कुवेतका नेपालीहरुको कथा

006नरेन्द्र रौले
कुवेत रोजगारीका लागी राम्रो गन्तब्य

रोजगारीको लागि कुवेत निकै राम्रो गन्तब्यमा पर्छ । त्यही रहरले म पनि नुवाकोटको देउरालीबाट ५ वर्षअघि कुवेत पुगें । कुबेतमा नेपाली संघ, सँस्थाहरु पनि निकै क्रियाशिल रहेको हुनाले स्वदेशका लागी पछि गएर सामाजिक कामहरु गर्न सकिन्छ भनेर पनि मेरो रोजाईमा परेको हो ।
कुवेतको पाँचवर्षे बसाई साँच्चै नै अबिस्मरणिय र रमाईलो लाग्यो । यहाँको ग्लास सेन्टर भन्ने कम्पनीमा मैले म्यानेजरको जिम्मेवार समाल्दै आइरहेको छु । परदेशमा भएपनि ड्यूटीबाट आफ्नो समय बचाएर आफू जन्मिएको, हुर्किएको समाज र देशका लागी रचनात्मक, परोपकारी कामहरु गर्न पाउँदा गर्ब र खुसी लाग्छ । भिन्न देशको भिन्न संस्कारमा रहँदा कहिलेकाही दु:ख, कष्ट पनि झेल्नु पर्दा आफ्नो देशको झभल्झली याद आउँछ । समाज सेवाको नाममा कतिपय अबस्थामा बिकृति र बिसंगति देख्दा अलिक नरमाईलो महशुष पनि हुन्छ ।

 
कुवेत बसाईले साथीभाइ चाहिं धेरै कमाएछु जस्तो लाग्छ । मलाई ‘लामा भाई’ भनेर सम्मान र माया गर्ने सबैजना मेरो जीन्दगीको सबैभन्दा ठुलो कमाई हो । र, मैले रातदिन नभनि ड्यूटीको समय मिलाउदै एउटा अनलाइन (परदेशिखबर डट कम) पनि चलाईरहेको छु । यस अनलाईनबाट सामजिक विकास, परिबर्तन, उत्प्रेरणा जस्ता बिषयक समाचार सम्प्रेषण गरिरहेको छु । यो काम मेरो एक्लो प्रयासले सम्भब भएको होईन मेरा शुभचिन्तक, साथीभाईको सहयोगले सफलता मिलेको हो ।

 
कुवेतमा ड्यूटी गर्दै समय मिलाएर अध्ययन गर्ने केहि नेपालीहरु पनि छन् । पढ्दै, काम गर्न गार्‍हो छ । सानो मेहनतले यो सम्भब छैन । इच्छा शक्ति, मेहनत, जाँगर, समय र आर्थिक ब्यबस्थापन मिलाउनु उति सहज छैन । कामदारले यहाँका कलेजमा सिधै भर्ना भएर सेमेस्टर प्रणाली अनुसार अध्ययन गर्न सकिदैन । भारतीय बिश्वबिद्यालबाट सम्बन्धन प्राप्त केहि इन्स्टिच्यूटहरुले अध्ययन गर्ने अवसर जुटाई दिएपनि नेपालको तुलनामा यहाको पढाई निकै महंगो हुन्छ ।

 
कुवेत रोजगारी र आम्दानीको हिसाबले हामि नेपालीको लागि मध्यपुर्बको राम्रो गन्तब्य हो । बिदेशमा पैसाको बोट हुन्छ, बाहिर जाने बित्तिकै लाखौं रुपैयाँ टिपेर ल्याउन सकिन्छ भन्ने बुझाई गलत छ । हामीसँग सीप र अंग्रेजी भाषाको राम्रो ज्ञान छ भने बाहिर जाँदा राम्रो र आकर्षक रोजगारीको अवसर पाउन सजिलो हुन्छ । र, यहाँ आउनु भन्दा पहिला सीप सिक्नु, भाषाको ज्ञान लिनु, कडा मेहनत गर्छु भन्ने आत्मबिश्वा लिएर आउने हो भने पछि पछुताउनु पर्दैन ।
अन्र्तराष्ट्रिय मानब अधिकार सम्पन्न यूरोप जस्तो कुवेत पक्कै छैन । र, पनि अरु खाडी मुलुक भन्दा राम्रो नै छ । मिहिनेत, सीप, कामप्रतिको ईमान्दार हुने हो भने बढुवा हुने सम्भाबना हुन्छ । समयमा तलब भुक्तानि, बीमा, हप्तावारि बिदा, बिमारी बिदा, आकस्मिक बिदा जस्ता कुराहरु कामदारले पाउँछन् ।

 
मासिक तलबको आधारमा प्रतिघण्टा तलबको निर्धारण हुन्छ । कम्पनीको ब्यबसाय अनुसार अतिरिक्त समय (ओटी) को ब्यबस्था हुन्छ । अब दश जना मान्छेले सक्ने काममा पन्ध्र जनाको भार बढ्यो भने तिनै दस जनालाई आठ घण्टाको सट्टा दस घण्टा काम गराएर थप दुई घण्टाको ज्यादा भुक्तानि गर्ने चलन छ ।

 
अहिले कुवेतमा दुताबास हुँदा श्रमिकहरुलाई हरेक समस्या समाधान गर्न सजिलो छ । दुई देशबिच दौत्य सम्बन्धमा पनि केहि प्रभाव परेको छ । तर आम नेपाली श्रमिकहरुको अपेक्षा अनुसार भने काम हुन बाँकी नै देखिन्छ ।
लामा भाई, कुवेत

 

कुवेतमा धेरै कुरा सिकियो
रोजगारीका लागी कहाँ जाने कुनै टुंगो थिएन । जागिर खोज्दै जाँदा अवसर कुवेतमा आउने मौका पाईयो । यता आएको पाँच वर्ष भयो । सुख, दुख जीवन चलिरहेकै छ । हाम्रो देशमा देख्न र भोग्न नपाएको कुराहरु यहाँ सिक्न पाईयो ।
घर, परिवारसँग टाढा हँुदाको पीडा भईरहन्छ । चाड पर्वमा आफ्नो परिवारसँग टाढा रहँदा मनमा पिडा हुन्छ । तर कहिलेकाही काम गरे वापत स्याबासी पाउदा भने खुशी मिल्छ । जे होस् यहाँको बसाईमा धेरै कुराहरु सिक्न पाएकोमा म खुशी नै छु । ईकोभर्ट एफएम कम्पनिमा सन् २०१० देखि साइट प्रोजेक्टको सोफट सर्भिसेस कोर्डिनेटरका रुपमा म कार्यरत छु ।

 
मैले काम गर्ने यो भबन खाडी देशभित्रको एक मात्र क्यान्सर रोग लागेका बच्चाहरुको लागि चिकित्सक देखि लिएर बिभिन्न खालको मनोरन्जात्मक सुविधाहरुले भरिपूर्ण हस्पिटल हो । यहाँमेरो कम्पनीले दिएको पदको हकमा ५ कार्य क्षेत्र छन्, जसमा सेक्युरिटी, लेन्ड स्क्याप, लान्ड्री, क्लिनिङ र किचेनमा काम गर्नेहरुको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।
यहाँको गर्मि भने पटक्कै मन पर्दैन । अनि यहाँको संस्कार जुन हाम्रो भन्दा फरक र आश्चर्यजनक खालको छ । कुवेत आउन चाहनेले आफु कुन काममा आउन लागेको हो त्यसबारे राम्रोसँग बुझेर आउदा राम्रो हुन्छ । यहाँ बोलिने भाषा र सीप र सिकेर आउनु राम्रो हुन्छ । नत्र धेरै दुख भोग्नुपर्छ । कुवेतमा सबै कामदारहरुलाई एकै किसिमको सुबिधा हुँदैन । सुविधाहरु कम्पनि अनुसार निर्भर हुन्छ । बर्षमा ३० दिन बार्षिक बिदा मिल्छ । कम्पनीले खान बस्नदेखि सम्झौता अनुसारका सुविधाहरु उपलब्ध गराउँछ । सुबिधाको बारेमा पुराना कामदारहरुलाई सोधी खोजि गरेर आउँदा राम्रो हुन्छ ।

 
सबै कम्पनीमा ओटिको ब्यबस्था हुँदैन । र, भएकोमा पनि ओटि कम्पनि अनुसार दिने गर्छ । यहाँको कमाइ राम्रै छ । धेरै कुराहरु सिक्न र देख्न पाईएको छ । हामी जस्ता सर्बसाधारणलाई आफ्नै देशमा त्यसको अनुभब गर्न सम्भब छैन ।
नैन कला राई, खोटांग, दिक्तेल
हाल : कुवेत

 

कुवेतमा नेपालको झझल्को
सन् २००४ को अन्त्यतिर म कुवेत आइपुगेको थिएँ । जाडो निक्कै थियो । यस्तो लाग्थ्यो कि मुटुको रगत पनि जम्छ होला । मेरो आफ्नै दाइ सन् २००१ तिर यहाँ आउनुभएको थियो । त्यो बेला अरु देश जान धेरै पैसा चाहिन्थ्यो । नि:शुल्क भिसा निकाल्न मिल्ने भएकोले दाजुले मलाइ पनि सन् २००४ को अन्त्यतिर भिसा निकालिदिनु भयो जुनबेला म एसएलसिको परिक्षाको असफल नतिजाले भौतारिरहेको थिएँ ।

 

कस्तो हुन्छ कल्पना थिएन । काठमाडौबाट दिल्ली हुँदै कुवेतको अंन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्दा अनौठो लागेको थियो । एयरपोर्टमा हामीलाई लिन गाडी आयो । सिधै कम्पनिमा पुर्‍याएपछि बल्ल थाहा भयो, त्यो क्लिनिङ कम्पनी रहेछ । दुई तीन दिन सम्म क्याम्पमै राखियो । तालिम गराउँदै तीन दिनको तालिम पछि ड्युटीमा पठाए । होटलमा मेरो पहिलो दिनको ड्युटी थियो पाइखाना सफा गर्ने देखि कोठा सफा गर्ने सबै काम सम्म । भाषा नबुझेर समस्या भयो । मनभरिको पीडा गाउँघरको सम्झनाले आँशु बग्छ ।

 
चार महिना बितेछ, महिनाको ७ हजार ५ सय तलब पाईयो । चार घन्टा दैनिक ओभरटाइमले मुस्किलले १२ हजार पुग्थ्यो । दाजु सुपर्भाइजर भैसकेकोले नयाँ सम्झौताअनुसार ड्युटी परिबर्तन गरिदिनुभो । त्यो अमेरिकन कम्पनी रहेछ, जसमा शुक्रबार पनि काम हुन्थ्यो । त्यसको आफ्नो कम्पनिले थाहा नपाइ मासिक १० हजार दिन्थ्यो । तलब र ओभर टाइम गरेर २०/२२ हजार कमाइ हुन्थ्यो । त्यो कम्पनी के कारणले हो बन्द भयो अनि बैंकमा चिया बनाउने काममा पठायो । कमाई आधा भन्दा कम हुन थालेपछि मन अडिएन । र, अर्को कम्पनीमा सर्ने योजना बनाएँ ।

 

केहि महिनापछि मैले नयाँ कम्पनी सर्ने मौका पाएँ । झन्डै ४५/४७ हजार जति तलब हुन्थ्यो । पानीजहाज सम्बन्धि काम थियो । ओभर टाइम नहुने ड्युटी पनि ८ घन्टा मात्रै ठिकै थियो । तर एक साल नबित्दै पेट्रोलियम कम्पनिमा त्यो भन्दा राम्रो अवसर पाएको हुँदा फेरि कम्पनी सरें, जुन कम्पनिमा अहिले सम्म कार्यरत छु । समग्रमा कुवेत एउटा सानो देश भएर पनि ८०/९० हजार नेपालीले रोजगार पाउनु आफैमा गौरवको कुरा हो, जसमा कम्पनी सर्न पाउनु अर्को अति नै राम्रो पक्ष हो ।
ड्युटी मिलाएर इच्छुक काम्दारहरुले पढाइलाई निरन्तर पनि दिन भ्याएका छन् । अर्कोतर्फ बिभिन्न राजनैतिक, सांस्कृतिक, समाजसेवि र जातिय संघ सँस्थाहरु पनि भएकोले दूतावाससँग सहकार्य गरि बिभिन्न राम्रा कामहरु पनि हुँदै आएका छन् । कतिले आफ्नो रुचि अनुसारको सँस्थामा आबद्ध भएर आफुलाइ चर्चामा कमाएका छन् । यी राम्रा पक्षहरु भए । सन् २०११ भन्दा पहिले दूतावास नहुँदा सबै कामकाज साउदिको दूतावासबाट हुन्थ्यो । अनगिन्ती समस्याहरु थिए । विभिन्न दुर्घटनामा पनि ज्यान गुमाएका लासहरु देश फिर्ती गराउनमा ढिलाइ हुन्थ्यो ।

 
अरु खाडी रास्ट्रको तुलनामा कुवेत राम्रै छ । राम्ररी ध्यान दिएर काम गरे आफैले ब्यापार सूरु गर्न सकिन्छ । धेरै नेपालीहरु नै उदाहरण यसरी ब्याबसाय सञ्चालन गर्दै पनि आएका छन् । कम्पनिका कामदारहरुको मुख्य समस्या भनेको कुनै ठुला–ठुला कम्पनिहरुले अरु कम्पनिमा सर्ने अबसर नदिनु नै हो । अरु साधारण एउटा दुईटा कम्पनिले तलब नदिने, ड्युटी धेरै लगाउने बस्नको राम्रो ब्यबस्था नगरिदिने मुख्य समस्या हुन् । त्यस्ता कम्पनिहरुको पहिचान गरि नेपाली दूतावास कुवेत र विभिन्न संघ संस्थाहरुको सहकार्य गरि ब्ल्याक लिस्टमा राख्ने र पिडितहरुलाइ देश फिर्तिको वातावरण मिलाइदिने कामहरु भैरहेको छ ।

 
अहिले सुपर मार्केटहरुमा सेल्स, क्यासियर, सेक्युरिटी, क्लिनर प्राय नेपालिहरु नै भेटिन्छन् । पब्लिक बसमा प्राय ड्राइभर नेपाली नै भेटिन्छन्, रेस्टुरेन्टमा वेटर सेफ प्राय नेपालीहरु नै छन् । रेस्टुरेन्ट, दोकान अनि क्रेन, कार्गो जस्ता ब्यबसाय गरेर बसेका नेपालिहरु पनि प्रसस्तै छन् ।
दिल कुमार पाख्रीन (मान बहादुर तामाङ)
केराबारी, मोरङ
हाल कुवेत

 
………
परिवारसँग छुट्टिएर बस्नु पर्दा नरमाईलो लाग्छ
संयोगले म सन् २००६ मा म कुवेत आईपुगें । यहाँ सीप हुनेलाई राम्रो छ । अवसरको कमी नै छैन । म ट्याक्सी चालक हो । यहाँ कुनै अभावको सामना गर्न पर्दैन । आफ्नो योग्यता अनुसारको सुबिधा छ । कुनै कम्पनीमा छ, कुनै कम्पनीमा छैन । यहाँको कानुन अनुसार ओटीको भुक्तानी काम गरेको ओटीको १.२५ ले गुणा गरेर दिनु पर्ने भन्ने छ । मैले गर्ने गरेको पुरानो कम्पनीमा सोहि अनुसार पाईन्थ्यो । अहिले त म तलबमा काम गर्दिन । परिवारसँग छुट्टिएर बस्नु पर्दाको पिडा नमिठो लाग्छ ।
कोशराज राई,
भोजपुर, हाल : कुवेत

 

कतिपय कम्पनीले ठग्छन्
पहिलो चोटी सन् २०११ को म कुवेत आईपुगें । ३ वर्ष यतै काम गरें । फेरी नेपाल गएर अहिले फेरी कुवेत आएको छु । कुवेत सानो देश भए पनि काम र कमाइको हिसाब सन्तोषजनक नै छ । कुवेत बस्दा नेपाली समुदायको बाक्लै उपस्थिीतिले खासै नियास्रो लाग्दैन । रमाईलोसँग दिन बित्न छ । स्वतन्त्र रुपले घुम्न पाईन्छ । पहिला म सप्लाइ कम्पनीमा काम गर्थें । अहिले अर्को कम्पनिमा काम गर्छु ।

 
कुवेत सरकार र कानुन बलियो छ । कुनैपनि कम्पनिमा ३ बर्ष कामको अनुभब बटुलेपछि आफूलाई मन परेको कम्पनी रोजेर जान पाइन्छ । यहाँ सप्लाइ कम्पनी धेरै भएकोले थोरै तलब सुबिधा कम हुन्छ, सरकारको कानुन अनुसार श्रमिक नियम अनुसार चल्दैनन् अनि अनैतिक गतिविधिमा लाग्ने केही व्यक्तिले गर्दा कहिलेकाही अबस्था सोचे भन्दा फरक भईदिन्छ ।

 
ऋण लिएर आउनेको खासै कमाइ हँुदैन । सीप सिकेर, भाषा सिकेर आउदा राम्रो हुन्छ । यहाँ कामदारको सुबिधा दुइ प्रकारका हुन्छन् । कम्पनी अनुसार आ–आफ्नै नियम हुन्छन् । ओभर टाइम पनि कम्पनी अनुसार हुन्छ । सामान्यतया कम्पनीले ९ घन्टा गर्नुपर्छ । १२ घन्टा भए ओभर टाइम पाईन्छ । बर्षमा ३० दिन बिदा मिल्छ । बिरामी बिदा १५ दिन पाईन्छ तर कम्पनीले खासै दिदैन । यहाँ दूतावास हुँदा धेरै सुबिधाहरु पाएका छौं ।
हामीले भागेको समस्या छिटो सुनुवाइ हुन्छ । तर अझै कामदारको हितमा सोचेजति काम भईरहेको छैन । कतिपय कम्पनिहरुले कामदार ल्याउँदा बढी तलब दिने भनेपनि पछि कम तलब दिन्छन् । यसरी ठग्दा हामी जस्ता सर्बसाधारणहरु मर्कामा पर्छौं । दुताबासले पनि कामदारको पक्ष त्यो बेला खासै पहल गर्न सकेको छैन ।
आङकाजी शेर्पा (आकाश यात्री )
ओखलढुंगा, कुवेत

 

कुवेतमा समाजसेवा
म कुवेत आएको चार वर्ष भयो । विश्वको सबैभन्दा ठुलो पैसा, राम्रो रोजगारी सुरक्षाको दृष्टिकोणले अन्य खाडी मुलुक भन्दा राम्रो भएकोले मैले कुवेत नै रोजें । मैले सोचे जस्तै यहाँको बसाई सुखद रह्यो ।
कुवेतमा बिभिन्न नेपाली संघ सँस्था छन् तिनकै माध्यमबाट समाजसेवा गर्न पाईएको छ । कलाकार भएको नाताले नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने काममा सानोतिनो योगदान दिईरहेको छु । कलाकारिता र उद्घोषण मेरो रुचिको विषय हो । म यहाँ कार्यक्रम उद्घोषण पनि गर्छु । गीतहरु पनि गाउँछु । नेपाल तामाङ घेदुङ कुवेत, लालिगुराँस साँस्कृतिक परिवार र परदेशी खबरमा आबद्ध भएकोले यिनै संस्था र अनलाइनको माध्यमबाट समाजसेवा पनि गर्ने गर्छु । तामाङ जाति र नेपाली कला, संस्कृतिको जगेर्नाको निम्ति यहाँ बिभिन्न कार्यक्रमहरु आयोजना गर्छौं ।
सुरेश ग्याबा तामाङ

Be the first to comment on "कुवेतका नेपालीहरुको कथा"

Leave a comment

Your email address will not be published.


*