कागे बाहुनको कथा

kage bahun

नरेन्द्र रौले
kage bahun‘कागे बाहुन’ का नामले परिचित सुम्बेक–९, इलामका रमेश दुलाल १ सय ७३ वटा पन्छीको आवाज निकाल्छन् । जीवजन्तुको आवाज बुझ्ने दुलालले हरेक वर्ष काग तिहारमा काग सम्मेलनको आयोजना गर्छन् । राजधानीमा कागको आवाज निकाल्दै यसपालि उनले १२ औं काग सम्मेलन सम्पन्न गरे । उनको कला र क्षमताले सयौं मानिसलाई आकर्षित गर्‍यो ।
कागे बाहुन आफूलाई काग संरक्षक भन्न रुचाउँछन् । जब काग तिहार नजिकिँदै जान्छ, उनलाई सबैभन्दा बढी खुसी लाग्छ । जुन दिन कागको आवाज निकालेर कागको बथान भेला गर्न उनी सफल हुन्छन्, त्यति बेला उनको हर्षको सीमा रहँदैन । ‘कागहरू मेरा आफन्त हुन्, नजिकका मित्र हुन् ।’ दुलाल भन्छन्, ‘मैले आइज् भन्दा आउँछन्, जा भन्दा जान्छन् ।’ उनको अनुभवले भन्छ, जीवजन्तु, चराचुरुङ्गीहरू पनि चेतनशील हुन्छन् ।

कागले सुखमा होस् वा दु:खमा केही न केही सन्देश दिन्छ । कसैलाई आपत्विपत् पर्दा, कोही बिरामी पर्दा कागले खबर दिने काम गर्छ । यो चलाख पन्छी हो । यमराजले लोकको खबर कागमार्फत पाउने हुनाले यसलाई यमदूत पनि मानिँदै आएको छ । यमराजसमक्ष राम्रो खबर लगिदेओस् भनेर कागलाई मीठो–मसिनो खानेकुरा दिइन्छ ।
नेपालभरि कति काग होलान् ? नेपालका ६८ वटा जिल्ला घुमेका कागे बाहुन अझै यही कुरा अध्ययन गरिरहेका छन् । विभिन्न महोत्सवमा कागको आवाज सुनाउन पूर्वको इलाम, झापादेखि सुदूरपश्चिमका अछामी, डोटी, डँडेलधुरासम्म पुगेका छन् ।

‘कागको आवाज सुनाइदिनु न’ भन्दै हरेक दिन उनको मोबाइलको घण्टी पनि उत्तिकै बजिरहन्छन् । ‘एकदम खुसी लाग्छ ।’ मुस्कुराउँदै उनले सुनाए, ‘जति फोन आए पनि सबैसँग हाँसेर बोल्छु ।’ गोंगबुमा कोठा लिएर बसिरहेका कागे बाहुन अहिलेसम्म एक्लै छन् । यद्यपि उनलाई एक्लोपनको महसुस भने हँुदैन । इन्टरनेटले उनको त्यो एक्लोपन मेटिदिएको छ । फेसबुकले साथीभाइसँग जोडिन, नयाँ सम्बन्धन बनाउन सहयोग गरेको छ ।

उनको सुत्ने र उठ्ने कुनै टुंगो हुँदैन । बिहान ५–६ बजेतिर ब्युँझन्छन् । उनी मन लाग्दा कोठामा आफैं खाना बनाउँछन् । अल्छी लाग्दा होटलमै खाना खान्छन् । उनलाई सादा खाना दाल, भात, तरकारी मन पर्छ । दिउँसो विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै साथीभाइसँग भेटघाट गर्छन् । साँझ प्राय: ७–८ बजेसम्म उनी कोठामा आइसक्छन् । बोर लाग्दा समय कटाउने मेलो फेसबुक छँदैछ । निदाउँदा प्राय: रातको १० बजिसकेको हुन्छ ।

कागे बाहुन प्राय: सादा पहिरनमा हिंड्न रुचाउँछन् । अरू बेला सर्ट, पाइन्टमा भेटिने उनी कार्यक्रमहरूमा जाँदा भने कोटमा सजिएका भेटिन्छन् । उनको प्रतिभाको प्रशंसा गर्दा गमक्क फुल्ने बानी छैन । बरु ठट्टा–रमाइलो गर्न भने उनलाई कसैले रोक्दैन । मिलेर बस्ने, अर्काको कुरा नकाट्ने, राम्रो व्यवहार गर्ने मानिस भेट्दा उनी ज्यान दिन पनि तयार हुन्छन् ।
इलामबाट गाउँका साथीहरूसँग भागेर १० वर्षकै उमेरमा बनारस पुगेका कागे बाहुनले बनारसमै अध्ययन गरे । सानै छँदा बुबा गुमाएका दुलाललाई गाउँमा हेप्नेहरूको कमी थिएन । आमा र उनको दाइलाई गाउँमा खुब दु:ख थियो । गाउँमा अरूको त्यो हेपाइ सहनुभन्दा बनारसको छात्रवासमा कठोर मेहनत गरेर पढ्नु उनलाई बढी उत्तम लाग्यो । केही गरेर देखाउनुपर्छ भन्ने ईख लिएका दुलाल आफूलाई जन्म दिने आमालाई कसरी खुसी दिने भनेर चिन्तित रहन्थे । बनारसको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य गरेका रमेश रातदिन पढ्थे । नपढेसम्म छात्रवासमा खान नपाइने नियम थियो । उनका साथीहरू थिए, बंगाली र भारतीयहरू । यता पनि यी दुवै मिलेर नेपालीहरूलाई हेप्थे । ‘एकचोटि त कुटाकुट नै भयो ।’ उनी सम्झन्छन्, ‘मैले पनि हात छाडें ।’
कागे बाहुन कलाकाकारितामै जम्न चाहन्छन् । उनी यही पेसामा खुसी छन् । विभिन्न कार्यक्रम र महोत्सवहरूबाटै उनले आफ्नो गुजारा चलाइरहेका छन् । उनी कागबाहेक मुखैले मादल, सनाइ, सारंगी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुन निकालेर अरूलाई लठ्ठ बनाउन सक्छन् । गाई, भैंसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउन सक्छन् ।

यो सबै उनलाई गड् गिफ्ट हो जस्तो लाग्छ । रमेश भन्छन्— यद्यपि लगनशीलता र मेहनत पनि उत्तिकै हुनुपर्छ । चराचुरुङ्गीहरूको आवाज सिक्न उनले बर्दिया राष्ट्रिय निकुञ्जमा ६ महिना बिताए । त्यही बसेर उनले निरन्तर अभ्यास पनि गरे । ६ महिनापछि जब उनले चराचुरुङ्गीहरूको नक्कल गर्दै आवाज निकाले मयुर, कोइली र कागहरू जम्मा भए । क्रमश: उनले कुखुरा, भाले तथा भैंसीको आवाज पनि निकाल्न थाले । त्यसमा पनि सफल भए । यतिबेला उनको सफलता देखेर हिजो हेप्नेहरू पनि ईष्र्या गर्न थालेका छन् ।
कागे बाहुन गीत–संगीत सुन्न रुचि राख्छन् । सुन पानीले छर्क मायालु, रुमाल धोको छु, ढाडे बिरालो उनलाई मन पर्ने गीत हुन् । हलहरूमा गएर चलचित्र हेर्ने बानी त्यति छैन । उहिल्यै हेरेकामध्ये झरना थापाले अभिनय गरेको ‘म तिमी बिना मरिहाल्छु’ उनलाई मन परेको चलचित्र हो । अहिलेसम्म प्रेमको नगरेको बताउने रमेशलाई प्रेम विवाहभन्दा मागि विवाह मन पर्छ ।

प्रेम प्रस्ताव राख्नेहरू भने नभएका होइनन् । तपाईं राम्रो हुनुहुन्छ, प्रतिभाको धनी हुनुहुन्छ भन्दा उनी फुरुंग हँुदैनन् । बरु कसैले फसाउने पो हो कि भन्ने डरचाहिँ लाग्छ । हल्ला र आश्वासनका पछाडि दौडने उनको बानी छैन । बरु लगन जुरेपछि अबको एक–दुई वर्षमै विवाह गर्ने उनको सोच छ ।

Be the first to comment on "कागे बाहुनको कथा"

Leave a comment

Your email address will not be published.


*