कोरियाली बैंकमा नेपाली

image

दक्षिण कोरियामा सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित छ, कोरियन एक्सचेन्ज बैंक। १२ वटा क्षेत्रीय कार्यालय र ३ सय ५८ शाखामा छरिएको यो बैंकमा झन्डै ८ हजार कर्मचारी कार्यरत छन्। कोरियन एक्सचेन्ज बैंकको राजधानी सोलस्थित मुख्य कार्यालयमा भेटिन्छन्, एक जना नेपाली— सुरेश लिम्बू, जो त्यहाँ विगत दुई वर्षदेखि मार्केटिङ लिडरका रूपमा कार्यरत छन्। चार वर्ष

कोरियास्थित नेपाली राजदूतावासको प्रशासनमा अनुभव बटुलेका सुरेशले कोरियामा पाइला टेकेको २१ वर्ष पुगिसकेको छ। ‘टुरिस्ट भिसामा यता छिरेको पनि २१ वर्ष नै भयो।’ सोलस्थित एक कोरियाली रेस्टुराँमा बसेर कुराकानी गर्दै सुरेशले आफ्नो विगत सम्झिए। ताप्लेजुङको सिनाम स्थायी घर भएका लिम्बूका थुपै्र साथी लाहुरे बनेर भारत र बेलायततिर पसे पनि उनलाई भने लाहुरे बन्न मन लागेन। धरानबाट आईकम पूरा गरेका लिम्बूलाई सुरुमा विदेश जाने त्यति रहर पनि थिएन। टुरिस्ट भिसामा १५ दिनका लागि कोरिया घुम्न पुगेका लिम्बूलाई त्यहाँको परिवेशले लोभ्यायो। अर्को पटक त्यतै हान्निए।

कहिलेकाहीं अचानक हुने भेटहरू अत्यन्तै मीठा हुन्छन्। सुरेशको यस्तै मीठो जम्काभेट भयो एउटी कोरियाली युवतीसँग। कोरिया पाइला टेकेको सुरुवातका वर्ष ओसान गाउँनजिक इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने सुरेश साइकलमा हुइँकिरहेका बेला अचानक उनका आँखा एक कोरियाली युवतीसँग ठोक्किए। कुदिरहेको साइकल टक्क रोकियो। यता आफ्नै सुरमा लम्किरहेकी ती युवती पनि उनीसँगै आँखा चार गर्न पुगिन्। मुखभन्दा धेरै आँखाहरू बोले। सुरेश उतिसारो कोरियाली भाषा बोल्न नजान्ने, ती युवती नेपाली बोल्न नजान्ने। कति कुरा संकेतकै आधारमा बोलिए। लामो बाटो सँगै हिंडे पनि एक-अर्कालाई कति कुरा भन्न मन थियो, मनको कुरा व्यक्त हुनै सकेन।

त्यसपछि सुरेशका कैयौं दिन यसरी नै बिते। मेडिकल कम्पनीमा काम गर्ने ती युवतीसँगै उनी सुवनका चलचित्र हलहरू पसे, इन्छनका समुद्री किनार चहारे, छेजुदो आइल्यान्डमा पाइला टेके। ६ महिना यौवनका यस्तै अविस्मरणीय दिनहरूको स्वाद चाखेपछि अन्तत: तिनै युवती पार्क नेसुकलाई उनले सधँैका लागि आफ्नो बनाए। ‘भाषा, संस्कृति, धर्म र रहनसनहनले सुरुमा निकै गार्‍हो भयो।’ उनले भने, ‘मन मिलेपछि सबै कुरा मिल्दो रहेछ।’ जीवनसाथी पार्कसँगको भेट नै उनका लागि त्यस्तो अविस्मरणीय क्षण बन्यो जुन सम्झँदा पनि आनन्द मिल्छ। अब त लामो कोरिया बसाइले उनलाई खुसी दिने इष्टमित्रहरू जोडिइसकेका छन्। नेपाली परिकार दाल, भातको ठाउँमा साम्ग्यापसाल, थेन्जाङचिगे, किम्चीचिगेजस्ता कोरियाली तथा चिनियाँ परिकारको बानी परिसकेको छ। यहाँको सबैभन्दा मन परेको पक्ष हो— कानुनी राज्यको प्रत्याभूति। जहाँ गए पनि, जता गए पनि सुरक्षा छ। चोरी र लुटपाटका घटना कहिल्यै सुनिँदैन।

प्रतिष्ठित कोरियन एक्सचेन्ज बैंकको मार्केटिङ लिडर जस्तो पदमा पुगेकोमा सुरेशलाई गौरव महसुस हुन्छ। कोरियास्थित नेपाली राजदूतावासको तल्लो तहबाट काम थालेर यहाँसम्म पुगी सुरेशले नेपालीहरूले पनि केही गर्न सक्छन् भन्ने राम्रो उदाहरण प्रस्तुत गरेका छन्। ‘ठाउँ र अवसर मिल्ने हो भने हामी पनि उच्च पदमा पुग्न सक्छौं।’ उनले सुनाए। बिहान साढे ८ बजे अफिस पुगिसक्ने सुरेश बेलुका साढे ६ बजेतिर घर र्फकन्छन्। कहिलेकाहीं व्यस्तताले घर पुग्दा घडीले रातको ८-९ बजाइसकेको हुन्छ। हँसिलो अनुहारमा भेटिने लिम्बू अफिसमा सधैं टाई-सुटमा देखिन्छन्। अन्य समयमा जिन्स पाइन्ट वा हल्का पहिरनमा हिंड्न रुचाउँछन्। हिंड्दा उनको साथमा सामसुङको एसटु मोबाइल कहिल्यै छुट्दैन। यात्रामा जाँदा एप्पलको आइपड साथी हुन्छ। फुर्सदमा उनी कोरियाली चलचित्र हेरेर, कोरियाली संगीत सुनेर आनन्द लिन्छन्।

कोरियामा ठूलो संख्यामा नेपाली कामदार छन्। अधिकांशले घरमा पैसा पठाउदा हुन्डीमार्फत पठाउँथे। त्यसरी अबैध ढंगमा कारोबार गर्दा मुलुकले ठूलै मात्रामा रेमिट्यान्स गुमाइरहेको थियो। सुरेशले नेपाली कामदारहरूलाई निजी तवरले भेटेर कोरियन एक्सचेन्ज बैंकका बारेमा जानकारी गराए। बैंकमार्फत नै पैसा पठाउन प्रेरित गरे। क्रमश: बैंकमार्फत पैसा पठाउनेहरूको संख्या बढ्दै गयो। अहिले त हरेक महिना कम्तीमा १ हजार कामदारले बैंकमार्फत पैसा पठाउँछन्, जसले गर्दा नेपालको रेमिट्यान्समा केही टेवा पुगेको छ। ‘यसमा ठूलो योगदान सुरेशजीकै छ,’ सोलमा भेटिएका गोपी पाण्डेले भने।

लामो समय परदेशमा बस्दा घर, परिवार र देश एकदम मिस हुँदो रहेछ। सुरेश पनि कहिलेकाहीं नेपाल नै र्फकने सोचमा डुब्छन्, तर यहाँको व्यवस्थित सिस्टमले तानिरहन्छ। कुनै पनि देशको विकास हुन कानुन बलियो हुनुपर्ने उनको अनुभव छ। चाकडी, चाप्लुसीभन्दा मेहनतले मात्र जीवनस्तर उक्सिने लिम्बूको विश्वास छ। राजनीतिमा सुधार आए फर्केर नेपाल नै आउने सोच पनि बनाएका छन् उनले। त्यो बेला म कुनै सामाजिक काममा लाग्नेछु -यसो भनिरहँदाको मुहार उज्यालो देखिन्थ्यो।

सुरेश लिम्बू, मार्केटिङ लिडर (कोरियन एक्सचेन्ज बैंक)

प्रेरणाको स्रोत : बुबा-आमा

अविस्मरणीय क्षण : श्रीमतीसँगको भेट

खुसीको क्षण : कोरियन एक्सचेन्ज बैंकमा जागिर पाउँदा

दु:खको क्षण : व्यापारमा असफल हुँदा

मनपर्ने चलचित्र : चिनो

मोबाइल : सामसुङ ग्यालेक्सी एसटु

मिस हुने कुरा : घर, परिवार, इष्टमित्र, देश

अबको लक्ष्य : नेपालमा सामाजिक काम गर्ने।

Be the first to comment on "कोरियाली बैंकमा नेपाली"

Leave a comment

Your email address will not be published.


*