अमिर बम्जनको आकाश

13271823_10206660243206233_1107261044_o

13271823_10206660243206233_1107261044_oनरेन्द्र रौले

 
उनको बनाएका पेन्टिङहरु देख्दा आहा ! नभन्नेहरु कमै होलान् । जब उनी गीत गाउन थाल्छन्, सबैलाई लठ्ठ बनाईदिन्छन् । सुनिरहुँ लाग्छ । र, उनले कोरेका कविताहरु पनि उस्तै मार्मिक हुन्छन् । सुन्दा अचम्म लाग्छ, यस्तो प्रतिभावान व्यक्तिका दुबै हात चल्दैनन् । न त उनी हिंड्न नै सक्छन् ।

 
थाह नगरपालिका १ पालुङ, मकवानपुरका तिनै अमिर बम्जन, १६ को जीवन अचम्मको छ । उनी जन्मिदा हजुरआमा खुसीले निकै गद्गद् भईन् । एकैछिनमा फेरी रुन पो थालिन् । आफूले माया गर्दै काखमा लिएको नाती अपांग जन्मिएपछि हजुरआमाको मन निकै दुखेछ ।आफू एक वर्षको छदा हजुरआमा गुमाएको अमिरले अझै भूलेका छैनन् । त्यसो त संघर्षले भरिएको आफ्नो जीवनका हरेक घटनाहरु उनको मस्तिष्कमा ताजै छन् ।

 
अमिर धेरै वर्ष सम्म घरमै बसे । गाउलेहरु उनलाई ‘घर कुरुवा’ भन्थे । हेप्थे पनि । उनको मन चसक्क बिझाउँथ्यो । एकदिन सबैलाई मेरो कला देखाउनुछ भनेर उनी मन बलियो बनाउँथे । उनी बार्दलीमा निस्किन्थे । यताउता आँखाहरु डुलाउँथे । गुम्बा देख्थे । त्यसभित्र छिर्ने मानिसहरुको भीड लागिरहन्थ्यो । उनी सोच्थे, भगवान पनि हाम्रै वरिपरी हुँदा रहेछन् । हामी त भगवानको चेला रहेछौं । उनी मनमनै भगवानको दर्शन गर्न गुम्बाभित्र जान पाए सोच्थे । खुट्टा नचल्दा जान त पाएनन् ।

 

 

तर कल्पना बुन्दै चित्रहरु भने कोर्न थाले । बाहिरी संसार नियाल्न बार्दली उनको सबैभन्दा प्यारो ठाउ थियो । बार्दलीमा निस्किदा जब हावा चल्थ्यो, उनलाई संगीतको बजे जस्तो लाग्थ्यो । जब चराचुरुङ्गीहरु चिरबिर–चिरबिर गर्थे, तब मीठो धून गुन्जिए झैं हुन्थ्यो । त्यो हावाले आफ्नो गीतमा बाजाको ताल मिलाए झैं भान हुन्थ्यो उनलाई । त्यसपछि हो, उनले गाउन र लेख्न थालेको । अमिर बस्दै आएको मकवानपुरको खानीगाउबाट उनका भाई स्कुल जान्थे । चाहेर पनि उनी भने जानै सक्दैनथे । घरमा भाईको कलम मुखमा राखेर लेख्न धेरै कोशिष गरे । तर त्यसो गर्दा दाँत दुखेर हैरान हुन्थ्यो । तैपनि उनले निरन्तर मुखमा कलम राखेर लेखिरहे, लेखिरहे ।

 

अमिरकी आमा दिलमायाले उनको स्कुल जाने रहर पूरा गरिदिईन् । बोकेर श्री झम्केश्वरी माविसम्म पुर्‍याउँनु, बोकेर फेरी घर सम्मै ल्याउनु उनको दैनिकी बन्न थाल्यो । एउटा बोर्डिङमा पढाउने शिक्षिका अनिता बलले उनलाई सिकाउने, गृहकार्य दिने गर्थिन् । उनले झम्केश्वरीबाट कक्षा पाँच उत्र्तिण गरे ।

 
गत बैशाख १२ गते, २०७२ सालमा गएको भूइँचालोपछि अमिरको जीवन फेरियो । भूइँचालोमा परेका वालवालिकाहरु खोज्दै जाँदा करुणा फाउण्डेसनका सुदिप काफ्लेले खानीगाउँमा उनलाई भेटे । त्यो बेला बस्ने घर चर्किएपछि उनी टहरामा बस्थे । चार महिना टहरामा दिन गुजारेका उनलाई पछि करुणा फाउण्डेशसनले काठमाडौं ल्याएर पढाउन थाल्यो । बिगत ६ महिनादेखी उनी बालुवाटारको स्कुलमा कक्षा ६ मा पढिरहेका छन् ।

 

गत हप्ता स्कुलको हाताभित्र भेटिदा उनी ट्रलिमा पल्टिएर आफैले बनाएको हिमालको पेन्टिङ नियालिरहेका थिए । ‘गर्दै गएपछि जे पनि सिकिन्छ । बानी न हो ।’ मुस्कुराउँदै उनले भने, ‘म जे मन लाग्छ त्यही लेख्छु, बनाउँछु । गीत, कविता, जीवनि, पेन्टिङ ।’ कहिलेकाही उनलाई म किन जन्मिए हुँला ? किन अरुलाई दु:ख दिदैछु भन्ने पनि लाग्छ ।

 
काठमाडौंले अमिरलाई धेरै कुरा दियो । उनले राम्रो स्कुलमा पढ्न लेख्न पाए । चित्रकार किरन मानन्धरसंग पेन्टिङ र संगीतकार न्हु बज्राचार्यसंग गीत, संगीतबारे केही सिक्ने अबसर पाए । उनको रहर पूरा गरिदिने करुणा फाउन्डेसनलाई उनले मनैदेखी धन्यबाद दिए । उज्यालो मुहार बनाउँदै उनले भने, ‘नत्र तपाई हाम्रो यसरी कहाँ भेट हुन्थ्यो र ?’ उता खानीगाउँमा संस्थाको सहयोगमा भूइँचालोले भत्किएको उनको घर बन्दैछ । सामान्य कृषक उनका बुबा दिनेशसंग भाई दिपेश र बहिनी दिपिका बस्छन् ।

 
अमिर कालिमाटीको होस्टेलमा बस्छन् । बिहान गाडीसम्म पुर्‍याउँन, दिउसो रेखदेख गर्न, स्कुल बिदा भएपछि फेरी घर सम्म पुर्‍याउँने जिम्मा उनकै आमाले लिएकी छिन् । हरेक दिन बोकिरहन उनकी आमालाई गार्‍हो त हुन्छ । तर झण्झट भने मान्दिनन् । कुनैबेला भने उनकि मावलकि हजुरआमा स्याहार्न आईपुग्छिन् । पढाई बाहेकको समयमा उनी ल्यापटप चलाउछन् । मुखले माउस चलाउनु, मुखमा पेन्सिल राखेर किबोर्डमा टाइप गर्नु, मुखकै सहाराले मोबाइलमा गीत सुन्नु, भिडियो हेर्नु, फेसबुक चलाउनु उनका लागी अब सामान्य नै भईसक्यो । ‘ममिबिना मेरो जीन्दगी नै चल्दैन ।’ अलि भाबुक हुँदै उनी बोले, ‘जसरी रिमोट बिना टिभी चलाउन गार्‍हो हुन्छ ।

 

आमाबिना मलाई त्यति नै गार्‍हो हुन्छ ।’ जतिखेरै आमाको मायाको महशुष हुनाले उनले आफ्नो गिती एल्बमको नाम पनि आमा नै राखेका छन् । अमिरले भविष्यमा राम्रो गायक र चित्रकार बन्ने सोच राखेका छन् । सबैले आफ्नो कलालाई माया गरिदिउन् भन्ने चाहन्छन् ।‘आफू सुखी हुने र परिवार पाल्ने अमिरको सपना पूरा होस् ।’ उनलाई उद्धार गर्ने करुणा फाउण्डेसनका दिपकराज सापकोटा भन्छन्, ‘हामी उनलाई मद्दत गर्नेछौं ।’

 

Be the first to comment on "अमिर बम्जनको आकाश"

Leave a comment

Your email address will not be published.


*