आई लभ कफी

v

नक्सालका नवीन थापा केक बोकेर कमलपोखरीको कफी टकमा आइपुगे। सञ्चालक नारायण खकुरेललाई उक्त केक थमाउँदै उनले खुसी साटे, ‘धन्यवाद तपाईंलाई। यही क्याफेले मेरो विवाह जुराइदियो।’ भर्खरै विवाह बन्धनमा बाँधिएका नवीनको कुरा सुनेर क्याफे सञ्चालक नारायणको मन प्रसन्न भयो।

फेब्रुअरी १४ भ्यालेन्टाइन डेका दिन शान्त क्याफे खोज्दै नवीन कमलपोखरीस्थित कफी टक पुगेका थिए जहाँ उनका आँखा आकृति बस्नेतमाथि ठोक्किए। उनको मनमा प्रेम अंकुरायो। भ्यालेन्टाइन डेको त्यही मौका छोपेर उनले बालुवाटारकी आकृतिसमक्ष प्रेम प्रस्ताव राखिहाले। झाँगिएको त्यही प्रेमलाई नवीनले यसपालि विवाहमा परिणत गरे। ‘सम्भवतः म यो क्याफेमा नछिरेको भए यति छिट्टै विवाह सम्भव हुँदैनथ्यो।’ नवीनले सुनाए।

Read More – सम्झनुहोस्, क्याफे तपाईंको आफ्नै कोठा हो, जहाँ पुस्तक, इन्टरनेट, सुमधुर संगीत, टेलिभिजन आदि सबै सुविधा छ र मीठो कफी पनि। अचेल यही सुविधा पाइने भएर होला क्याफेहरूमा घण्टौं बिताउँछन्, कफी पारखीहरू। हिमालयन जाभाका सञ्चालक गगन प्रधानकै कुरा सुनौं न। ≥’एउटै व्यक्ति ८ घण्टासम्म निरन्तर बसेको उदाहरण छ।’ गगन सुनाउँछन्, ‘कतिपय त दिनमा ५ पटकसम्म आइपुग्छन्।’ ठमेलको जाभा कफी हाउसमा नेपाली कफीको स्वाद चाख्न दैनिक ३ सयभन्दा बढी कफी पारखी पुग्छन्। त्यसबाहेक जाभाका अन्य ७ वटा शाखा -थापाथली, सिभिल मल, दरबारमार्ग, पुतलीसडक एवं भक्तपुर) मा पनि झन्डै ४ सय पारखी -प्रत्येक शाखामा) दैनिकजसो पुग्छन्।

कफीका पारखीहरू यति धेरै बढ्नुको कारण हो, कफीमा धेरै च्वाइस हुनु पनि हो। जाभाकै उदाहरण लिऊँ न, त्यहाँ ८० देखि ९० प्रकारका कफी पिउन सकिन्छ। त्यसमाथि अहिले मापसेले गर्दा पनि कफीको ब्यापार ह्वात्तै बढेको छ। गगनले त्यसको प्रत्यक्ष अनुभव बटुलेका छन्। धेरैजसो होटल, रेस्टुराँ बन्द भैरहँदा जाभाले भने ठमेलकै मण्डला स्टि्रटमा अर्को शाखा खोल्यो। क्याफेमा केवल कफी पिउनका लागि मात्र छिरिँदैन। सबैभन्दा आकषिर्त गर्ने भनेको त्यहाँको वातावरण हो। जस्तो कि चिटिक्क परेको सजावट, पुस्तक र वाइफाइको सुविधा, पृष्ठभूमिमा गुञ्जिरहने सुमधुर संगीत क्याफेका आकर्षक पक्ष हुन्। खानामा जसरी अचारले बेग्लै स्वाद थप्छ, कफी पिउँदा यी कुराले त्यत्तिकै स्वाद बढाउँछन्। ≥’कफी पिउँदा घरमै वा बैठक कोठामा बसेर पिए जस्तो होस्। गगन सुनाउँछन्, ‘मैले यही चाहनामा जाभा सुरु गरेको हुँ।’ धेरैले जाभा रोज्नुको कारण पनि त्यही हुनुपर्छ। लेखक अभि सुवेदी विगत ८ वर्षदेखि निरन्तर जाभा छिर्ने कफी पारखी हुन्। त्यहाँ उनका विद्यार्थी, पाठक एवं साथीहरू पनि भेटिन्छन्। ‘अन्यत्र खोज्न जानै पर्दैन।’ अभिसँगै भेटिन्छन्, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक शिव रिजाल। ‘मैले त जाभामै बसेर पीएचडी गरें।’ रिजालले सुनाए, ‘इन्टरनेटको सुविधा र सजिलै चाहेको मान्छे भेट्न सजिलो ठाउँ लाग्यो।’ नायक शिव श्रेष्ठका लागि त कफी सप आफ्नै अफिसजस्तो भएको छ। त्रिपुरेश्वरस्थित जाभामै प्रायःजसो लन्च गर्ने श्रेष्ठ बेलाबेला सुटिङका लागि नगरकोट र धुलिखेल पुग्दा जाभाबाटै कफी र लन्च मगाउँछन्।

क्याफे विचारको थलो हो, जहाँ विभिन्न पेसाकर्मीहरूको भेट हुन्छ, विचार र सूचना आदान-प्रदान हुन्छ। नेपाल अनि विदेशमा पनि लेखकहरू पुस्तक लेख्न क्याफेको कुनो रोज्छन् । जतिबेला, जहाँ पनि कफी पिउन सकिन्छ। सिनेमा हल, रेस्टुराँ, सपिङ सेन्टर आदिमा सजिलै पाइने हुनाले अहिले कफी कल्चर अझ बढ्दै गएको छ। कफी र क्याफे जीवनका अभिन्न अंग जस्तै भैसकेका छन्। हरेक बिहानीको सुरुवातसँगै सुरु हुने कफी पिउने क्रम रातको अन्तिम प्रहरमा पुगेर मात्र टुंगिन्छ। कसैसँग भेटघाट गर्नुपर्दा होस् वा मिटिङ गर्नुपर्दा क्याफे नै रोज्ने चलन छ। दिनभरको व्यस्तताबीच समय निकालेर क्याफे पुग्दाको मज्जा अर्कैं हुन्छ।

राजधानीमा झन्डै ४ सय क्याफे छन्। ती क्याफेहरूमा नेपाली कफीले स्वदेशी तथाविदेशीहरूमाझ लोकप्रियता पनि कमाउँदैछ। १५ वर्षको इतिहास बनाइसकेको जाभाका सञ्चालक गगन कुनै बेला नेपाली कफीको प्रवर्द्धन र प्रचार गर्न विदेशसम्म पुग्थे। अहिले विदेशीहरू कफी पिउन मात्र होइन खरिद गर्न उनको क्याफेसम्म पुग्छन्। ‘नेपाली कफीको विश्वमा ठूलो माग छ।’ गगन भन्छन्, ‘कुनै बेला त माग आपूर्ति गर्नै सकिँदैन।’  राजधानीमा विशेष गरी गुल्मी, पाल्पा, स्याङ्जा तथा काभ्रेको कफी भित्रिन्छ। ललितपुर सबैभन्दा बढी कफी आयात गरिने जिल्ला हो। नेपाली कफीको माग यति धेरै बढेकोमा गगनलाइ गर्व लाग्छ। गगन भन्छन्— विश्वमा नेपाली कफीको ब्रान्डलाइ अझै चम्काउने रहर छ।

Be the first to comment on "आई लभ कफी"

Leave a comment

Your email address will not be published.


*