‘एक वर्षमै सडक दुर्घटना धेरैे कम गर्न सकिन्छ’ – नारद कुँवर, (सिनियर सडक सुरक्षा इन्जिनियर, न्युजिल्यान्ड)

IMGL4684


 तस्विर : महेश प्रधान

पाल्पाली नारद कुँवर करिब दुइ दशक पहिला हालकोग्रामीण पूर्वाधार शाखाका क्रीयशील इन्जिनियर थिए । उनी आफ्ना काम नयाँ तरिकाले गर्न चाहन्थे तर सरकारी सिस्टमको ढिला सुस्तीले उनी वाक्क भए । गुल्मी र पाल्पा जिल्ला विकास समितिहरुमा करिब चार बर्ष काम गरिसके पछि अस्ट्रेलियाबाट एमबिए पुरा गरे । त्यसपछि नेपाल फर्किएका नारदले निजी कलेज पढाउन थाले । केही वर्ष कलेज पढाउँदा उनले थाहा पाए, केही विद्यार्थीलाई पढाएर उनीहरुमा नयाँ उर्जा त भर्न सकिन्छ तर समम्र सिस्टम परिवर्तन गर्न सकिदैन । त्यसपछि उनी इन्जिनियरिङ्मै थप अध्ययन गर्न न्युजिल्याण्ड पुगे ।

न्युजिल्याण्डमा उनको प्रतिभाको ठूलो कदर भयो । उनले त्यहाँको ओक्ल्यान्ड विश्वविद्यालयमा यातायात इन्जिनियरिङ्मा स्नातकोत्तर गर्ने अवसर मात्र पाएनन्, सुरुमै रोड फरफरमेन्स इन्जिनियरमा सरकारी जागीर पाए । अहिले उनी न्युजिल्याण्ड केन्द्रियसरकारको सिनियर सडक सुरछ्या इन्जिनियर पदमा कार्यरत छन् ।
यता नेपालमा सडक दुर्घटनाका खवरले आम मानिस मर्माहत छन् । हालै सार्वजनिक भएको सरकारी तथ्याङ्कले नेपालमा सडक दुर्घटनामा दैनिक ५ जनाको ज्यान जान्छ भने २० जना घाइते हुने गरेको बताएको छ ।

सडक दुर्घटना उत्कर्षमा पुगेका बेला पारिवारिक भेटका लागि नारद कुँवर नेपाल आएका थिए । यहि बेला साप्ताहिकले कुँवरलाई भेटेको थियो । कुँवरले सडक दुर्घटना विशेषज्ञका रुपमा धेरै जानकारी त दिए नै नेपालको विकास नहुनुका पछाडि आफ्ना निजी अनुवभ पनि खोले ।

नेपालमा सडक दुर्घटनाका समाचार सुनिरहनु भएको छ ?

न्युजिल्याण्डमा हुँदा नेपालको सडक सुरछ्या अवस्था प्रति ध्यान दिन पाएको थिइन । यहाँ आएपछि काठमाडौंदेखि आफ्नो घर पाल्पा र त्यसवरपरका सडक निकाल्न पाएँ । यहि बेला सडक दुर्घटनाका खवरहरु पनि धेरै आए । अवस्था भयावह हुँदै गएको महसुस भैरहेको छ । दैनिक पाँच जनाको मृत्यु र २० जना घाइते हुनु गम्भीर कुरा हो । गयको दुइ महिनामा मात्र सडक दुर्घटना बाट सयौ मानिसहरुको मिरत्यु भयको जानकारी यो देशको लागि ठुलो चुनौती
हो जस्तो मलाई लाग्छ ।

सबैले बुझ्ने भाषामा भन्नुपर्दा बढ्दो दुर्घटनाको कारक तत्व के हो ?

कर्तब्यको निर्वाह नगर्नु नै दुर्घटनाको प्रमुख कारण हो । यसको अर्थ के हो भने सरकारले सडक दुर्घटना सम्बन्धि आफ्नो कर्तब्य पालन नगर्ने, ट्राफिक प्रहरी, सवारी चालक, सवारी ब्याबसायीहरु र यात्रुले आफ्नो कर्तब्यको पालन नगर्नु नै प्रमुख कारण हो । जो मानिसले जे गर्नुपर्ने हो त्यो काम गर्ने वित्तिकै यस्तो समस्या धेरै कम हुन्छ ।

सडक दुर्घटनामा सरकारले गर्नुपर्ने काम के हो ? न्युजिल्याण्डको अनुभवले के भन्छ ?

न्युजिल्यान्ड संसारको सबैभन्दा सुरक्षित, नागरिकले सरकारप्रति भरोसा गरेको र सबैले आफ्नो कर्तब्य पालन गर्ने देशहरु मध्ये अग्रस्थानमा पर्दछ । संसारमा सबैभन्दा कम भष्ट्रचार हुने र नागरिकले पनि आफ्नो दायित्व पुरा गर्ने देशहरु मध्ये पर्दछ । त्यहाँको सरकारले कुनै काम गर्नुअघि कहाँ के समस्या छ, त्यसको तथ्याङ्क खोज्छ । त्यसका लागि सम्बन्धित निकायलाई परिचालन गर्छ । ती निकायहरुले सरकारले खोजेको कुरा ग्राउन्ड लेभलमा गएर खोजेर रिपोर्ट दिन्छ । त्यहि रिपोर्टका आधारमा बजेट र मानवशक्ति परिचालन गर्छ । सडककै सन्दर्भमा पनि यहि कुरा लागू हुन्छ ।

कसरी काम हुन्छ ?

न्युजिल्याण्डमा राज्य सञ्चालनका दुई तह छन् । एउटा केन्द्रीय सरकार र एउटा स्थानीय सरकार । केन्द्रीय सरकारले देशका मुख्य राजमार्ग र त्यसको सुरक्षाको जिम्मा लिन्छ भने स्थानीय सरकारले त्यहाँका सामान्य सडक र त्यसको सुरक्षाको जिम्मा लिन्छ । स्थानीय सडकको तथ्याङ्क पनि केन्द्र सरकारले पाउने व्यवस्था मिलाइएको छ । म केन्द्रीय सरकारको सडक सुरक्षा सिनियर इन्जिनियर भएका नाताले देशभरीका सकडको अवस्था कस्तो छ, त्यसको रिपोर्ट हेर्ने र कहाँ कुन अवस्थाका सडकलाई के के गर्नु उपयुक्त हुन्छ भनेर मन्त्रालयमा रिपोर्ट गर्छु ।

त्यसका लागि देशभरीका सडक वा अन्य सवारी साधनका मार्गका अवस्था कस्ता छन्, कहाँ के के सुधार गर्नुपर्ने, कुन ठाउँमा नयाँ काम गर्नुपर्छ भनेर स्थानीय नेताहरुलाइ पनि रिपोर्ट गर्नु पर्द छ । त्यहि अनुसार बजेट परिचालन हुन्छ र काम हुन्छ । कुनै त्रुटि नहोस् भन्नेमा सचेत हुने गरिन्छ । त्यसैले सडक दुर्घटना निकै कम हुन्छ ।
न्युजिल्याण्डमा कतिप्रकारका सडक हुन्छन्, त्यसको सुरक्षा व्यवस्था कस्ता हुन्छन् ?

त्यहाँका सडक ४ प्रकारका हुन्छन् । पहिलो राष्ट्रिय हाइवे हो । यसलाई देशको मुटु मानिन्छ । यो मार्गमा कृषि जन्य उत्पादनहरु जसतै मासु, दुध,उन,फलफुल,काठ, औषधि इत्त्यादी र राष्ट्रका लागि महत्वपूर्ण मानिएका सामग्री ओसारपोसार हुन्छ । यसलाई देशको अर्थतन्त्रको मुटु मानिन्छ । यस्तो हाइवे कहिल्यै बन्द हुँदैन । वाहनको स्पिड पनि तोकिएको हुन्छ ताकि समयमै उत्पादकबाट उपभोक्ता सम्म पुगोस् ।

कुनै पनि सामग्री एक मिनेट ढिला उपभोक्ताकहाँ पुग्नु ठूलो समस्या मानिन्छ, त्यसैले यो मार्गको ठूलो महत्व हुन्छ । यसको सुरक्षा पनि उच्च तहको हुन्छ । यो सडक अत्यन्तै स्तरीय, ठूलो लागत लगाएर बनाइन्छ । राजमार्गले कमभन्दा कम इन्धन खपत गरोस् र कुनै ब्यवधान उत्पन्न नगरोस् भन्ने सोच हुन्छ ।

अरु तीन खालका सडक कुन कुन हुन् ?

दोस्रो वर्गका सडक त्यसलाई मानिन्छ, जुन सडक मूल राजमार्गसँग जोडिन्छन् । यस्तो सडकमा उद्योगधन्दा, कृषिजन्य उत्पादन, राष्ट्रिय महत्वका कार्यालहरु हुन्छन् । सैनिक, प्रहरी, चिकित्सक जस्ता महत्वपूर्ण सेवाजन्य कार्यलय यस्ता सडकमा हुन्छन् । यो सडकलाई राष्ट्रिय सडक जत्तिकै महत्व दिइन्छ किनभने यो देशको खाद्यान्न, सुरक्षा र केन्द्रीय सरकारसँग सिधा जोडिएका हुन्छन् । सडक र त्यसको सुरक्षाका कारण कुनै पनि अवरोध आउनु हुँदैन र जनताले दु:ख पाउनु हुँदैन भन्ने मान्यता छ ।

तेस्रो खालको सडक लिङ्क रोड हो । यो सडक पहिलो र दोस्रो खालको उच्च स्तरको सडकसम्म पुग्न प्रयोग गरिन्छ । अन्त्यमा चौथो सडक त्यो हो, जो व्यक्तिको घरसम्म पुग्छ । यसलाई तपाईं गाउँले सडक भन्न सक्नुहुन्छ । तेस्रो र चौथो वर्गको सडकको गुणस्तर र सुरक्षा स्थानीय निकायले हेर्छ । यसको गुणस्तर पहिलो र दोस्रो जस्तो हुँदैन । स्थानीय आवश्यकता अनुसार त्यहाँका जनता र उनीहरुले चुनेका नेताले त्यसको निर्धारण गर्छन् । यहाँको जिल्ला विकास समितिले गरेजस्तै हुन्छ ।

सडकलाई न्युजिल्यान्ड सरकारले कुन तहमा राखेको छ ? सडकमार्गको बारेमा त्यहाँको परिभाषा कस्तो छ ?

सडक मानिस तथा बस्तुहरु लाई एक ठाउँ बाट अर्को ठाउँमा पुराउने भौतिक संरचना हो । कुन सडकले देशलाई सबैभन्दा बढि आर्थिक लाभ दिन्छ, कुन सडकले देशको अर्थतन्त्र उकास्ने मालसामान, उद्योग वा कृषि सामग्रीको ढुवानी गर्छ, त्यो सडकमा त्यति नै बढि लगानी गरेर छिटो–छरितो सामान ढुवानी गर्न सघाउने बनाउनु पर्छ भन्ने मान्यता छ । मानौ कुनै पुरानो सडकमा गुडिरहेको वाहनले दिनको एक रुपैंया बढि पेट्रोल र एक मिनेट समय बढि खाइरहेको छ भने त्यो एक रुपैंया र एक मिनेट समय बचाउन अर्को अर्को विकल्पको लागि सरकार सजक र लागि पर्दछ । चाहे त्यसका लागि खर्बौ रुपैंया किन नलागोस् । किनभने मानिसको समय र इन्धनको वचत सबैभन्दा ठूलो कुरा हो भन्ने कुरा मान्दछ ।
तपाईंले भन्नुभयो, त्यहाँ दुर्घटना न्युन हुन्छन्, यसका लागि सुरक्षाका उपाय के के हुन्छन् ?

सयौं सुरक्षाका उपाय गरिन्छन् । सबैभन्दा पहिले दुर्घटना हुन नदिन भुमि प्रयोगको लागि योजना गर्दछ, सुरक्षित रोड बनाउन सेफ्टी अडिट गरिन्छ, त्यसका लागि खर्च गर्न डराउनु हुँदैन भन्ने मान्यता छ । किनभने मानव जीवन भनेको पैसा वा समयले किन्न सकिदैन । यसका लागि जनताले पनि पुरा कर तिर्छन्, सरकारले पनि उनीहरुका लागि चिन्तित हुँदै पूर्ण उत्तरादायि भएर काम गर्छ । लामो अनुसन्धान गर्ने, चालक, ट्राफिक प्रहरी र यात्रुलाई उचित नीति–नियममा राख्ने, त्यसमा भूल–चुक हुन नदिने, लापरवाही गर्नेलाई कडा सजाय दिने व्यवस्था गरिएको छ । अन्जानमा गल्ती गर्नेलाई सजाय कम हुन सक्छ तर लापरवाही वा उनुत्तरदायी कर्मचारी वा चालक तत्कालै निलम्बन हुन्छ ।

नेपालमा पनि नियम–कानुन छन् तर त्यसको पालन हुँदैन, किन होला ?

नेपालमा जो अगुवा छन्, नीति–निर्माता छन् अथवा जसले नियम कार्यान्वयन गर्नुपर्ने हो, उनीहरुमा मालिकको भावना छ । जो जति माथि छ, उ जनताको सबैभन्दा ठूलो नोकर हो भन्ने मान्यतामा न्युजिल्याण्डमा काम हुन्छ । किनभने उसले नै धेरै सुविधा उपभोग गरिरहेको हुन्छ । जबसम्म माथिल्लो तहका व्यक्तिमा विनम्रता, प्रतिबद्धता र आफ्नो कामलाई जीवनको अभिन्न अङ्ग मान्दैन, व्यवस्थामा सुधार हुँदैन । राजनीति परिवर्तन ठूलो कुरा होइन, परिवर्तनलाई अक्षरक्ष लागू गर्नु ठूलो कुरा हो । यहि कुरा लागू नहुनु नै हाम्रो देशको कमजोरी हो ।

नेपालमा जसरी सडक दुर्घटना बढिरहेका छन्, त्यसलाई तत्काल कम गर्न सकिन्छ कि सकिदैन ?

म नेपाल आयको बेला सडक दुर्घटना सम्बंदी चासो राखी नेपालको सरकारी निकाय संग सम्पर्क गरे र मुख्य सचिबजि को अनुरोधमा नेपालको सडक दुर्घटना हेर्ने उच्च निकाय संग प्रधान मन्त्रिको सचिबालयमा मेरो ज्ञान र अनुभबहरु बताउने र वहाहरुको अनुभब र ज्ञान सुन्ने मौका पाए । मेरो कुरा लागू गर्ने हो भने मात्रै पनि अहिले हुने दुर्घटना र त्यसबाट हुने क्षति निकै कम हुन सक्छ । मैले थप खर्चको कुरा गरिन, अहिले जति बजेट यात्रायात क्षेत्रमा खर्च भइरहेको छ, जति जनशक्ति परिचालन भैरहको छ, त्यसभित्रै यो काम गर्न सकिन्छ ।

यी काम के के हुन् ?

सरकारले भैरेहेको नियम कानुन लागु गर्न जिम्मेबारी लिने, सवारी ब्याबसायीहरु नियम कानुन पालना गर्ने, चालक र यात्रुलाई भैरहेको नियम कार्यान्वयन गर्न जोड दिन, । भन्नुको अर्थ के हो भने अहिले पनि ट्राफिक नियमप्रति चालकलाई पूर्ण जिम्मेवार बनाउने । ट्राफिक प्रहरी चालकको मालिक होइन, चालकको सहयोगी हो भन्ने धारणा को विकास गर्ने र लागु गर्ने । चालकसँग सभ्य भाषामा बोल्ने, उसलाई नियम मान्न बाध्य बनाउने र नियम पालना नगरेमा अधिकारको प्रयोग गरेर उसलाई कारवाही गर्ने ।

दोस्रो कुरा, चालक र उसका सहयोगी यात्रुका सेवक हुन् । यात्रुप्रति संवेदनशिल हुने, मिठो मिल्ने, उनीहरुलाई सहयोग गर्ने हुनुपर्छ । यसका लागि तुरुन्तै तालिमको व्यवस्था गर्नुपर्छ ।

तेस्रो कुरा, खाल्डा खुल्डी पुर्ने, सडकमा जम्ने पानीको उचित निकास गर्ने, मोडहरुमा ट्राफिक चिन्ह राख्ने, कहाँ कति स्पिड गर्ने भनेर नियम बनाउने, चोकहरुमा कुन गाडी अगाडि जाने भनेर निमय बनाउने र त्यसलाई कार्यान्वयन गर्ने, नमान्नेलाई तुरुन्तै कारवाही गर्ने, कसले कति स्पिडमा गाडी चलाउने प्रतिस्पर्धा गर्ने होइन, कसले कति सुरक्षित गाडी चलाउँछ, त्यसलाई पुरस्कृत गर्ने व्यवस्था पनि गर्न सकिन्छ ।
अन्तिम तर मुख्य कुरा, पाँच वर्ष यता कुन ठाउँमा कस्ता कस्ता दुर्घटना कसरी भए भन्ने कुराको तथ्याङ्कलाई ध्यान पूर्वक विश्लेषण गर्ने । ती विश्लेषणबाट निस्केको निस्कर्सलाईतुरुन्तै योजनामा तर्जुमा गरि प्रोजेक्ट अप्रोचमा तुरुन्तै लागु गर्ने । यति हुनै वित्तिकै धेरै समस्या सामाधान हुन सक्छ ।

तपाईं आफै सरकारी जागीरे हुनुहुन्थ्यो, त्यो अनुभवका आधारमा ती सुधार हुन्छन् भन्ने विश्वास गर्नुहुन्छ ?

गर्दिन । किनभने सरकारी सिस्टम नै एक अर्कामा जेलिएका छन् । अधिकार र जिम्मेबारीमा मतभेत हुन्छ । हरेक कामको लागि निस्चित बेक्तीलाई जिम्मेबार बनाउनु पर्छ र जिम्मेबार बहन नगरे उसलाई कारबाई हुनु पर्छ जबसम्म सोच्ने तरिका र कामगर्ने तरिकामा परिवर्तन हुँदैन तब सम्म सुधार हुन्छ भन्ने कुरामा म विश्वास गर्दैन ।

यहि कारण तपाईं विदेश पलायन हुनुभएको हो ?

वास्तवमा नेपालमा सरकारी जागीर खाने मान्छे साच्चै नै तिक्ष्ण बुद्धिका हुन्छन् । उसले लोकसेवा लडेर, हजारौंलाई पछाडि पारेर त्यहाँ पुगेको हुन्छ । यस्तो व्यक्तिले आफ्नो बुद्धिको प्रयोग गर्न पाएन, क्षमता अनुसार अघि बढ्न पाएन भने कित उ दु:खी भएर बस्छ या त अघि बढ्ने बाटो खोज्छ । आज धेरै सरकारी कर्मचारी विदेशको पीआर लिएर बस्नुको कारण पनि यहि हुन सक्छ ।

आज तपाईं सडक सुरक्षाको विज्ञ मानिनुहुन्छ ? नेपाली भएका नाताले देशलाई कसरी सहयोग गर्नुहुन्छ ?
म न्युजिल्यान्डको सरकारी कर्मचारी हुँ । जबसम्म पदमा हुन्छु, आफ्नो काम जिम्मेवारीपूर्वक निभाउनु नै मेरो पहिलो कर्तब्य हो । तै पनि नेपालबाट केही सल्लाह मागेमा, मेरो आवश्यकता महसुस भएमा आफूले जाने बुजेको कुरामा सहयोग गर्न तयार छु । जागीर छाडेपछि नेपाल आएको अवस्थामा भने आफ्नो देशका लागि केही गर्ने इच्छा छ ।

अश्विनी कोइराला – नरेन्द्र रौले

यो अन्तर्वार्ता आज मंसिर १२, ०७१ को साप्ताहिकमा प्रकाशित भएको हो ।

Be the first to comment on "‘एक वर्षमै सडक दुर्घटना धेरैे कम गर्न सकिन्छ’ – नारद कुँवर, (सिनियर सडक सुरक्षा इन्जिनियर, न्युजिल्यान्ड)"

Leave a comment

Your email address will not be published.


*