर्व लाग्छ । टन्डन नेपालको पर्यटन प्रवद्र्धन अर्थात् त्यसको प्रचार–प्रसारमा पनि क्रियाशील छन्, तर यो काममा अमेरिका र क्यानाडाका राजदूतबाट सहयोग नपाउँदा भने उनको मन दुखेको छ । टन्डन एनआरएन क्यानाडामा पर्यटन संयोजकका रूपमा सक्रिय छन् । उत्तर अमेरिकाका ४८ तथा क्यानाडाका १० वटा राज्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि उनले अभियान नै चलाएका छन् । ‘यो ठूलो उपलब्धि हो ।’ उनले भने । ‘अरूले पैसा कमाउँछन् तर म नेपाललाई चिनाउँछु ।’

 
क्यानाडा आउन चाहनेहरूलाई नेपालमै सीप सिकेर आउन सुझाव दिन्छन् उनी । इलेक्ट्रोनिक्स, प्लम्बिङ, वाइल्डिङ तथा ड्राइभिङका लागि त्यहाँ रोजगारीको प्रशस्त अवसर छ । व्यापार गर्न चाहनेहरूलाई पनि पर्याप्त अवसर र सुरक्षाको वातावरण छ । त्यस्तो अवस्थामा सरकारले सहयोग गर्छ । विशेष गरी नर्सिङ, इन्जिनियरिङ, आइटी, विज्ञान, होटल व्यवस्थापन तथा टुरिज्म आदि विषय पढ्न विद्यार्थीहरू क्यानाडा रोज्न थालेका छन् । अध्ययनसँगै पीआरसमेत पाइने सम्भावना भएकाले क्यानाडा धेरैको रोजाइमा पर्ने गरेको छ । कर तिरेपछि नागरिकका न्यूनतम आधारभूत आवश्यकता खाना, बसोबास, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिन्छ ।

 
नेपाली कला, संस्कृति र भाषाको जगेर्ना गर्न नेपालीहरूले विभिन्न संस्थामार्फत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय नर्सिङ पढ्नेहरूको संख्या बढ्दैछ । नेपालमा स्नातकोत्तर पूरा गरेका पुरुषहरू पनि यहाँको स्कुलिङ सकेर नर्सिङ पढिरहेका भेटिन्छन् । केही नेपाली यहाँको सरकारी सेवामा पनि संलग्न छन् । प्राविधिक शिक्षामा राम्रो दख्खल हुनेहरूले छिटो काम पाउँछन् । मेडिकल रेडियसन टेक्नोलोजिस्ट तथा मेडिकल ल्याब टेक्नोलोजीमा काम पाउनेहरूको संख्या तुलनात्मक रूपले बढी छ ।

 

क्यानेडियन विश्वविद्यालयको पढाइ
उच्च शिक्षा अध्ययनका लागि सन् २०१३ को डिसेम्बरमा म क्यानाडा आइपुगें । आप्रवासी नेपालीहरूका लागि यहाँ स्थापित हुनु भनेको फलामको चिउरा चपाउनुसरह छ । एमए तथा पीएचडी गर्न निकै संघर्ष गर्नुपर्छ । नेपाली शिक्षालाई आफ्नो शिक्षासरह मान्यता नदिनु, नेपालमा पढाइ हुने कुनै पनि युनिभर्सिटीमा अंग्रेजी माध्यममा पढाइ हुन्छ भनी प्रमाणित नगर्नाले यहाँका विश्वविद्यालयहरूमा भर्ना पाउन निकै गार्‍हो छ । त्यसमा पनि हाम्रो नेपालको शिक्षा पद्धति फरक छ ।

 
वर्षमा एकपटक परीक्षा हुने अनि लब्धाङ्क न्यून हुने जस्ता कुराले गर्दा राम्रा विद्यार्थीहरू पनि अमेरिकी विश्वविद्यालयमा पढ्नबाट वञ्चित छन् । नेपालमा प्रतिस्पर्धात्मक शिक्षा अवलम्बन गर्न नसक्दा नेपाली विद्यार्थीहरू आधुनिक दुनियाँमा आफूअनुकूलको शिक्षाबाट वञ्चित छन् । नेपालमा सेमेस्टर प्रणाली लागू गर्न धेरै वर्षदेखि योजना बुनियो र केही कलेजमा सुरु पनि गरियो तर राजनीतीकरणपछि त्यसको अवसान भयो । यदि सेमेस्टर प्रणालीलाई विश्व बजारको अभ्यासअनुरूप विकास गरेको भए नेपाली विद्यार्थीहरूले विश्व शैक्षिक जगत्मा उथलपुथल ल्याउन सक्ने थिए । यद्यपि न्यून संख्यामा भए पनि क्यानाडामा नेपाली विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्दैछन् ।

 

 
म हाल क्यानाडाको टोरोन्टोस्थित रायर्सन युनिभर्सिटीमा पब्लिक पोलिसी विषय अध्यनरत गर्दैछु । यहाँको पढाइको तरिका, गति तथा व्यावहारिकता हेर्दा अचम्म लाग्छ । उनीहरूले बजारको मागअनुसार विद्यार्थी उत्पादन गर्नेदेखि लिएर त्यही अनुसार स्तरीयताको ग्यारेन्टी पनि गर्छन्, जसको परिणाम विद्यार्थीहरू अध्ययन सकेपश्चात् बेरोजगार रहँदैनन् ।

 

यस्तो खालको शैक्षिक प्रणालीमा आफू विद्यार्थी हुन पाउनु गौरवको विषय हो तर चुनौती पनि उत्तिकै छन् । दैनिकजसो हुने असाइन्मेन्ंट तथा अन्य प्रिजेन्टेसनको तयारीले गर्दा जीवनमा कहिलेकाहीं नैराश्यता पनि छाउँछ । क्यानेडियन विश्वविद्यालयहरूले स्नातक तहमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षण गर्न खोजेको पाइन्छ तर नेपालीहरूका लागि क्यानाडाको शिक्षा त्यति आकर्षण बन्नसकेको छैन । पहिलो कुरा त स्नातक तहको अध्ययन शुल्क चर्को छ । विद्यार्थीहरूले हप्तामा जम्मा २० घण्टा मात्र काम गर्न पाउने अनुमति पाउँछन्, जसले गर्दा खानबस्न पनि गार्‍हो हुन्छ ।

 

अन्तर्राष्ट्रिय विद्यार्थीले चारवर्षे स्नातक पूरा गर्न युनिभर्सिटी शुल्क मात्र लगभग १ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । यद्यपि स्नातकोत्तर तथा पीएचडी गर्न सम्पूर्ण खर्चको बन्दोबस्त विश्वविद्यालयहरूले नै गर्छन् । क्यानाडामा उच्च शिक्षा हासिल गर्न प्रशस्त विश्वविद्यालय पनि छैनन् । यहाँ अत्यन्त न्यून संख्यामा विद्यार्थी भर्ना गरिन्छ । विभिन्न कारणले गर्दा जोकोहीले सहज रूपमा पढ्न पाउँदैनन् । त्यसैले नेपाली विद्यार्थीका निम्ति क्यानाडियन युनिभर्सिटीहरू सहज नभएका हुन् ।

 

 
उत्तर अमेरिकी युनिभर्सिटीहरू विश्वप्रतिस्पर्धामा अग्रस्थानमा छन् । त्यसैले त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षण बढ्नु स्वाभाविक हो । शिक्षाका साथसाथै यहाँको शासन पद्धति, व्यवहार, रहनसहन, बोलीबचन, वेशभूषा तथा सम्बृद्ध संस्कार विश्वमै उत्कृष्ट छ । यसबाट जो–कोही प्रभावित नहुने कुरै भएन । हाम्रो जस्तो देश अथवा हामी नेपालीहरूले यस्ता कुराहरूबाट पाठ सिक्नु जरुरी छ ।
विश्वम्भर घिमिरे
टोरोन्टो, क्यानाडा

 

क्यानाडामा व्यवहारिक तथा जीवनोपयोगी शिक्षा पाइन्छ
म सन् २०११ जुनदेखि क्यानाडामा छु । सुरुमा यहाँको सबैभन्दा ठूलो सहर टोरोन्टोमा दुई वर्ष बसियो । पछि रोजगारीका सिलसिलामा अल्बर्टा राज्यको राजधानी एडमन्टन सहर पुगियो । यहाँको म्याक इवान युनिभर्सिटीबाट टिचिङ एसिस्टेन्ट एन्ड सोसल सर्भिसमा डिप्लोमा गरेपछि हाल एउटा सरकारी स्कुलमा शिक्षण सहायकका रूपमा कार्यरत छु ।

 

सन् २००९ देखि २००११ सम्म क्यानाडा सरकारको फेडरल स्किल्ड वर्कर भिसामा पढेलेखेका शिक्षित मानिसहरू क्यानाडा जाने विश्वव्यापी लहर थियो । नेपालमा पनि तत्कालिन स्कुल कलेजका शिक्षकहरूमा त्यसको प्रभाव राम्रैसँग पर्‍यो । यो प्रोग्राममा सँगैका साथी स्थायी बसोबाससहितको भिसा नेपालमै लिएर धमाधम क्यानाडा हिंड्न थालेपछि देखासिकीमा आवेदन गरियो अनि भिसा पाएपछि यता लागियो ।

 
यहाँका अनुभव र भोगाइ अपार छन् । हप्ताको ५ दिन काम गरेपछि बाँकी दिन आफ्नो धुनमा चल्न पाइन्छ । कसैले कसैका बारेमा अनावश्यक चासो राख्दैनन् । जस्तोसुकै काम गरे पनि राज्यलाई कर तिर्नु अनिवार्य छ । कर तिरेपछि नागरिकको जीवनको जिम्मा राज्यले लिन्छ । अन्यत्र जस्तो यहाँका विश्वविद्यालय र कलेजहरू सहज छैनन् । राज्य लगानीका कलेज तथा विश्वविद्यालयहरूमै जनताको विश्वास र भरोसा बढी भएकाले यहाँ प्राइभेट स्कुल कलेजको प्रभाव र उपस्थिति उल्लेख्य छैन । युनिभर्सिटी प्राइभेट वा पब्लिक जे भए पनि एकेडेमिक एक्सिलेन्सीलाई नै जोड दिन्छन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन ।

 

 
मैले यहाँको प्रतिष्ठितमध्येको एक विश्वविद्यालय पढें । यहाँ कक्षाकोठालाई जीवनसँग जोडेर अध्यापन गराइन्छ । जे विषय पढेको हो, त्यो क्षेत्रमा गएर धेरै रिसर्च पेपर र प्रोजेक्ट वर्कका असाइनमेन्टको बोझले कहिल्यै छोड्दैन ।

 

पढाउने तरिकालाई व्यवहारिक पक्षसँग जोडेर पढाएपछि सिकाइ दिगो, अर्थपूर्ण र जीवनउपयोगी हुँदो रहेछ । यहाँ नेपालमा जस्तो एउटा परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण विद्यार्थीको क्षमता परीक्षण गरेर पास वा फेल गराउने भन्ने हुँदैन । पढाउने प्राध्यापक नै परीक्षा नियन्त्रक वा कार्यालय हुन् भने हुन्छ । व्यक्तिगत चिनजान वा लाभ हानिका आधारमा प्राध्यापकले पास, फेल गराउने भन्ने कुरा चिताउन पनि सकिँदैन । शिक्षकलाई साथीजस्तो त बनाउन सकिन्छ, तर व्यवसायिक कर्म र धर्ममा एक इन्च तलमाथि हुँदैन ।

 

 

क्यानाडामा संसारका सबै देशका नागरिक छन् । यहाँ बस्दा संसारका सबै जाति, धर्म, वर्ण, संस्कृति र पहिचानको एउटा मिश्रणमा हराएजस्तो महसुस हुन्छ । मानव जातिका अनेक क्षेत्रीय, जातीय अभ्यास र शैली हेरेर, बुझेर तथा मनन गरेर जिउन साँच्चै नै आनन्द हुँदो रहेछ । भौतिक सुविधा र सम्पन्नताले गर्दा क्यानाडा लोभलाग्दो नै छ । कमाइ पनि राम्रै हुन्छ । क्यानाडा आउन सीधै सरकारलाई आवेदन दिनुपर्छ र पर्याप्त जाँचबुझ गरेर मात्र भिसा दिने–नदिने निर्णय लिइन्छ ।

 

 

अस्ट्रेलिया, युरोपतिर र अमेरिकामा जस्तो विधि पूरा गरेर नेपाली विद्यार्थी क्यानाडा आउँदैनन् । त्यसको कारण यहाँका युनिभर्सिटीमा भर्ना पाउनै गार्‍हो हुनु नै हो । अर्को कुरा, सूचनामा पहुँच नहुनु पनि हो ।

 

पढ्नका लागि मात्र क्यानाडा आउनेलाई गार्‍हो छ । चर्को ट्युसन फी, खानेबस्ने खर्च जुटाउन काम गर्नुपर्ने बाध्यता छ । नेपालमा ‘क्यानाडामा वर्किङ भिसा सजिलै’ भन्ने नारामा ठगी हुन्छ । त्यसको पछि नलागे हुन्छ । अध्ययन वा अन्य जुनसुकै भिसामा पनि आवेदन दिन कुनै कन्सल्टेन्सी वा एजेन्सीलाई पैसा ख्वाउन आवश्यक छैन ।

 

क्यानाडा सरकारको सिटिजेन्स एन्ड इमिग्रेसनको वेबसाइट http://www.cic.gc.ca/english/immigrate मा सबै प्रकारका भिसा आवेदनका विधि, प्रक्रिया, शुल्क, योग्यता–अयोग्यता सबै कुरा अति नै सरल ढंगले उल्लेख छ । पर्याप्त अनुसन्धान गरेर सबै सूचनामा ढुक्क भएपछि आफैं आवेदन गरेर आउँदा राम्रो हुन्छ । बिजनेस स्टडिज, सूचना प्रविधि, समाजशास्त्रलगायत अन्य प्राविधिक डिग्रीका लागि क्यानाडाका विश्वविद्यालयमा भर्ना पाउनु ठूलो उपलब्धि हो ।
यम घिमिरे

Be the first to comment on "क्यानाडामा बस्ने नेपालीको कथा"

Leave a comment

Your email address will not be published.


*