आफ्नै निजी बिमान हुने नेपाली

नरेन्द्र रौले

चार कक्षा मात्र पढेको व्यक्ति पाइलट ? त्यो पनि आफ्नै निजी विमान उडाउने ? कसरी सम्भव भयो होला ? नेपालमा चार कक्षासम्म मात्र पढेका यी व्यक्ति पाइलट मात्र होइनन्, जियो टेक इन्जिनियरसमेत हुन् ।

सोलुखुम्बुको स्याङ्मा गाउँमा जन्मिएका पेम्बा शेर्पाको किशोरवय पर्यटकको भारी बोकेर बित्यो । चौंरीखर्कस्थित स्कुलमा अध्ययनरत छँदा उनले गाई, बाख्रा चराउन जानुपथ्र्यो । उनी एकपटक सगरमाथा चढ्न हिंडे, तर चुचुरोमा पाइला टेक्न सकेनन् । के सुर चल्यो, उनी घुम्न अमेरिका हान्निए । त्यतिबेला उनको उमेर १८ वर्ष थियो । पारिवारिक अवस्थाका कारण पढाइ चार कक्षाभन्दा अघि बढेको थिएन । अमेरिका उनका लागि नितान्त नयाँ ठाउँ थियो ।

pemba_20150807090134जब बिस्तारै उनी अमेरिकी जीवनशैलीमा घुलमिल हुँदै गए, उनलाई अमेरिका मन पर्न थाल्यो । सुरुमा क्यालिफोर्नियामा साथीहरूसँग मिलेर बसेका शेर्पालाई पढाइको महत्व बोध हुन थाल्यो । अमेरिकी सरकारले विभिन्न कारणवश पढाइ छुटेकाहरूका लागि जनरल एजुकेसन डिग्री (जिइडी) को व्यवस्था गरेको हुन्छ । चार वर्ष लगाएर पेम्बाले जिइडी कोर्स पूरा गरे । त्यसपछि त कलेज पढ्ने ढोका खुलिहाल्यो ।

उनी दिनभर काम गर्थे अनि रातभरि पढ्थे । उनलाई सम्झना छ, राति पढ्न सुरु गरेदेखि बिहान चराहरू बास्दासम्म उनी पढिरहेकै हुन्थें । ‘पढ्न निकै गार्‍हो भयो ।’ पेम्बाले भने, ‘तर मेहनत गर्न भने छाडिनँ । उनी सधैं दुईवटा कुरामा जोड दिन्छन्– पहिलो मानिसमा विश्वास हुनुपर्छ, दोस्रो कडा मेहनत ।

प्रारम्भिक दिनहरूमा ट्रक डाइभर, कपडा पसल, रेन्च (घोडा र गाईहरूको रेखदेख गर्ने ठाउँ तथा रेस्टुराँमा काम गरेका शेर्पाले युनिभर्सिटी अफ कोलोराडोबाट जियो टेक इन्जिनियरिङको अध्ययन पूरा गरे । मेट्रो स्टेट युनिभर्सिटीबाट यसमा ट्रान्सफर गरे । ‘नेपालमा खानीको प्रशस्त सम्भावना देखें । खेर गैरहेको अवस्था थियो ।’ उनले प्रस्ट्याए, ‘नेपालमै केही गर्छु भनेर यो विषय पढें ।’ उनले नेपालमा पित्तल, तामा तथा प्राकृतिक ग्याँसको प्रशस्त सम्भावना भएको बताए ।

पेम्बाले यही विषयसँग सम्बन्धित एक्सन मोबाइललगायत केही ठाउँमा काम पनि गरे । पेम्बाको पढाइ जियो टेक इन्जिनियरिङमा मात्र सीमित रहेन । जर्नी एभियसनबाट चारवर्षे पाइलटको कोर्स गरेर उनी व्यवसायिक पाइलटसमेत बन्न सफल भए । सम्भवत: उनी आफ्नै हवाईजहाज भएका पहिलो नेपाली हुन् । ‘नेपालमै एयरलाइन्स चलाउने योजना थियो ।’ उनले त्यो क्षण सम्झिए, ‘तर देशमा चर्किएको द्वन्द्वका कारण त्यो सम्भव भएन ।’

पाइपर आर्चरको निजी विमान उडाएर पेम्बा अहिले अमेरिकाका कुनाकुना चहार्छन् । जहाज उडाएर कुनै नयाँ ठाउँमा पाइला टेकेर फर्किनु उनको दैनिकजस्तै भैसकेको छ । आकाशमा उड्दा उनलाई बेग्लै आनन्द मिल्छ । सन् २०१३ मा उनले उत्कृष्ट पाइलटको सर्टिफिकेट पनि पाइसकेका छन् । यतिबेला अमेरिकामा शेर्पा चाय रेस्टुराँ र चिया फ्याक्ट्री चलाइरहेका पेम्बाले नेपाली र विदेशी गरी ३५ जनालाई रोजगारी दिइरहेका छन् ।

छिट्टै नेपाल र अमेरिकामा चियाकोव्यापार गर्ने ठूलो लक्ष्यका साथ स्वदेश आइपुगेका पेम्बाले ५० हजार नेपालीलाई रोजगारी दिलाउने सपना रहेको बताए । हावर्ड विश्वविद्यालयबाट आर्किटेक्ट इन्जिनियरिङ गरेकी जापानी मूलकी मरिका टोमिनाकासँग विवाह गरेका पेम्बाले यसपालि नेपालका भूकम्पपीडितलाई २ करोड रुपैयाँबराबरको सहयोग गरे ।
बिहान ५ बजे ब्युझिने पेम्बा आफैं कफी बनाउँछन् । कफीको चुस्कीसँगै न्युयोर्क टाइम्स पढ्न कहिल्यै छुटाउँदैनन् । फुर्सद मिल्दा पुस्तक पढ्छन् । माइन्ड फ्रेस गर्न हाइकिङ गैरहन्छन् । उनी फोन र ल्यापटपबाटै आफ्नो काम गर्छन् । उनी फेसबुक र ट्विटर चलाउँदैनन् । रोलेक्स घडी कहिल्यै हातमा छुट्दैन । आईफोन–६ बोक्ने पेम्बा फोटोग्राफीमा पनि निकै रुचि राख्छन् ।

Be the first to comment on "आफ्नै निजी बिमान हुने नेपाली"

Leave a comment

Your email address will not be published.


*